मुख्य बुँदा
सरकारी जागिर छाडेर कृषिमा लागे
बाख्रापालनबाट वार्षिक पाँच लाखसम्म आम्दानी
६० भन्दा बढी बाख्रा, व्यवसाय विस्तार
सुन्तला र तरकारी खेतीसमेत गर्दै
म्याग्दी, २२ बैशाख । म्याग्दीको धौलागिरि गाउँपालिका–७ बगरका भुवानी पौडेलले सरकारी कार्यालयको जागिर छाडेर बाख्रापालन गरी स्वरोजगार र आत्मनिर्भर बनेका छन् । दश वर्षसम्म बेनीमा रहेको कृषि विकास कार्यालयमा सहयोगी कर्मचारीको रुपमा करारमा काम गरेका पौडेलले स्थापना गरेको बगर कृषि तथा पशुु बहुुउद्देश्यीय फार्मबाट सफलता हात पारेका हुन्।
“पाँच वर्षजति खाडीमुुलुुकमा वैदेशिक रोजगारी गरेर फर्केपछि विसं २०६६ देखि ११ वर्षसम्म बेनीको कृषि विकास कार्यालयमा सहयोगीको रुपमा काम गरेको थिए”, उनले भने, “सङ्घीयतापछि जागिर छाडेर बाख्रा पाल्ने सोच पलायो । नौ वटाबाट सुरु गरेको फार्ममा अहिले ६० भन्दा बढी बाख्रा छन् ।”
वार्षिक ३५ देखि ४० वटासम्म खसीबोका बिक्री गरेर रु पाँच लाखसम्म आम्दानी गर्ने पौडेलले तीन जना छोराछोरीलाई सदरमुकाम बेनीमा राखेर पढाउनुका साथै घरव्यवहार चलाउन सजिलो भएको बताए । खसीबोका बाहेक पाठापाठी पनि बिक्री हुुने गरेको छ ।
ग्राहकहरु पाठापाठी र खसीबोका खोज्दै घरमै आउने गरेकाले बजारको समस्या छैन । पौडेलले बाख्रापालनसँगै ब्यवसायिक रुपमा सुन्तला र तरकारीखेती पनि गरेका छन् । एक सय बोटमध्ये ४० बोट सुन्तलाले उत्पादन दिन थालेका छन् । थप एक सय सुन्तलाका बिरुवा रोपेर खेती विस्तार गरेका छन् ।
वैदेशिक रोजगार र करारको जागिरको तुलनामा खेती किसानी र बाख्रापालनबाट सन्तुष्टि मिलेको पौडेलले अनुभव सुनाए । व्यवस्थित किसिमको खोर बनाएर जमुुनापारी जातको बाख्रा पाल्नुभएका पौडेलले उन्नत बोयर जातको एक वटा बोका सहयोग पाएका छन् ।
फार्मको पूर्वाधार विस्तारमा पौडेलले सरकारी निकायबाट सहयोगको अपेक्षा गरे। घरवरपरको पाखामा चरनमा आधारित बाख्रापालन गर्नुभएका पौडेलले बहुवर्षीय डालेघाँस खेती पनि गरेका छन् ।
बाख्राको सुरक्षाका लागि ठूला जीउडाल भएका एक वटा भोटे जातको सहित दुई वटा कुकुर पालेका छन् । रातको समयमा खोर वरपर रुघेर बस्ने कुुकुर जङ्गलमा बाख्रा चराउन लैजाँदा अघिपछि गरेर सुरक्षा दिने गर्छ ।
जङ्गली जनावरको सङ्केत पाएमा भुकेर जानकारी दिने कुकुरले भिडेर बाख्रालाई आक्रमणबाट बचाउन सहयोग गरेको कृषक पौडेलले बताए । भुवानीलाई बाख्रापालनमा श्रीमती भगवतीले पनि सघाउँदै आएकी छिन् । रासस
दुई बाख्राबाट सुरु गरेको फार्मबाट वार्षिक लाखौँ आम्दानी
फार्ममा हाल ४८ वटा बाख्रा, वार्षिक १५–२० बिक्री
बोयर जातको बोका प्रयोग गरी नश्ल सुधार
खोर निर्माणका लागि पाँच लाख अनुदान सहयोग
बिक्रीबाट १० लाख ऋण तिरेर आत्मनिर्भर बने किसान
म्याग्दी, १५ बैशाख । मङ्गला गाउँपालिका–२ हिदीका कुलबहादुर पुनले चार वर्षअघि दुई वटा बाख्राबाट सुरु गरेको फार्मबाट वार्षिक लाखौँ आम्दानी गर्न थालेका छन्।
पचास वर्षीय पुनले वैदेशिक रोजगारी, परम्परागत खेतीकिसानीको विकल्पमा गाउँमै व्यवस्थित बाख्रा फार्म सञ्चालन गरेर स्वरोजगार र आत्मनिर्भर बनेका हुन् । “घरमै भएका दुई वटा माउ बाख्राबाट सुरु गरेको फार्ममा अहिले पाठापाठी, खसिबोका र माउबाख्राको सङ्ख्या ४८ वटा पुगेको छ”, उनले भने, “वार्षिक १५ देखि २० वटाको हाराहारीमा बिक्री हुन्छ ।”
