भक्तपुर, २७ कार्तिक । कला, साहित्य र सृजनशीलतालाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित भक्तपुरमा पहिलो पटक अन्तर–विद्यालय नाटक प्रतियोगिता सम्पन्न भएको छ। नेसनल प्याव्सन भक्तपुर अन्तर्गत मदरल्याण्ड स्कुलको आयोजनामा भएको प्रतियोगिताले विद्यार्थीहरूको लुकेको प्रतिभा उजागर गर्ने ऐतिहासिक मञ्चको काम गरेको आयोजकहरूले बताएका छन्।
प्रतियोगितामा सहभागी विद्यालयहरूले विभिन्न सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक विषयवस्तुलाई नाटकमार्फत जीवन्त रूपमा प्रस्तुत गरेका थिए। निर्णायकलाई प्रभावित पार्दै, ऋतम्भरा पाठशालाले प्रथम स्थान हासिल गर्यो।
त्यसैगरी, ईडेन गार्डेन दोस्रो, संस्कार गुरूकूल तेस्रो, र विमल मेमोरियल विद्यापीठले सान्त्वना स्थान प्राप्त गर्न सफल भए। व्यक्तिगत श्रेणीमा, आरक्षण नेसनल स्कुलकी यूनिशा खत्री ‘उत्कृष्ट कलाकार’ घोषित हुन सफल भइन्।
पाथिभरा एकेडेमी : उत्कृष्ट प्रस्तुति, क्वालिटी स्कुल : उत्कृष्ट निर्देशन, यूनिटी स्कुल : उत्कृष्ट सन्देश, जागृति विद्या सदन : उत्कृष्ट मञ्च व्यवस्थापन, संस्कार गुरूकूल : उत्कृष्ट कथा गरि अन्य उपाधि रहेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा मुख्य निर्णायक वरिष्ठ रङ्गकर्मी केदार श्रेष्ठले विद्यालयस्तरमै यस्ता कार्यक्रममा युवा पुस्ताको कलाप्रतिको आकर्षण र समर्पण बढ्ने भन्दै आयोजकको प्रशंसा गरे ।
नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले नाटक केवल मनोरञ्जन नभई विद्यार्थीको क्षमता विकास गर्ने प्रभावकारी माध्यम भएको बताए।
मदरल्याण्ड स्कुलकी सञ्चालक शर्मिला देउजाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नाटक प्रशिक्षक आरती गौतम र थिएटर कलाकार एडेन बात्री निर्णायकका रूपमा उपस्थित थिए।
विभिन्न विद्यालयका प्रिन्सिपल, सल्लाहकार तथा पदाधिकारीहरूको उल्लेख्य उपस्थिति रहेकाे कार्यक्रम संयोजक विष्णु प्रसाद दुवालले जानकारी दिए ।
भक्तपुर, २६ कार्तिक । भक्तपुरमा पहिलो पटक अन्तर–विद्यालय नाटक प्रतियोगिता आयोजना हुन लागेको छ । नेसनल प्याव्सन भक्तपुर अन्तर्गतको यो कार्यक्रम आगामी २०८२ कार्तिक २७ गते सूर्यविनायक – ९, भक्तपुरस्थित मदरल्याण्ड स्कुलमा सम्पन्न हुने भएको छ ।
मदरल्याण्ड स्कुलका कार्यक्रम संयोजक विष्णु प्रसाद दुवालका अनुसार, विद्यार्थीहरूको रचनात्मकता र अभिनय क्षमतालाई प्रोत्साहन दिने उद्देश्यले अन्तर–विद्यालय नाटक प्रतियोगिता आयोजना गरिएको हो । उनले सम्पूर्ण तयारी पूरा भइसकेको र कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न विद्यालय परिवार उत्साहित रहेको जानकारी दिएका छन् ।
प्रतियोगितामा नेसनल प्याव्सनमा आबद्ध सदस्य विद्यालयहरूका कक्षा १० सम्मका विद्यार्थीहरूले भाग लिन सक्नेछन् । सहभागी समूहले सन्देशमूलक नाटक प्रस्तुत गर्नेछन् । हरेक प्रस्तुतिको समय करिब ७ देखि १५ मिनेट बीचमा सीमित रहनेछ भने, एक नाटक समूहमा अधिकतम ८ जना कलाकारहरू मात्र सहभागी हुन पाउने बताइएकाे छ ।
