भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

म्याग्दी, २४ माघ । चीन र भारत जोड्ने महत्वपूर्ण कालीगण्डकी कोरिडोर अन्तर्गत पर्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरो तथा नदी कटान रोकथाम योजना निर्माण सुरु गरिएको छ।

बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले २५ करोड रुपैयाँको लागतमा सडकमा बारम्बार खस्ने पहिरो र नदी कटान रोक्न योजना अघि बढाएको हो। पहिरोका कारण सडक अवरुद्ध भई नियमित यातायात सञ्चालनमा समस्या हुँदै आएको थियो।

योजना कार्यालयका सब–इञ्जिनियर बहादुर शाहका अनुसार ठेक्का सम्झौता भएका निर्माण कम्पनीहरूले चालु आर्थिक वर्षभित्रै काम सम्पन्न गर्ने लक्ष्यसहित काम थालेका छन्। रघुगंगा गाउँपालिका–२ का तल्लो तथा माथिल्लो बैसरी, नागढुङ्गा, गुइठेभिर, खामभित्ता, लाटोखोला, रूपसे, सेतोखोला र लार्जुङ खण्डमा पहिरो तथा कटान रोकथाम योजना सञ्चालन भइरहेको छ।

यी क्षेत्रमा ‘रक एंकरिङ’, ‘पलम पर्खाल’, ‘बायो इन्जिनियरिङ’ र ‘थिडिमेस’ प्रविधि प्रयोग गरेर सडक सुरक्षित बनाइँदैछ। अन्नपूर्ण गाउँपालिका–३ दानाको खामभित्ता क्षेत्रमा ३०० मिटर सडक खण्डको पहिरो रोकथामका लागि सात करोड रुपैयाँमा वाम्ती/कोण्डा/टिस्ता जेभीले ठेक्का पाएको छ।

त्यसैगरी, गुइठेभिर खण्डमा ३०० मिटर सडक संरक्षणका लागि जीएसपीएल/बुद्धिसरा जेभीले नौ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको छ। लाटोखोला, रूपसे, नागढुङ्गा र सेतोखोला क्षेत्रमा गजेन्द्र निर्माण सेवाले सात करोडमा काम गरिरहेको छ। रूपसे खण्डमा १६० मिटर सडक ढलान सम्पन्न भइसकेको छ भने लाटोखोलामा रक एंकरिङ र सडक फराकिलो बनाउने काम अन्तिम चरणमा पुगेको छ। बैसरी क्षेत्रमा सडकमुनिको पहाडमा ड्रिलिङ गरी रड राखेर कंक्रिट बेससहित पक्की पर्खाल निर्माण गरिएको छ।

हाल तीन दशमलव पाँच मिटर चौडाइको सडकलाई सातदेखि आठ मिटर फराकिलो बनाई दुईतर्फी सवारी सञ्चालनको तयारी गरिएको छ। सडकको पानी व्यवस्थापनका लागि ह्युम पाइपमार्फत निकास संरचना पनि निर्माण हुँदैछ। अन्नपूर्ण गाउँपालिका–३ का वडाध्यक्ष रमेश पुर्जाले पहिरो रोकथामपछि सडक आवागमन सहज हुनुका साथै जोखिममा परेका बस्ती र सार्वजनिक संरचना सुरक्षित हुने विश्वास व्यक्त गरे।