ताप्लेजुङ, १५ मंसिर । हिमाली जिल्ला ताप्लेजुङको अलैंची अहिले अमेरिका, युरोपदेखि गल्फ देशसम्म निर्यात हुने उच्च मूल्यको नगदे बालीका रूपमा स्थापित बन्दै गएको छ । यहाँका किसान अलैंची सिजन शुरू भएसँगै भट्टीमा सुकाउने, ढुवानी गर्ने र बजारीकरणमा व्यस्त छन् ।
फक्ताङ्लुङ–५, तापेथोकका किसान सुकबहादुर ताप्मादेन हाल १५ जना कामदार लिएर लेकतिरको बगानमा अलैंची टिप्न निस्कँदै थिए । जाडो छल्न आवश्यक तोङ्बा, सामल तुमल र बाक्लो ओछ्यान–ओढ्ने व्यवस्था मिलाइसकेका उनी यस वर्षको मूल्यप्रति विशेष आशावादी छन् । करिब ३ सय रोपनीमा व्यावसायिक अलैंची खेती गर्दै आएका ताप्मादेनले निङ्याङ्बा, बुल्बुले, सल्लेरी क्षेत्रमा रहेका बगानबाट यसवर्ष कम्तीमा ३५ मन बिक्री गर्ने लक्ष्य राखेका छन् । फुङ्लिङका व्यापारीलाई बिक्री गर्नका लागि उनले पहिले नै १५ मन भण्डारण गरिसकेका छन् ।
उनी भन्छन्, “यस वर्ष प्रतिमन एक लाख रुपैयाँ समातिन्छ भन्ने विश्वास छ । अलैंचीको भाउ सुनजस्तै कहिले बढ्छ–घट्छ भन्न सकिँदैन, त्यसैले समयमा ढुवानी गर्नु आवश्यक छ ।”
तापेथोकमा वार्षिक ३० मनभन्दा बढी उत्पादन गर्ने किसान धेरै छन् । रामबहादुर तुम्बाहाङ्फे, सुदिप थक्लुङ, राजीव ताप्मादेन, हेमबहादुर ताप्मादेनलगायातका किसानले ३०–५० मनसम्म उत्पादन गर्दै आएका छन् । मैवाखोला–४ का दातेम्बा शेर्पाले यसवर्ष ५ मन अलैंची ९५ हजार प्रतिमनमा बिक्री गरिसकेका छन् । त्यस्तै ६० वर्षीय प्रेमबहादुर तामाङले ०४२ सालदेखि सुरु गरेको खेतीबाट यदाकदा १० मन उत्पादन हुने भए पनि यो वर्ष मात्र २ मन उत्पादन भएको बताए ।
अलैंचीमा बिचौलियाको नियन्त्रण
तापेथोकका धेरै किसानजस्तै ताप्मादेनले पनि उत्पादित अलैंची सीधै झापा वा भारत पुर्याउन नसकिएको गुनासो गर्छन् । स्थानीय व्यापारी नै बिचौलिया बनेर मूल्य निर्धारणमा हस्तक्षेप गर्ने गरेको उनको आरोप छ ।
भारतीय व्यापारीसँग सीधा व्यापार गर्ने प्रयाससम्म गरे पनि स्थानीय व्यापारिक संरचनाले त्यसलाई रोक्ने गरेको उनीहरू बताउँछन् । “मूल्यबारे सोध्दा पनि कसैले स्पष्ट भन्दैन,” ८२ वर्षीय तीलनाथ माबोहाङ भन्छन् ।
ताप्लेजुङको अलैंची विश्व बजारसम्म
लार्ज कार्डमम (Amomum Subulatum) को रूपमा विश्वमा चिनिने अलैंची ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुमलगायत पूर्वी पहाडमा परम्परागत रूपमा उत्पादन हुँदै आएको छ । नेपालमा उत्पादन भएको अलैंची भारत हुँदै युएई, साउदी, कुवेत, बाङ्लादेश, क्यानडा, अमेरिका, बेलायत जस्ता देशसम्म पुग्छ । अलैंचीको सुगन्ध र स्वादलाई अन्तर्राष्ट्रिय स्तरमा सांस्कृतिक प्रतिष्ठा मानिन्छ ।
यसलाई चिया–कफी, मिठाई, औषधी, सुगन्धित तेल, पर्फ्युम तथा धार्मिक/सांस्कृतिक कार्यक्रममा प्रयोग गरिन्छ ।
मूल्य कसले निर्धारण गर्छ ?
अलैंची व्यावसायी महासंघका कोशी प्रदेश संयोजक बालमणि बरालका अनुसार भारतले मूल्य तोक्छ भन्ने धारणा अधुरो हो । “मूल्य माग र आपूर्तिमा निर्भर गर्छ । दोष सरकारको नीतिमा छ,” उनी भन्छन् । उनका अनुसार यदि ताप्लेजुङमै प्रशोधन केन्द्र, लेबलिङ, ब्रान्डिङ, प्याकेजिङ, ग्रेडिङ जस्ता पूर्वाधार बनाइयो भने अलैंची प्रतिमन २.५–३ लाख रुपैयाँसम्म बिक्री हुनसक्छ ।
हाल कोशी प्रदेशमा ७,५०० हेक्टरभन्दा बढी क्षेत्रमा अलैंची खेती भइरहेको छ । गत आर्थिक वर्षमा मात्रै झापाको काँकडभिट्टा नाकाबाट ७ अर्ब ६७ करोड रुपैयाँ बराबरको अलैंची निर्यात भएको भन्सार तथ्याङ्क छ ।
किसानका जोखिम : रोग, बजार र निर्भरता
अलैंची खेती पहाडी भिरालो जमिन, खोला किनारमा हुने भएकाले बाढी–पहिरोको जोखिम सदैव रहन्छ । साथै, एकपटक रोग फैलियो भने सम्पूर्ण बगान नष्ट हुन सक्ने डर किसानमा छ । मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश बनेम भन्छन्, “अलैंचीको आम्दानीले धेरैले घर बनाए, छोराछोरी पढाए । तर रोग लाग्यो भने के गर्ने ? अर्को नगदे बाली छैन ।”
उनले किसानलाई सुन्तला, एभोकाडोजस्ता वैकल्पिक बालीमा पनि ध्यान दिन आग्रह गरेका छन् । अर्को जोखिम भारतीय बजारमा निर्भरता हो । “भारतले कहिल्यै पनि अलैंची रोकिदियो भने किसानको अर्थतन्त्र धरासायी हुन्छ,” बनेमको चेतावनी छ । हाल उच्च गुणस्तरको अलैंची प्रतिमन १ लाख ५ हजार रुपैयाँ, कैंची कट १ लाख १ हजार, र चालु अलैंची ९८ हजार रुपैयाँमा बिक्री भइरहेको छ ।
