भर्खरै : Sorry, your browser does not support inline SVG.
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत | नक्कली प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा | भारतीय कुखुरा र चल्लाको अवैध तस्करी रोक्न किसानको प्रदर्शन, माइतीघरमा उठ्यो कडा माग | बडीमालिकामा पूजा अर्चनाका लागि सरकारी टोली प्रस्थान, ४ हजार २०० मिटर उचाइमा फोरजी विस्तार | ‘बलात्कारीलाई फाँसी देऊ’ भन्दै सडकदेखि संसद्सम्म चर्कियो आवाज | पाइलैपिच्छे होस्टेल, मनलाग्दी सञ्चालनले जोखिममा विद्यार्थी | प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन हर्क साम्पाङको माग | अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ |

काठमाण्डौ, २८ साउन ।  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन । हिजो बसेको प्रदेशसभा बैठकमा प्रस्तुत विश्वासको मतसम्बन्धी प्रस्तावमा कुल ९२ जना सदस्य उपस्थित थिए।

सभामुख भुवनकुमार पाठकका अनुसार, मतदानमा ६३ जना सदस्यले पक्षमा, २२ जनाले विपक्षमा र ७ जनाले तटस्थ रूपमा मत व्यक्त गरे। यो प्रस्ताव नेपालको संविधानको धारा १६८ को उपधारा ४ र प्रदेशसभा नियमावली २०७४ को नियम १४३(१) अनुसार बहुमतले पारित भएको हो।

नेपाली कांग्रेस र एमालेका ६४ जना सदस्यको समर्थनमा कांग्रेस बागमती प्रदेशका सभापति बानियाँ यस वर्ष साउन २० गते मुख्यमन्त्री नियुक्त भएका थिए।

नियुक्त भएको एक हप्तापछि उहाँले विश्वासको मत लिएका हुन्। बागमती प्रदेशसभाको अर्को बैठक आज बिहान ११ बजे बस्ने कार्यक्रम रहेको छ।

काठमाण्डौ, २४ साउन । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज कोशी र बागमती प्रदेशका एक-दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना जनाएको छ। अहिले काठमाण्डौ उपत्यकासहित देशका केही स्थानमा हल्का पानी परिरहेको छ।

गएराति पूर्वी र मध्य क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको थियो। महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका केही ठाउँमा तथा बाँकी भागका थोरै ठाउँमा मध्यम वर्षा हुने सम्भावना छ।

आज राति मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भागका केही ठाउँमा वर्षा हुने र कोशी र बागमतीको पहाडी भाग तथा मधेश प्रदेशको एक-दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ।

हेटौंडा, १८ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आइतबार पदबाट राजीनामा दिने भएका छन् । १४ साउनमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि आज हेटौंडा पुगेर राजीनामा दिने तयारी भएको हो ।

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाको रोहवरमा बानियाँ र लामाबीच संयुक्त छलफल भएको थियो । सो छलफलमा सहभागी संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले सभापतिको उपस्थितिमा सहमति भएपछि लामा राजीनामा दिन तयार भएको जानकारी दिए । उनका अनुसार, “मुख्यमन्त्री लामाले दुई सर्तमा राजीनामा दिने सहमति जनाउनुभयो । पहिलो, उहाँले १४ साउनमा नियुक्त गर्नुभएका तीन मन्त्रीलाई सपथ गराउनु पर्ने र दोस्रो, सरकार लामापक्षको सहमतिमा सञ्चालन हुनुपर्ने ।”

मुख्यमन्त्री लामाले प्रमुख सचेतक रहँदाको समयमा गोविन्द लम्साल,  माया श्रेष्ठ र गीता गुरूङलाई मन्त्री नियुक्त गरेका थिए । उनीहरूलाई गत बुधबार नै सपथ गराउने तयारी भए पनि सत्ता साझेदार नेकपा एमालेको असहमतिको कारण सो प्रक्रिया रोकिएको थियो । बिहीबारका लागि पुनः तय गरिएको सपथसमेत प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा आकस्मिक बिरामी परेर काठमाडौं जानुले सम्भव हुन सकेन ।