बाख्रापालन सुरु गरेपछि घरव्यवहार चलाउन र छोराछोरीको पठनपाठनमा सहज भएको पुनले बताए । सामाजिक काममा पनि आबद्ध पुन बाख्रापालन सुरु गर्नुअघि परम्परागत खेतीकिसानी र पशुपालन गरेर जीविकोपार्जन गर्दै आएका थिए । उनलाई बाख्रापालनमा श्रीमतीले पनि सघाइरहेकी छिन्।
अठार महिनादेखि दुई वर्षको खसीलाई तौलअनुसार १५ देखि २० हजार मूल्य पार्न सकिने पुनले बताए । बाबियाचौर, तातोपानी र बेनी बजारमा मासुका लागि खसीबोका बिक्री हुन्छ । धार्मिकस्थल मालिकामा बलि चढाउनका लागि पनि बोका, पाठा लैजाने गर्छन् । खसीबोकाकै हाराहारीमा पाल्ने किसानहरु पनि पाठापाठी किन्न आउँछन् ।
पुनले विसं २०७८ मा हिदी बाख्रापालन फार्म स्थापना गरेर व्यवसाय सुरु गरेका थिए। स्थानीय जमुनापारी जातको बाख्राको नश्ल सुधार गरेर पाठापाठी उत्पादन गर्न उन्नत बोयर जातको बोका पालेका छन् । बोयर बोकाबाट नश्ल सुधार गरेका पाठापाठी छिटो बढ्ने, तौल धेरै हुने भएकाले आम्दानी वृद्धिका लागि सहज भएको पुनको अनुभव छ ।
उक्त फार्ममा बाख्राको ब्यवस्थित खोर निर्माणका लागि भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले रु पाँच लाख अनुदान सहयोग गरेको थियो । मङ्गला गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा उन्नत बोयर जातको एक वटा बोका उपलब्ध गराएको छ । फार्म स्थापनाका क्रममा लागेको रु १० लाख ऋण पनि खसीबोका र पाठापाठी बेचेर तिरिसकेको पुनले बताए ।
बाख्राको खोरभित्र फरक–फरक उमेर समूहका बाख्रा, बोका, खसी र पाठापाठी राख्ने छुट्टाछुट्टै कोठाहरु छन् । बधुवा प्रणालीबाट बाख्रापालन गरेका पुनले आहराका लागि बहुवर्षीय डालेघाँस खेती गरेका छन् । घाँसखेती विस्तार र बाख्रापालनलाई थप व्यवस्थित गरेर निरन्तरता दिने पुनले बताए । रासस
म्याग्दी, ८ बैशाख । जिल्लाको धौलागिरि गाउँपालिका–२ लमसुङका कृष्ण गौचन रु ५२ हजार लगानीबाट सुरुआत गरेको बाख्रापालन व्यवसायबाट वार्षिक लाखौँ आम्दानी गर्न सफल भएका छन् ।
विसं २०७४ मा ६० वर्षीय गौचनले घुम्तीकोषको सहुलियत ब्याजदरको ऋण रु ३८ हजार १५० र रु १५ हजार बीउपुजीबाट सुरु गरेको लोकेश कृषि तथा बाख्रा फार्मबाट स्वरोजगार र आत्मनिर्भर बनेका हुन् ।
“ घुम्तीकोषको ऋण र बीउपुँजीबाट तीन माउ बाख्रा किनेर घरमा भएका दुई वटा बाख्रामा थपेर पाँच वटा बनाएको थिए तर दुई वटा मरे”, उनले भने, “जमुनापारी जातको बाख्राको नश्ल सुुधारका लागि भेटेरीनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्रबाट बोयर जातको बोका पाएपछि मेरो गोठमा बाख्राको सङ्ख्या बढेर १२० सम्म पुग्यो ।”
हाल ७० खसीबोका, पाठापाठी र माउबाख्रा छन् । उक्त फार्मबाट वार्षिक १५ भन्दा बढी खसीबोका र उत्तिकै सङ्ख्यामा पाठापाठी बिक्री हुुन्छ । मासुका लागि खसीबोका मासु र पाल्नलाई पाठापाठी किन्न ग्राहकहरु गोठमै आउँछन् । पाठापाठी र खसीबोकाको उमेर तथा तौलको आधारमा फरक–फरक मूल्यमा बिक्री हुने गरेको छ । घुम्तीगोठमा परम्परागत भैँसीपालन व्यवसाय छाडेर गौचनले बाख्रापालन सुरु गरेका थिए ।