कार्यक्रमलाई थप आकर्षक र प्रतिस्पर्धात्मक बनाउन आयोजकले प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र वितरणको व्यवस्था गरेको छ । साथै उत्कृष्ट प्रतिभालाई सम्मान गर्नका लागि उत्कृष्ट कथा, उत्कृष्ट कलाकार, उत्कृष्ट प्रस्तुति, उत्कृष्ट निर्देशन, उत्कृष्ट सन्देश र उत्कृष्ट मञ्च व्यवस्थापन जस्ता सबटाइटल अवार्डहरू पनि प्रदान गरिने बताइएकाे छ ।
यस कार्यक्रमले विद्यार्थीहरूमा कला, रचनात्मक सोच र आत्मविश्वास विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
भक्तपुर, २२ कात्तिक । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते मध्यपुरथिमि राधेराधेस्थित यातायात व्यवस्था कार्यालय र सानोथिमि प्रहरी प्रभागमा आगजनी तथा तोडफोडमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
भक्तपुर जिल्ला प्रहरी परिसरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश जवेजुका अनुसार पक्राउ पर्नेहरूमा चाँगुनारायण नगरपालिका–२ दुवाकोटका ३३ वर्षीय किरण दुवाल, सानोथिमि बस्ने २३ वर्षीय सागर मगर, रामेछाप घर भई हाल सानोथिमि मगरगाउँ बस्ने १९ वर्षीय हिमाल श्रेष्ठ र सानोथिमि बस्ने २४ वर्षीय संजितकुमार ठाकुर रहेका छन्।
प्रहरीले उनीहरूलाई आज पक्राउ गरेको हो। पक्राउ परेकाहरूले गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा मध्यपुरथिमि राधेराधेमा रहेको यातायात व्यवस्था कार्यालय र सानोथिमि प्रहरी प्रभागमा आगजनी तथा तोडफोड गरेका थिए।
डीएसपी जवेजुले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको जानकारी दिए। उनका अनुसार पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ।
त्यसैगरी, सोही आन्दोलनका क्रममा भदौ २४ गते विभिन्न कारागारबाट फरार भएका थप पाँच जना कैदीबन्दीलाई समेत पक्राउ गरी सम्बन्धित कारागारमा पठाइएको पनि उनले जानकारी दिए।
मुख्य बुद्धा
भक्तपुरमा १८ असोजमा ४५ औं नेपाल भाषा साहित्य तःमुंज्या कार्यक्रमको पहिलो दिन सम्पन्न।
प्रमुख अतिथि नेमकिपाका अध्यक्ष एवं वरिष्ठ राजनितिज्ञ न.आ. यणमान बिजुक्छेले साहित्यमा पनि राजनीति हुने र जनताको सेवामा राजनीति आवश्यक रहेको बताए।
कार्यक्रममा स्वागत भाषण रविन्द्र खर्बुजा, र सिडीओ नवराज घिमिरे, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, साहित्यकार यचु जोशी लगायत व्यक्तिहरू उपस्थित
विभिन्न क्षेत्रमा योगदान गर्ने गोपाल बासुकला, किसान अग्रज लगायतलाई प्रमाणपत्र र नगद पुरस्कारसहित सम्मान।
कार्यक्रमले साहित्य, कला र संस्कृतिको महत्वबारेकाे योगदानलाई सम्मान ।