चित्रकारले बताएअनुसार, “प्रदेश प्रमुख हेटौंडा फर्किएपछि राजीनामा सिधै बुझाइनेछ,  नत्र मुख्यमन्त्री कार्यालयमा पत्र दर्ता गरिनेछ ।”  लामाले राजीनामा दिएसँगै नेपाली कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नयाँ मुख्यमन्त्री बन्नेछन् । एक वर्षअघि एमाले–कांग्रेसबीच भएको सहमतिअनुसार नेतृत्व फेर्ने पालोअनुसार अब कांग्रेसको पालो सुरु हुँदैछ ।

बानियाँले अब आठ महिना सरकारको नेतृत्व गर्नेछन् । त्यसपछि आगामी फागुनमा एमालेलाई सत्ता हस्तान्तरण गरिने एमालेले स्पष्ट गरिसकेको छ ।

काठमाडौँ, १६ साउन । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नवनिर्वाचित नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका छन्।

बिहीबार बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै बानियाँले मुख्यमन्त्री लामाले अब पदबाट हट्नुपर्ने स्पष्ट धारणा राखे। “उहाँले संसदीय दलको नेताबाट विश्वास गुमाइसक्नु भएकाले नैतिकताका आधारमा मार्गप्रशस्त गर्नुपर्छ,” बानियाँले भने।

बुधबार सम्पन्न निर्वाचनमा बानियाँले मुख्यमन्त्री लामालाई पराजित गर्दै कांग्रेस संसदीय दलको नेता निर्वाचित भएका थिए। कुल ३७ जना सांसदमध्ये बानियाँले २२ मत प्राप्त गर्दा लामाले १४ मतमा सीमित भएका थिए।

यता, मुख्यमन्त्री लामाले भने संविधानको धारा १६८(२) अनुसार आफू मुख्यमन्त्री नियुक्त भएको भन्दै पद नछोड्ने अडान लिएका छन्। उनले दलको नेता नभए पनि संविधानतः दुई वर्षभित्र विश्वासको मतविरुद्ध प्रस्ताव ल्याउन नपाइने व्यवस्था रहेको दाबी गरेका छन्।

यद्यपि, नेता बानियाँले भने लोकतान्त्रिक अभ्यासअनुसार मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने तर्क प्रस्तुत गरेका छन्। “अब म काँग्रेसको आधिकारिक नेता भएकाले दलको निर्णयअनुसार अगाडि बढ्नेछु,” बानियाँले भने। “यदि उहाँले पद नछोडे, बिदाइ गर्न बाध्य हुनेछौँ।”संसदीय दलमा नेतृत्व परिवर्तनसँगै बागमती प्रदेशको सत्ता समीकरणमा अन्योलता देखिएको छ।

हेटौंडा, १३ साउन । बागमती प्रदेशमा जारी राजनीतिक संकट नयाँ मोडमा पुगेको छ । कांग्रेसका सांसद माया श्रेष्ठ र मिना पराजुलीले मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावबाट आफ्नो हस्ताक्षर फिर्ता लिएको घोषणा गरेका छन् ।

संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले आफूहरूलाई जानकारी नदिई प्रस्तावमा हस्ताक्षर गराइएको भन्दै असहमति जनाएका छन् । विज्ञप्तिमा उल्लेख छ, “हामीलाई जानकारी नदिई अविश्वास प्रस्तावमा हस्ताक्षर गरिएको हुँदा उक्त प्रस्तावबाट फिर्ता लिन्छौं र संसदीय दलका नेता बहादुर सिंह लामालाई समर्थन गर्दछौं ।”

११ साउनमा मिति उल्लेख गरिए पनि विज्ञप्ति मंगलबार सार्वजनिक भएको हो । ९ साउनमा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँसहित २१ जना सांसदले लामाविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । तर अब दुई सांसदको फिर्ता पछि बानियाँ पक्षको संख्या घटेर १९ पुगेको छ भने लामाको पक्षमा १८ सांसद पुगेका छन् ।

संसदीय दलमा कुल ३७ जना सांसद छन् । दलको नेता हुन १९ जनाको समर्थन आवश्यक पर्ने भएकाले अब बहुमतको टुंगो मत विभाजनबाट हुने सम्भावना देखिएको छ ।

