भर्खरै : Sorry, your browser does not support inline SVG.

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकको लक्ष्यसँग मेल खान्छ : प्रधानमन्त्री ओली

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकको लक्ष्यसँग मेल खान्छ : प्रधानमन्त्री ओली

बैङ्कक, २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय संकल्प बिम्स्टेक शिखर सम्मेलनका मुख्य विषयवस्तु र संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यसँग गहिरो रूपमा जोडिएको बताएका छन्। थाइल्याण्डको बैङ्ककस्थित होटल साड्ग्रिलामा आयोजित बिम्स्टेक शिखर सम्मेलनमा सम्बोधन गर्दै ओलीले बिम्स्टेकका आधारभूत सिद्धान्तहरू—समृद्धि, लचिलोपन र खुलापन—नेपालको विकास आकाङ्क्षासँग मिल्ने उल्लेख गरे।

“यो सम्मेलनले परिवर्तनशील समयको सदुपयोग गर्दै क्षेत्रीय सहयोगलाई नयाँ उचाइमा पुर्‍याउने अवसर दिन्छ,” उनले भने। “शिखर सम्मेलनका विषयवस्तुले जनता, समृद्धि र कल्याणको पक्षमा बलियो आधार प्रदान गर्छ भन्ने मलाई विश्वास छ।” उनले बिम्स्टेक क्षेत्रको सम्भावना उजागर गर्न र उपलब्ध स्रोत-साधनको अधिकतम उपयोग गर्न सबै सदस्य राष्ट्रबीच एकीकृत प्रयास आवश्यक रहेको बताए। क्षेत्रका अर्थतन्त्रहरू फरक-फरक रहेको स्वीकार गर्दै उनले विशेष आवश्यकता भएका राष्ट्रहरूलाई प्राथमिकतामा राखेर सहयोग गर्नुपर्नेमा जोड दिए।

जलवायु परिवर्तनको चुनौती र हिमालयको महत्त्व

जलवायु परिवर्तनले मानवजातिको अस्तित्वमाथि सङ्कट ल्याएको उल्लेख गर्दै ओलीले हिमालयको संरक्षणमा ध्यान दिनुपर्ने बताए। “हिमालयहरू एसियाका लागि पानीको स्रोत हुन् र विश्वको तापक्रम घटाउन योगदान गर्छन्। तर, हाम्रो न्यून कार्बन उत्सर्जनका बाबजुद यी पहाडहरूले ठूलो असर भोगिरहेका छन्,” उनले भने। “यसको प्रभाव पहाडदेखि तराई र तटीय क्षेत्रसम्म पुगेको छ।”

हिमालय र महासागरबीचको सम्बन्धलाई उजागर गर्न नेपालले आगामी मे महिनामा ‘सगरमाथा संवाद’ को पहिलो संस्करण आयोजना गर्ने तयारी गरेको उनले जानकारी दिए।

क्षेत्रीय सहकार्यको आह्वान

बिम्स्टेकलाई दक्षिण एसिया र दक्षिणपूर्वी एसियाबीचको सहकार्यको अनुपम मञ्चको रूपमा प्रस्तुत गर्दै ओलीले साझा प्रयासमा हातेमालो गर्न आग्रहसमेत गरे। सम्मेलनमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’ सम्झौतामा हस्ताक्षर भएको छ। थाइल्याण्ड, बङ्गलादेश, भुटान, भारत, म्यान्मार र श्रीलङ्काका नेताहरूले पनि सम्मेलनमा सम्बोधन गरेका थिए।

 


Thali Mobile Pvt.Ltd.