भक्तपुर, १९ असोज । भक्तपुरमा ४५ औं नेपाल भाषा साहित्य तःमुंज्या कार्यक्रमको जारी रहेकाे छ । पहिलो दिन शनिबार भव्य रूपमा सम्पन्न कार्यक्रममा नेमकिपाका अध्यक्ष एवं वरिष्ठ राजनितिज्ञ नारायणमान बिजुक्छेले साहित्य र राजनीति सम्बन्धित विचार व्यक्त गर्दै “साहित्यमा पनि राजनीति हुन्छ। राजनीति नगर्ने मान्छे एक्लो हुन्छ। राजनीति भन्नुको मतलब शासन–सत्तामा जाने वा अकूत सम्पत्ति कमाउने होइन, जनताको वास्तविक सेवा गर्ने उद्देश्यका लागि राजनीति गर्नु हो। तल्लो वर्गका छोराछोरीलाई व्यवहारिक ज्ञान दिनुपर्छ। शोषक सामन्तले तल्लो वर्गका जनताको हितमा काम गर्दैन।” भन्नुभयाे ।
रविन्द्र खर्बुजाले स्वागत गर्नुभएकाे कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी नवराज घिमिरे, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, साहित्यकार यचु जोशी, डा. पुकारचन्द्र श्रेष्ठ, वरिष्ठ इन्जिनियर रामविन्दु श्रेष्ठ, डा. विरेन्द्र कायस्थ, कवयत्री बेवी झा, त्रिवि अंग्रेजी केन्द्र प्रमुख तारालाल श्रेष्ठ, कवयत्री इन्दिरा प्रसाई, साहित्यकार नरेन्द्र राज प्रसाई, भक्तपुर नपा प्रमुख सुनिल प्रजापति, तःमुंज्या केन्द्रीय समितिका आशाकुमार चिकबन्जार र सभापति राजेन्द्र प्रसाद हाडाकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान गरिएको थियो। यसअन्तर्गत गोपाल बासुकला, किसान अग्रज बिकुनारायण माते, लोक कविका रुपमा संघरत्न शाक्य, कनक बाजा गुरु जगतलाल खर्बुजा, गायक तथा संगीतकार रवि हाडालाई नेमकिपाका अध्यक्ष रोहितले प्रमाणपत्र र नगद पुरस्कारसहित सम्मान गर्नुभएकाे थियाे ।
कार्यक्रममा कला, संस्कृति र साहित्यको महत्व बारेमा प्रकाश पार्दै, सबै अतिथिहरूले साहित्य र सांस्कृतिक क्रियाकलापमा निरन्तर योगदान दिने प्रतिवद्धता व्यक्त गरेका थिए ।
नगर प्रमुख सुनिल प्रजापतिले विश्व पर्यटन दिवसमा भक्तपुर प्रवेश गर्ने पर्यटकलाई स्वागत।
स्वागत समारोहमा खौमा ध्वाका, भादगाउँले टोपी, थैली र पुष्पगुच्छा प्रयोग।
सहभागी विदेशी पर्यटक: भारत ६, अस्ट्रिया १, अमेरिका २।
भक्तपुरलाई जीवित सङ्ग्रहालयको रूपमा प्रवर्धन।
२०७२ सालको भूकम्पमा क्षतिग्रस्त सम्पदाहरूको पुनर्निर्माण सम्पन्न।
पर्यटकलाई प्रकाशन र मयुरको झ्याल उपहार दिइयो।
भक्तपुर, ११ असोज । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर दरबार क्षेत्र प्रवेश गर्ने विदेशी पर्यटकको स्वागत गर्नुभएको छ।
शनिबार बिहान भक्तपुर दरबार क्षेत्रमा खौमा ध्वाका, भादगाउँले टोपी, परम्परागत थैली र पुष्पगुच्छा सहित पर्यटकलाई स्वागत गरिएको थियो। कार्यक्रम भक्तपुर नगरपालिका, भक्तपुर पर्यटन विकास समिति, भक्तपुर टुर गाइड व्यवस्थापन समिति र पर्यटक प्रहरीको संयुक्त आयोजना रहेको थियो।
कार्यक्रममा भारतका ६, अस्ट्रियाका १ र अमेरिकाका २ गरी ९ जना विदेशी पर्यटक सहभागी थिए। नगर प्रमुख प्रजापतिले स्वागत गर्दै भन्नुभयो, “भक्तपुरलाई जीवित सङ्ग्रहालयको रूपमा परिचित नगर बनाउने हाम्रो प्रयास जारी छ। नगरभित्रका सांस्कृतिक सम्पदाहरूको संरक्षणका लागि जनताको सहयोग विशेष प्राथमिकता पाएको छ।”
