काठमाडौँ, १२ असार । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा हालै पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने दिउँसो र राति थप वर्षाको सम्भावना रहेको उल्लेख गरिएको छ। महाशाखाका अनुसार आज दिउँसो र राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना पनि रहेको छ।
यससँगै, कोशी प्रदेशको तराई भाग र मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
देशभरको विभिन्न भूभागमा मेघगर्जन, चट्याङ, वर्षा र हिमपातको सम्भावनालाई दृष्टिगत गर्दै मौसम महाशाखाले आवश्यक सावधानी अपनाउन आम नागरिक तथा सम्बन्धित निकायहरूलाई अनुरोध गरेको छ।
काठमाडाैं, ८ असार । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायु सक्रिय रहेको छ। दिउँसो बागमती, गण्डकी, लुम्बिनी र कोशी प्रदेशका पहाडी भूभागमा चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ भने केही स्थानमा भारी वर्षा पनि हुनसक्ने अनुमान गरिएको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावनाका कारण नदीको जल सतह वृद्धि, बाढी, पहिरो, भूक्षय लगायतका प्राकृतिक प्रकोप हुनसक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
आज राति देशभर आंशिकदेखि साधारण बदली रहनेछ। उच्चपहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना पनि रहेको छ। मौसम पूर्वानुमान महाशाखाले जनता तथा सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउन निर्देशन दिएको छ।
नवलपरासी, ७ असार । बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी खोलामा डाइभर्सन निर्माण नगरिने भएको छ।
गत पुस २६ गते दुम्कीवास पुल भाँचिएपछि डाइभर्सनमार्फत यातायात सञ्चालन गरिँदै आएकोमा खोलामा आउने बाढीले बगाउन थालेपछि अब डाइभर्सन निर्माण नगरिने भएको हो।
गत बिहीबार राति विनयी खोलामा डाइभर्सनबाट जाँदै गरेको बस नै खोलाले बगाए पछि पुनः डाइभर्सन निर्माण नगरिने निर्णय गरिएको नवलपरासी ९बर्दघाट सुस्तापूर्व०का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताए। जेठको अन्तिम हप्तादेखि लगातार वर्षा भई रहेकाले पटक(पटक डाइभर्सन बगाउने समस्या बढे पछि सो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए।
‘खोलाको डाइभर्सनमा थप जोखिम बढेकाले जिल्लास्थित सरोकारवालाको बैठकबाट अब नयाँ बन्दै गरेको पुल नै छिटो सञ्चालन गर्ने गरी पर्खने निर्णय गरिएको छ’, उनले भने, ‘दुम्कीवास पुल असार १६ गतेदेखि सञ्चालन गर्न सकिने निर्माण पक्षले जानकारी गराएको छ त्यसैले त्यो समयसम्म वैकल्पिक सडक नै प्रयोग गर्नुपर्नेछ।’
यो सडकखण्डअन्तर्गत दुम्कीवास पुलको विकल्पको रूपमा हलुका सवारीलाई होङ्सी सिमेन्ट गेट हुँदै सर्दीबाट दुम्कीवास बजार निस्कने सडक प्रयोग गरिएको छ। तर मालवाहक सवारीसाधन पूर्ण रूपमा रोकिएको छ। वर्षा सुरू भएसँगै दाउन्ने क्षेत्रमा सडक चिप्लो र हिलो हुँदा सवारी गुड्न नसकेकाले त्यो क्षेत्रमा पनि अवरोध कायम रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए।
‘दाउन्ने खण्डमा वर्षाका कारण भने अहिलेको अवस्थामा सवारी चलाउन सकिँदैन, त्यसलाई मर्मत गर्नुपर्छ, मर्मत कार्य यथाशीघ्र अगाडि बढाउनुपर्छ, अन्यथा अहिलेको अवस्थामा ठूला सवारीसाधन यो बाटो चलाउन सकिँदैन’, उनले भने, ‘रातिको समयमा ठूला साना कुनै पनि सवारीसाधन चलाउन सकिँदैन भन्ने निष्कर्षमा हामी पुगेका छौँ। दाउन्ने सडक मर्मत हुनुपर्यो, पुल सञ्चालन भएपछि मात्रै पूर्ववत् रूपमा सवारी चलाउन सकिन्छ भन्ने हाम्रो निष्कर्ष हो।’
यो सडकखण्डमा विगत पाँच दिनदेखि मालवाहक सवारीसाधनबीच बाटोमा रोकिएका छन्। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका सवारी विनयी खोलाका कारण रोकिएका छन् भने पश्चिमबाट पूर्वतर्फ हिँडेका सवारी दाउन्ने पहाडमा रोकिएका छन्। अहिलेको अवस्थामा मालवाहक सवारी चलाउन सकिने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । रासस