हेटौंडा, १३ साउन । बागमती प्रदेशमा नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद निर्णायक चरणमा पुगेको छ । मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव आज मंगलबार संसदीय दलको बैठकमार्फत टुंग्याउने तयारी भइरहेकाे छ । गत शुक्रबार कांग्रेस संसदीय दलका २१ जना सांसदले लामालाई दलको नेताबाट हटाउन माग गर्दै अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

बागमती प्रदेशसभामा कांग्रेसका ३७ जना सांसद छन् । दलको नेताबाट हटाउन १९ मतको आवश्यकता पर्छ, जुन संख्या प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरूले पूरा गरिसकेका छन् । इन्द्रबहादुर बानियाँको नेतृत्वमा दर्ता गरिएको प्रस्तावले लामालाई राजनीतिक संकटमा पारेको छ । अविश्वास प्रस्तावको प्रस्तावनाअनुसार मुख्यमन्त्री लामाको नेतृत्वमा प्रदेश सरकार जनअपेक्षा अनुसार काम गर्न नसकेको, कांग्रेसको जनतामाझ छवि कमजोर बनाएको र आन्तरिक समन्वय अभाव देखिएको उल्लेख गरिएको छ । सरकारका कामकारबाहीप्रति जनआक्रोश बढ्दै गएकाले नेतृत्व परिवर्तन अपरिहार्य भएको तर्क गरिएको छ ।

प्रस्ताव दर्ता हुनुअघि कांग्रेसबाट सरकारमा सहभागी भएका चार मन्त्री- सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन, विमल ठकुरी र मदुकुमार श्रेष्ठले राजीनामा दिएका थिए । लामाले उनीहरूलाई पदमुक्त गर्दै सोही साँझ प्रदेश प्रमुखलाई जानकारी गराएका थिए । सोमबार दिनभर छलफल चल्दा पनि सहमति जुट्न नसकेपछि मंगलबार बिहान १० बजे पुनः बैठक बस्ने सहमति भएको हो ।

कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि राजन केसी, सांसद इन्द्रबहादुर बानियाँ र अन्य नेताहरूबीच सहमतिमा प्रस्ताव टुंग्याउने प्रयास भइरहेको छ । नेताहरूले लामाले स्वेच्छिक राजीनामा दिन सक्ने आशा गरेका छन्, तर यदि सहमति भएन भने मत विभाजनमार्फत प्रस्ताव टुंगोमा पुग्ने निश्चितजस्तै देखिन्छ । मुख्यमन्त्री लामाको पक्षले भने आर्थिक मामिलाका मन्त्री कुन्दनराज काफ्ले दक्षिण कोरियाबाट फर्किन बाँकी रहेको,  प्रक्रियागत तयारी अपूरा भएको जस्ता कारण देखाउँदै छलफललाई केही ढिला गर्न खोजेको थियो । तर बानियाँ पक्ष सहमतिको निर्णय तुरुन्तै लिनुपर्ने अडानमा उभिएको छ ।

प्रदेशसभामा लामासँग हाल कति सांसदको समर्थन बाँकी छ भन्ने विषय अझै खुलिसकेको छैन । यदि उनले १९ वा बढी सांसदको समर्थन देखाउन सके भने उनी फेरि संसदीय दलको नेता कायम रहनेछन्, अन्यथा उनलाई हटाएर नयाँ नेता चयन गर्ने मार्ग खुल्नेछ । यो प्रस्तावका पछाडि गहिरो राजनीतिक प्रतिस्पर्धा पनि देखिएको छ । बानियाँ र लामा बीच २०७९ पुसमा भएको संसदीय दलको निर्वाचनमा पनि तीव्र प्रतिस्पर्धा भएको थियो । उक्त निर्वाचनमा लामा २१ मत ल्याएर विजयी भएका थिए भने बानियाँ १६ मतमा सीमित भएका थिए । पहिलो कार्यकालभर बानियाँ दलको नेता भए पनि मुख्यमन्त्री बन्न सकेका थिएनन् । अहिले फेरि उनी नेतृत्वमा फर्कन चाहिरहेका छन् ।

स्रोतका अनुसार, प्रस्ताव टुंग्याएपछि कांग्रेस गठबन्धनभित्रको सन्तुलन मिलाउँदै सरकारको पुनः गठनको प्रक्रिया अघि बढ्न सक्नेछ ।