उहाँले २०७२ सालको भूकम्पमा क्षतिग्रस्त सम्पदाहरूको पुनर्निर्माण सम्पन्न भइसकेको र भक्तपुर नगरपालिकाले आन्तरिक र विदेशी पर्यटन प्रवर्धनमा विशेष योजना अघि बढाउँदै आएको जानकारी दिनुभयो।
कार्यक्रममा अमेरिकाकी पर्यटक तानिया कोस्टाले विश्व पर्यटन दिवसको अवसरमा शुभकामना व्यक्त गरिन्। साथै, नगर प्रमुख प्रजापतिले पर्यटकहरूलाई नगरपालिकाका प्रकाशन र मयुरको झ्याल उपहारको रूपमा प्रदान गर्नुभयो।
भक्तपुर नगरपालिकाले सांस्कृतिक संरक्षण र पर्यटन प्रवर्धनमा निरन्तर जोड दिँदै आएको छ र यो कार्यक्रम त्यसको एक महत्वपूर्ण पहलको रूपमा देखिन्छ।
भक्तपुरका कुम्हालेहरू दसैँको लागि माटोका पर्व सामग्री बनाउन व्यस्त
घटस्थापनादेखि बडादसैँसम्म पूजा सामग्री उत्पादन र तयारी
सूर्यविनायक र तालाक्को टोलका व्यापारीहरू व्यस्त, अर्डर अनुसार वर्षभरको आम्दानी सुनिश्चित
आधुनिक सामग्री भए पनि पर्वमा माटोका सामग्रीको माग उच्च
उत्पादन मूल्य दुई रुपैयाँ ५० पैसादेखि ९०० रुपैयाँसम्म, उपत्यका र अन्य शहरमा आपूर्ति
भक्तपुर, ४ असाेज । सूर्यविनायकको श्याम प्रजापतिको परिवार यतिबेला दसैँको लागि माटोको सामग्री तयार गर्न निकै व्यस्त छन् । बिहानदेखि बेलुकीसम्म फुर्सद छैन । नजिकिँदै आएको दसैँका कारण राति समेत काम गर्नुपर्ने व्यस्तता छ ।
दसैँको घटस्थापनादेखि सप्तमी, महाअष्टमी, महानवमी र बडादसैँको दिन पूजा गर्न आवश्यक पर्व सामग्रीहरू बनाउन अहिले उहाँको परिवारलाई भ्याइनभ्याइ भएको हो । “दसैँ आइसक्यो । अर्डरको सामान बनाउन अझै बाँकी छ । श्यामले भने “अहिले परिवारका सबै सदस्यहरू यसै काममा व्यस्त छन् । छोराछोरी बिहान र स्कुल छुट्टी पछि यसै काममा व्यस्त छन् ।”
श्यामका बुबाआमा, श्रीमती, बहिनी, छोराछोरीहरू घटस्थापनामा पूजा कोठामा राख्ने गमला, सानो ध्याम्पो, धुपौरो, दूध राख्ने गपचा, जाँड राख्ने थापेङ र सोमा, रक्सी खाख्ने अंती, दूध पतु, सुकुना, गपचा, समेबजी खोला, सल्लीलगायतका सामग्री बनाउनमा व्यस्त छन् । दसैैँमा जमरा राख्ने ढुकुटी कोठामा देवी दुर्गाको पूजाका लागि माटोले बनेका सामग्रीको बढी प्रयोग हुने भएकाले बजारमा यसको माग उच्च छ ।
यही माग धान्न अहिले श्यामका परिवारका सदस्यहरू माटो मुछ्ने, भाँडा बनाउने, सुकाउने, रङ लगाउने, आगोमा राख्नेदेखि सम्पूर्ण तयारी गरी बजार लाने काममा व्यस्त छन् । त्यसैगरी भक्तपुरको तालाक्को टोलका अर्को व्यवसायी सुन्दर प्रजापतिलाई पनि यतिबेला भ्याइनभ्याइ छ । बिहान उठेदेखि दसैँको अर्डरका लागि आएको सामग्री बनाउने कार्यमा व्यस्त छन् ।
दसैँ र तिहारको समयमा अर्डर आएका पर्व सामग्री मागअनुसार समयमा पुर्याउन सके वर्ष दिनका लागि घर चलाउन र बच्चाहरूको स्कुलको खर्च सजिलै पुग्ने, अरु बेला त्यति धेरै व्यस्त हुन नपर्ने सुन्दर बताउँछन् । उनले भने, “यो समयमा उपत्यकालगायत बाहिरी जिल्लाहरूबाट अर्डर आएका पर्व सामग्रीहरू समय पुर्याउन सके खासै अरु बेला व्यस्त हुन् पर्दैन ।