बाख्रापालनबाट भएको आम्दानीले घरव्यवहार चलाउन सहज भएको गौचनले बताए । उनलाई व्यवसाय सञ्चालनका लागि श्रीमती र छोरीले साथ दिँदै आएका छन् । बाख्रापालनबाट भएको आम्दानीले कान्छा छोरा लिलेन्द्र गौचनलाई पढ्नका लागि अष्टेलिया पठाएका छन् । वैदेशिक रोजगारीका लागि केही वर्ष पोर्चुगलमा काम गरेका जेठा छोरा सुरेन्द्र जन्मथलो फर्किएर बुबा कृष्णलाई बाख्रापालनमा साथ दिएका छन् ।
वैदेशिक रोजगारीमा सेचोजस्तो सफलता नमिलेपछि घर फर्किएर बुबालाई बाख्रापालनमा साथ दिएको सुरेन्द्रले बताए । “विदेशमा गर्ने मेहनत र बगाउने श्रम पसिनाबाट आफ्नै देशभित्र पनि केही गर्न सकिने रहेछ भन्ने बुबाको व्यवसायबाट सिकेर साथ दिएको छ”, उनले भने, “विदेशको अनुभव पनि गरियो । अबै यतै व्यवस्थित रुपमा बाख्रापालन गर्ने सोचाइमा छु ।”
बाख्रापालनका लागि गौचनले लमसुङ र मरेनी दुई ठाउँमा गोठ बनाएका छन् । चरनका लागि दुई–दुई महिनामा लमसुङ र मरेनीमा गोठ सार्ने गर्दै आएका छन् । खोर निर्माणका लागि पछिल्लोपटक भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले रु एक लाख ५० हजार सहयोग गरेको गौचनले बताए । रासस
बागलुङ, ९ साउन। बागलुङ नगरपालिका–५ मालिकामा पर्ने साँधखोला गाउँको नजिक प्रसस्तै जङ्गल छ । यसक्षेत्रमा परापूर्वकालदेखि पशुपालन हुँदै आएको थियो । अघिल्ला पुस्ताले गुजारा चलाउन पशुपालन गर्दै आएका थिए भने हाल आमाहरुले पशुपालनलाई आम्दानीको स्रोत बनाएका छन् ।
उनीहरुले बाख्रापालनबाटै घर खर्च र बालबच्चा पढाउने खर्च जुटाउन थालेका हुन् । बागलुङ नगरपालिका, हेफर इन्टरनेसनल र गाजा डेभलपमेण्ट फाउण्डेसन नामक संस्थाले यहाँका आमाहरुलाई बाख्रापालनसम्बन्धी सीप र बीउ पुँजी उपलब्ध गराएको छ । वडा कार्यालयले त्यसको परिचालन र आवश्यक आहारमा सहयोग गरेको छ ।
साँधखोलास्थित प्रगतिशील महिला समूहमा आबद्ध २६ जना आमाहरुको गोठमा अहिले बाख्राका पाठाहरु हुर्किरहेका छन् । “हामीले बाख्रा त धेरै पहिलेबाट पाल्दै आएका हौँ, अहिले तालिम पाएपछि व्यवस्थित बाख्रापालन सुरु गरेका छौँ”, समूहकी अध्यक्ष कोपिला किसानले भनिन्, “बाख्राबाट आम्दानी गर्ने भनेर हामी मिलेर लागेका छौँ ।”
अघिल्लो वर्ष उपलब्ध गराएको बाख्राले आम्दानी दिन थालेपछि यस वर्ष बाख्राका पाठा उपलब्ध गराइएको उनले बताइन् । बाख्रापालनमा आबद्ध समूहका आमाहरुले उपयुक्त घाँसको प्रबन्ध गर्न नजिकैको सामुदायिक वनमा घाँसखेती गर्न थालेका छन् ।
साँधखोला नजिकैको ७० रोपनी सामुदायिक वन क्षेत्रमा झाडी फाँडेर घाँसखेती सुरुआत गरिएको वडा अध्यक्ष हरिप्रसाद शर्माले बताए। “चिसो र मलिलो ठाउँ भएकाले हिउँद बर्खा घाँसको खाँचो नहोस् भनेर उन्नत घाँसका बिरुवा लगाइएको छ”, उनले भनिन्, “७० रोपनी क्षेत्रफल २७ जनालाई भाग लगाएर आफ्नो भागमा घाँसको विकास गर्न भनेका छौँ ।”
ऐँसेलु फल्ने पाखोमा अब घाँस रोप्ने अभियान थालिएको समूहकी सदस्य बाटुली किसानले बताइन् । उनले वनमारा मासेर घाँसका बिरुवा हुर्किंदा हरेक गोठमा बाह्रै महिना घाँस पुग्ने बताइन् । आँठो छुटाएर पाखामा बिरुवा लगाउने काम भएकाले आफ्नै बारीको जस्तै घाँसको सुरक्षा गरिने उनले बताइन् ।
बाख्रा र खोरमा सहयोग गरेको कार्यक्रमले घाँस लगाउन पनि सिकाएपछि महिलाहरु प्रफुल्लित छन् । समूहले किम्बु, सुपर नेपियर, खन्युलगायतका घाँसका बिरुवा रोपेका छन् । रासस