भर्खरै : Sorry, your browser does not support inline SVG.
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत | नक्कली प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा | भारतीय कुखुरा र चल्लाको अवैध तस्करी रोक्न किसानको प्रदर्शन, माइतीघरमा उठ्यो कडा माग | बडीमालिकामा पूजा अर्चनाका लागि सरकारी टोली प्रस्थान, ४ हजार २०० मिटर उचाइमा फोरजी विस्तार | ‘बलात्कारीलाई फाँसी देऊ’ भन्दै सडकदेखि संसद्सम्म चर्कियो आवाज | पाइलैपिच्छे होस्टेल, मनलाग्दी सञ्चालनले जोखिममा विद्यार्थी | प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन हर्क साम्पाङको माग | अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ |

म्याग्दी । सदरमुकाम बेनी बजारमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि आयोजना निर्माण शुरु भएको छ ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत बेनीस्थित जिल्ला प्रशासन कार्यालय पछाडि रहेको दरवाङ बसपार्क क्षेत्र भएर बग्ने म्याग्दी नदी किनारमा बाढी र कटान रोकथामका लागि पक्की पर्खाल निर्माण थालिएको हो ।

हिउँद शुरु भएर नदीमा पानीको सतह घटेपछि निर्माण व्यवसायीले काम थालेको आयोजनाका इन्जिनियर नरजङ गुरुङले जानकारी दिए । ‘ठेकेदारले पहिलो चरणमा खोलालाई डाइभर्सन गराउन थालेका छन्’, उनले भने, ‘खोला डाइभर्सनको काम सकेपछि नदी किनारमा पक्की पर्खाल निर्माणको काम शुरु हुुन्छ ।’

म्याग्दी नदी किनारमा १६५ मिटर लामो ‘कम्पोजिट’ पर्खाल निर्माणका लागि रु पाँच करोड ९७ लाख ५० हजार ६२४ कुल लागत अनुमान गरिएकामा २०८२ साल वैशाख १० गते चार करोड २१ लाख ५९ हजार ६९९ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौताको म्याद आगामी २०८३ असार २० गतेसम्म छ । भुइँमा चार मिटर चौडाइ भएको तीन मिटर अग्लो कङ्क्रिट र त्यसमाथि ग्यावियन पर्खाल निर्माण गरिने भएको छ । बेनी बजार संरक्षण कार्यक्रममार्फत सङ्घीय सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले एक दशकयता म्याग्दी र कालीगण्डकी नदी कटानको जोखिम रहेको बेनी वरपरको क्षेत्रमा नदी नियन्त्रणका आयोजना सञ्चालन गरेको छ ।

आयोजनामार्फत यसअघि बेनीको मङ्गलाघाट, न्यूरोड, कालीपुुल क्षेत्रको कालीण्डकी र म्याग्दी नदी किनारमा करिब दुई किलोमिटर पक्की पर्खाल निर्माण भएको छ। यो वर्ष बेनीसहित म्याग्दी र कालीगण्डकी नदी कटानका कारण जोखिममा रहेका म्याग्दी, पर्वत र मुस्ताङमा छवटा नदी नियन्त्रण तथा बस्ती संरक्षण योजना शुरु भएका आयोजना कार्यालयका प्रमुख बिदुरमान श्रेष्ठले बताए ।ती योजनाको ठेक्का सम्झौता भई निर्माणका लागि निर्माण व्यवसायी कार्यस्थलमा परिचालन भइसकेका छन्। ती आयोजनाको कुल लागत अनुमान २० करोड २९ लाख ७६ हजार ८३९ रुपैयाँ रहेको छ ।

बेनी नगरपालिका- ४ सिङ्गा तातोपानीमा १०२, रघुगङ्गा गाउँपालिका-३ स्थित गायत्री मन्दिर संरक्षणका ५३ मिटर र पर्वतको जलजला गाउँपालिका-३ बौरस्थित कालीगण्डकी नदी किनारमा ८० मिटर, कुश्मा नगरपालिका–४ स्थित अर्मादी र जलजला गाउँपालिकाको केन्द्र लामाखेतस्थित कालीगण्डकी नदीमा एक सय २९ मिटर लामो पर्खाल निर्माण गर्न लागिएको हो । मुस्ताङको थासाङ, घरपझोङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका विभिन्न बस्तीमा पनि नदी नियन्त्रणका लागि संरचना निर्माण गरिने आयोजना कार्यालयले जनाएको छ ।

नदी कटानका कारण उच्च जोखिममा परेका बजार तथा बस्ती संरक्षणका लागि योजना माग भएअनुसार कार्यालयबाट ती आयोजना छनोट गरी कार्यान्वयनमा लगिएको कार्यालयका प्रमुख श्रेष्ठले बताए । रासस