यसैले वर्ष दिनमा खान, लाउन र छोराछोरीको खर्च पुग्छ । हामीले बढी दुःख गर्ने भनेको दसैँ, तिहार र छठको लागि तीन महिना हो । अरु बेला फुर्सदमा काम गरेपनि खासै फरक पर्देन । यतिले वर्षदिनमा गुजारा गर्न सहज हुन्छ ।”
बजारमा विभिन्न आधुनिक सामान भए पनि पर्वको समयमा माटोको सामग्री बढी प्रयोग हुने भएकाले पनि यस्को व्यापार निकै फस्टाउँदै गएको व्यापारीहरू बताउँछन् । यस व्यवसायमा लागत र परिश्रम अनुसार बढी आम्दानी हुने भएकाले पेसाप्रति नयाँ पुस्ताहरू आकर्षित भएको देखिन्छ ।
भक्तपुरमा दुई रुपैयाँ ५० पैसादेखि ९०० सम्मका सामग्री उत्पादन हुन्छ । चाडपर्वको समय भक्तपुरको तालक्को र सूर्यविनायकको मात्र नभएर सूर्यमढी, लिवाली, तुमुचो, बुलुचा, घलाटे, चोलिँचा, च्याम्हासिहं र कुम्हालेहरूको परिवारका सदस्यहरू समेत पर्व सामग्री बनाउने कायमा व्यस्त देखिन्छ । यो सयम अधिकांस कुम्हाले परिवारका सदस्यहरू भाँडा बनाउने, सुकाउने, रङ लगाउने, बुट्टा राख्ने, मिलाएर बजार पठाउने कार्यमा व्यस्त छन् ।
भक्तपुरमा उत्पादन गर्ने पर्व सामग्रीहरू नवदुर्गा देवगृह, तलेजु मन्दिर, एकान्त कुमारीको देवगृह, भक्तपुर नगर, काठमाडौँ, ललितपुर, पनौती, त्रिशूली, पोखरा, कीर्तिपुर, थेचो, बनेपा, धुलिखेलसम्म पुग्ने व्यवसायी सुन्दर प्रजापतिले जानकारी दिए । रासस
काठमाण्डौ, ३ असाेज । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ताकी–ताकी गोली हान्ने आदेश नदिएको स्पष्ट गर्नुभएको छ ।
संविधान दिवसको अवसरमा शुभकामना सन्देशमार्फत ओलीले आफूले राजीनामा दिएपछि छानी–छानी सार्वजनिक तथा निजी सम्पत्ति, नेताका घरलगायतमा आगजनी र तोडफोड गरी क्षति भएको उल्लेख गर्नुभयो ।
जेन–जी आन्दोलनमा आह्वानकर्ताले नै घुसपैठ भएको बताएको प्रसङ्ग उल्लेख गर्दै ओलीले सरकारले प्रदर्शनकारीलाई ताकी–ताकी गोली हान्ने आदेश नदिएको दाबी गर्नुभयो । उहाँका अनुसार प्रहरीसँग नभएका स्वचालित हतियार प्रयोग गरेर गोली हानिएको हो, जसको छानबिन हुनुपर्ने बताउनुभयो ।
जेन–जी आन्दोलनपछि भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओलीलाई सेनाले बालुवाटारबाट हेलिकोप्टरमार्फत ब्यारेकमा लगेर सुरक्षित राखेको थियो । हिजो बेलुकी उहाँ ब्यारेकबाट निस्किएर भक्तपुरको गुण्डुस्थित भाडाको घरमा सर्नुभएको छ ।
मुख्य बुँदा
गुन्हीपुन्ही सापारु २०८२ अन्तर्गत घिन्ताङघिसी, माक प्याखँ लगायत सांस्कृतिक प्रस्तुतिहरूको मूल्यांकन गरी विजयी समूहलाई पुरस्कार वितरण।
१४६ सांस्कृतिक समूहको सहभागिता, प्रत्येक वडाबाट १ जना सांस्कृतिक गुरु सम्मानित।
प्रमुख अतिथि नारायणमान बिजुक्छेँ (रोहित) को मन्तव्य: सम्पदा संरक्षण हाम्रो पहिचान, विदेशीमा भर पर्ने प्रवृत्तिबाट सचेत रहनुपर्ने।
सभापति सुनिल प्रजापति: भक्तपुर आत्मनिर्भर र संस्कृतिको राजधानी, पर्यटन प्रवर्द्धनमा जोड।
प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं: कला–संस्कृतिमार्फत जनसेवा सम्भव, शासक दलहरूको गलत नीतिले देशमा अराजकता।