मुख्य बुँदा

गौतमबुद्ध रङ्गशालाको काममा ढिलाइ, १० करोडभन्दा बढी रकम सरकारले फिर्ता लियो।

निर्माण कम्पनीको न्यून प्रगति, भरतपुर क्रिकेट रङ्गशालाको बजेट फ्रिज र फिर्ता।

संघ र प्रदेश सरकारबाट निकासा भएको करोडौं खर्च नहुँदा रकम पुनः सरकारी खातामा फिर्ता।

४० प्रतिशत प्रगति लक्ष्यमध्ये मात्र २.४९ प्रतिशत काम, निर्माण कम्पनीको लापरबाही उजागर।

चितवन, १२ साउन । भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि सङ्घीय र प्रदेश सरकारले विनियोजन गरेको रकममध्ये १० करोड रुपैयाँभन्दा बढी फिर्ता भएको छ ।

भरतपुर महानगरपालिकाको समन्वयमा निकासा भएको रकम काम हुन नसकेपछि पुनः सङ्घ र प्रदेशमै फिर्ता गरिएको हो । निर्माण व्यवसायीले गएको आर्थिक वर्षभित्रमा गर्नुपर्ने काम पूरा नगरेपछि १० करोड ५४ लाख ३० हजार एक सय ७० रुपैयाँ फिर्ता भएको हो ।

महानगरपालिकाका डिभिजनल इञ्जिनियर सन्तोष आचार्यका अनुसार सङ्घीय सरकारले २५ करोड रुपैयाँ निकासा गरेकामा १७ करोड ६५ लाख ६९ हजार आठ सय ३० रुपैयाँ मात्रै खर्च भएको छ । बाँकी सात करोड ३४ लाख ३० हजार एक सय ७० रुपैयाँ फिर्ता भएको हो ।

यस्तै बागमती प्रदेश सरकारबाट निकासा भएको १० करोडमध्ये छ करोड ८० लाख रुपैयाँ मात्रै खर्च भएको छ । यसमा तीन करोड २० लाख फिर्ता भएको हो । रङ्गशाला निर्माणका लागि बागमती प्रदेश सरकारको ७० प्रतिशत र ३० प्रतिशत भरतपुर महानगरपालिकाले बेहोर्ने सम्झौता छ ।

सङ्घीय सरकारले महानगरपालिकाको तर्फबाट गरिने खर्चमा रकम दिएको थियो । महानगरले रङ्गशालाका लागि पाँच करोड रुपौयँ विनियोजन गरेको थियो । यो रकमसमेत फ्रिज भएको छ । निर्माण कम्पनीले असार मसान्तसम्म ४० प्रतिशत प्रगति गर्नुपर्नेमा आर्थिक प्रगति २ दशमलव ४९ प्रतिशत मात्रै भएको आचार्यले जानकारी दिनुभयो ।

हिमालयन–कालिञ्चोक–बिबिआर ज्वाइन्टभेञ्चरले २०८१ सालको असार २३ गते ७८ करोड ५० लाख ९१ हजार रुपैयाँमा निर्माण सम्झौता गरेको थियो । सम्झौताअनुसार २०८३ सालको पुस २२ गतेभित्र रङ्गशाला निर्माण सम्पन्न गरिसक्नुपर्ने छ । रासस

काठमाण्डौ, ९ साउन । देशभर मनसुनी वायुको प्रभाव हाल कमजोर देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजोजस्तै आज पनि काठमाण्डौ उपत्यकालगायत देशका अधिकांश भागमा बिहानैदेखि घाम लागिरहेको छ।

महाशाखाले दिउँसोपछि भने देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। विशेषगरी बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

यस्तै, रातिको समयमा कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका केही भागमा हावाहुरी चल्न सक्ने सम्भावना समेत महाशाखाले जनाएको छ। गएराति पूर्वका विभिन्न स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा भएको थियो।

मौसमविद्हरूका अनुसार अझै केही दिन मनसुनी गतिविधि कमजोर नै रहने सम्भावना रहेकोले खेतीपाती, सिँचाइ र खानेपानी व्यवस्थापनमा सतर्कता अपनाउन सुझाव दिइएको छ। विशेषगरी पहाडी भेगमा स्थानीय तहहरूले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।