काठमाडौं, ७ असार । मनसुनी वायुको प्रभाव हाल देशभर देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। शनिबार देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ भने विभिन्न स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ। साथै, उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का वर्षा र हिमपात पनि हुन सक्ने उल्लेख छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा, तथा अन्य प्रदेशका एक–दुई क्षेत्रमा वर्षा भइरहेको छ।
दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने अनुमान गरिएको छ। विशेष गरी पहाडी भेगका केही स्थानहरूमा र अन्य क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मौसम विभागले भारी वर्षाको सम्भावना रहेकाले नदी तथा खोलानालाहरूमा पानीको सतह बढ्न सक्ने, भूक्षय, बाढी तथा पहिरो जस्ता जोखिम हुनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
यसले जनस्वास्थ्य, कृषि, यातायात तथा दैनिक जनजीवनमा असर पार्न सक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरेको छ । रातिको मौसम पनि दिनको जस्तै आंशिकदेखि साधारण बदली रहनेछ।
कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। यी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।
काठमाडाैं, ६ जेठ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी क्षेत्रमा सक्रिय मौसमी प्रणालीका कारण आगामी ४–५ दिनसम्म लगातार भारी वर्षा हुने सम्भावना छ।
हाल लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा वर्षा भइरहेको छ भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भूभागमा पनि मनसुनी वायु सक्रिय रहेको छ।
भारतको पश्चिम बङ्गाल नजिक बनेको न्यूनचापीय प्रणालीले पनि देशभर आकाश ढाकिएको छ। आज र भोलि कोशी, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक/दुई स्थानमा ठूलो पानी पर्नसक्ने जनाइएको छ।
साथै कोशी र मधेस प्रदेशमा चट्याङसहितको हावाहुरी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
काठमाडौँ, ४ असार । पछिल्लो १२ घण्टामा नवलपरासी पूर्व क्षेत्रमा ठूलो मात्रामा वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार डण्डामा सबैभन्दा धेरै ११६ मिलिमिटर वर्षा मापन भएको छ। यस्तै चितवनमा १०० दशमलव ४ र डोटीमा ९१ दशमलव २ मिलिमिटर वर्षा भएको तथ्यांक छ।
महाशाखाले नवलपरासी पूर्व र आसपासका नदी तथा खोलामा जल सतह बढ्ने र बाढी तथा पहिरोको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। डडेलधुरा, दाङ, तनहुँ लगायतका जिल्लामा पनि हल्का देखि मध्यम वर्षा भइरहेको छ भने सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका धेरै ठाउँमा गएराति पनि पानी परेको थियो।
हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो यी प्रदेशका एक-दुई ठाउँमा भारी वर्षा पर्ने सम्भावना छ। मौसमविद् गोविन्द झाकाका अनुसार पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण मनसुनी वर्षा पश्चिम क्षेत्रमा पूर्ण रूपमा फैलिन नसकेको भए पनि वर्षा भइरहेको छ। साथै भारतको पश्चिम बंगाल क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रले पनि वर्षामा प्रभाव पारिरहेको छ।
मौसम पूर्वानुमान महाशाखाले ५० देखि १०० मिलिमिटरलाई भारी वर्षा, १०० देखि २०० मिलिमिटरलाई धेरै भारी वर्षा र २०० भन्दा माथिलाई अति भारी वर्षा भनेर वर्गीकरण गरेको छ। यसैबीच, जल तथा मौसम विभागले नदी किनारमा बसोबास गर्ने जनताहरुलाई जोखिमबाट बच्न र सावधानी अपनाउन अनुरोध गरेको छ।