उपप्रमुख रजनी जोशी: नयाँ पुस्तामा धरोहर पुस्तान्तरण गर्ने उद्देश्य, प्रतियोगिताबाट सांस्कृतिक प्रोत्साहन।
प्रमुख जिल्ला अधिकारी नमराज घिमिरे: भक्तपुरको प्रशासनिक र सांस्कृतिक काम अनुकरणीय।
पुरातत्व विभाग महानिर्देशक सौभाग्य प्रधानांग: सम्पदा संरक्षण इतिहास जगेर्नासँग जोडिएको।
भक्तपुर, २ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले देशमा व्याप्त भ्रष्टाचारले देशलाई झन्–झन् आर्थिक रूपले कमजोर हुनुमा शासक दलहरु नै जिम्मेवार रहेको बताउनुभएको छ ।
गुन्हीपुन्ही सापारु २०८२ मा प्रदर्शन गरिएका घिन्ताङघिसी, माक प्याखँ तथा परम्परागत एवम् आधुनिक सांस्कृतिक विधाका विजयी सांस्कृतिक समूहहरुलाई पुरस्कार वितरण एवम् सांस्कृतिक गुरुहरूको सम्मान कार्यक्रम बिहीबार संस्कृतिकर्मी तथा सांस्कृतिक गुरुहरुलाई बधाईज्ञापन गर्नुहुँदै अध्यक्ष बिजुक्छेँले उक्त कुरा बताउनुभएको हो ।
उहाँले नेपाल मजदुर किसान पार्टीका जनप्रतिनिधिहरूले निस्वार्थ रुपमा जनताको सेवा गर्ने भावनाले काम गर्दै आइरहेको बताउँर्दै सम्पदामा क्षति र हानि नोक्सानी गर्नेहरूबाट सचेत हुनुपर्ने बताउँनुभयो । उहाँले हाम्रो सम्पदा र कला संस्कृति नै हाम्रो पहिचान भएको हुँदा यसको संरक्षण र प्रवर्धनमा हामी स्वयं लाग्नुपर्ने तर्क गर्नुभयो ।
विदेशीको भरमा विकास गर्ने परनिर्भर सोचले हामीलाई अपाङ्ग र माग्ने प्रवृत्ति विकास हुने हुँदा हाम्रो इतिहास र सभ्यतालाई हामी आफैंले संरक्षण गर्नुपर्ने उहाँले बताउनुभयो। सांस्कृतिक कलाकार र संस्कृतिकर्मीहरूलाई निरन्तर उत्साहित गर्दै लानुपर्ने बताउँदै अध्यक्ष बिजुक्क्षले जनताको साथ र सहयोगमा गरिने हरेक काम सफल हुने बतानुभयो।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको गाईजात्रा संसारकै उत्कृष्ट पर्वको रूपमा रहेको बताउँदै भक्तपुरका लोपन्मुख नाचहरू उजागर गर्ने उद्देश्यले सांस्कृतिक प्रतियोगितालाई जोड दिँदै आएको बताउनुभयो । सांस्कृतिक गुरु सम्मानले संस्कृतिकर्मीहरूमा उत्साह थप्ने काम भएको छ भन्दै उहाँले भक्तपुर विदेशीको सहयोगले होइन आफ्नो स्वाभिमानले आत्मनिर्भर भएर अगाडि बढेको नगर भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले पर्यटन प्रबर्द्धनमा पनि जोड दिदै आएको भन्दै देशमा शान्ति सुरक्षाको प्रत्याभूति भए मात्र बिदेशी पर्यटक नेपालको भ्रमणमा आउने स्पस्ट पार्नुभयो । नयाँ पुस्तालाई सम्पदा संरक्षणको महत्व र भक्तपुरको कला संस्कृतिबारे अध्ययन अध्यापनको व्यवस्था गर्दै आएको बताउदै उहाले नयाँ पुस्तालाई प्रशिक्षित गरी पुस्तान्तरण गर्ने काममा नगरपालिकाले सहजीकरण गर्दै आएको बताउनुभयो।
बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईंले गाईजात्राको समयमा प्रदर्शन गरिने सांस्कृतिक प्रतियोगिताका प्रस्तुतिहरूलाई अझ व्यापक रूपमा प्रस्तुत गर्न सुझाव दिँदै कला संस्कृतिमार्फत पनि जनताको सेवा सम्भव छ भन्ने उदाहरण भक्तपुर नगरपालिकाले प्रस्तुत गर्दै आएको बताउनुभयो।
