भर्खरै : Sorry, your browser does not support inline SVG.

तीनकुने हिंसा: राजावादीको आन्दोलन संविधान उल्ट्याउने षड्यन्त्र भएको गृहमन्त्रीको दाबी

तीनकुने हिंसा: राजावादीको आन्दोलन संविधान उल्ट्याउने षड्यन्त्र भएको गृहमन्त्रीको दाबी

काठमाडौं, चैत २२ । गृहमन्त्री रमेश लेखकले गत चैत १५ गते तीनकुनेमा राजावादीको आन्दोलनका क्रममा भएको हिंसालाई संविधान र लोकतान्त्रिक व्यवस्था समाप्त पार्ने नियोजित षड्यन्त्रको संज्ञा दिएका छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बैठकमा प्रहरी महानिरीक्षक दीपक थापा र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसहित उपस्थित भएका लेखकले यो घटनालाई हिंसात्मक, अमर्यादित र उच्छृङ्खल भनेका छन्।

गृहमन्त्री लेखकले भने, “फागुन ७ गतेको अभिव्यक्ति र चैत २५ गतेको प्रदर्शनले संविधान उल्ट्याउने षड्यन्त्र स्पष्ट देखिन्छ। यो कुरा कतै लुकेको छैन।” उनले राजावादीहरूले निजी सम्पत्ति, सरकारी संरचना, मिडिया हाउस र पार्टी कार्यालयमा आक्रमण गरेको भन्दै यस्तो कार्य कुनै पनि राजनीतिक अधिकार वा विचारबाट स्वीकार्य नहुने बताए। “सुरक्षाकर्मीमाथि गाडी चढाउने प्रयाससमेत क्षम्य छैन,” उनले थपे।

गृहमन्त्री लेखकले यो घटनालाई नियोजित अराजकताको रूपमा चित्रण गर्दै यसको सम्पूर्ण जिम्मेवारी आयोजकले लिनुपर्ने बताए। संविधानले अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण भेलाको अधिकार दिएको भए पनि नागरिकको आधारभूत अधिकार उल्लंघन हुने गरी भएको यो आक्रमण कुनै आदर्शबाट प्रेरित नभएको जिकिर गरे।

त्यस्तै गृहमन्त्रीले तीनकुने घटनामा ज्यान गुमाउने दुई परिवारलाई राहत उपलब्ध गराउने निर्णय प्रक्रियामा रहेको जानकारी दिए। “हिंसामा मृत्यु भएकाहरूको परिवारलाई राहत दिने निर्णय अन्तिम चरणमा छ,” उनले भने। बुधबार सिंहदरबारमा बसेको समिति बैठकमा सांसदहरूले तीनकुने घटनाबारे गृहमन्त्रीको जवाफ मागेपछि बिहीबारको बैठकमा उनलाई बोलाउने निर्णय भएको थियो।

 


Thali Mobile Pvt.Ltd.