भक्तपुरको कला संस्कृति नेपालमा मात्र नभई विश्वमा चिरपरिचित रहेको बताउँदै उहाँले कला संस्कृति संरक्षणमा भक्तपुर नगरपालिकाले अझ बुद्धिमानपूर्ण ढंगले अगाडि बढ्न जरुरी रहेको बताउनुभयो। वर्तमान राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा व्यक्त गर्दै सांसद गोसाईले विदेशी हस्तक्षेपबारे नेपाल मजदुर किसान पार्टीले संसददेखि सडकसम्म र जनतालाई सुसुचित गर्ने काम गर्दै आएको बताउँदै अहिलेको अवस्थाको मुख्य जिम्मेवार शासक दलहरू नै भएको बताउनुभयो।
देशको राजनीति गलत बाटोमा गएपछि देशमा अशान्ति र अराजकता फैलिनु स्वाभाविक भएको बताउँदै उहाँले जनता स्वयं देशको रक्षक दल हुनुपर्ने पाठ वर्तमान राजनीतिक घटनाक्रमले पुष्टि गरेको बताउनुभयो। भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरका अमूल्य धरोहरलाई नयाँ पुस्तामा पुस्तान्तरण गर्न विविध सांस्कृतिक प्रतियोगिता आयोजना गर्दै आएको बताउँदै समाजका अग्रज र सम्मानित व्यक्तिको रुपमा सांस्कृतिक गुरुहरुलाई सम्मान पनि गर्दै आएको बताउनुभयो ।
भक्तपुर नगरलाई नाचगानको राजधानीको रुपमा प्रस्तुत गर्न भक्तपुर नगरपालिका प्रयासरत रहेको बताउँदै पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति नारालाई व्यवहारिक रूपान्तरण गरी अगाडि बढ्दै आएको बताउनुभयो । भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले भक्तपुर जिल्लाले अन्तर्राष्ट्रिय जगतमा आफ्नो पहिचान कायम गर्न उदाहरणीय कामहरू गर्दै आएको बताउनुभयो।
भक्तपुर नगरपालिकाको प्रशासनिक व्यवस्था र सेवा प्रवाह अन्य नगरपालिकाको भन्दा अनुकरणीय भएको बताउँदै उहाँले संस्कृतिकर्मी सम्मान कार्यक्रमले भक्तपुरको सांस्कृतिक विविधतालाई जीवित राख्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
भक्तपुरको शान्ति सुरक्षा कायम गर्ने विषयमा अझ तदारुक्ताका साथ अगाडि बढ्ने बताउनुभयो।
कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानांगले भक्तपुर कलाकृति र संस्कृतिले भरिएको नगर भएको बताउँदै यहाँका मूर्त र अमूर्त सम्पदा संरक्षणले हाम्रो इतिहासलाई समेत जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। सांस्कृतिक सम्पदा संरक्षण गर्ने पहिलो दायित्व स्थानीय जनतामा निहित हुने बताउँदै उहाँले आगामी दिनमा पनि भक्तपुर नगरपालिकाले सम्पदा संरक्षणको क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले सांस्कृतिक गुन्हीपुन्ही सापारु २०८२ मा प्रदर्शन गरिएका घिन्ताङघिसी, माक प्याखँ तथा परम्परागत एवम् आधुनिक सांस्कृतिक विधाहरुको मूल्यांकनको समीक्षा गर्नुभयो ।
सोही क्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले यो वर्ष प्रत्येक वडाबाट १ जना सांस्कृतिक गुरुहरुलाई उहाँहरुको योगदानको कदरस्वरुप भक्तपुर नपाले सम्मान गरिएको र यो वर्षको गुन्हीपुन्ही सापारुमा विविध विधाअन्तर्गत १४६ सांस्कृतिक समूहले प्रतियोगितामा भाग लिएको जानकारी दिनुभयाे ।