कञ्चनपुर । कृष्णपुर नगरपालिका २ वनहराका ७० वर्षीय मुखिया राना एकाबिहानै साइकल चढेर बजार र गाउँ पुगेर फलामका औजारमा धार लगाउने कार्य गर्छन्। चालिस किलोमिटर साइकल चढेर दैनिकजसो गाउँ, शहरबजार पुगेर यो काम गर्नु उनको दिनचर्या नै हो।
यही कामबाट आफ्नो घरखर्च सहज रूपमा चल्दै आएको उनले बताए। साइकलको डण्डीमा जडान गरिएको धार लगाउने पत्थरमा चक्कु, खुकुरी, चुलेसी, कैँची, बञ्चरो, तरवारलाई घोटेर उनी धारिलो बनाउँछन्। तरकारी, मासु, काठ काट्ने फलामका औजारमा धार लगाएवापत रानाले दैनिक एक हजार जति आम्दानी हुने गरेको सुनाए।
‘बिहानको नास्ता गरेर घरबाट निस्किन्छु। साँझ अबेर मात्रै घर फर्कने गरेको छु। दिउँसोको खाना बजार क्षेत्रमै खाने गर्छु’, उनले भने। रानाले कहिलेकाही धनगढीदेखि महेन्द्रनगर बजारसम्म पुगेर यस्तो कार्य गर्ने गरेको बताए।
खाना खर्च कटाएर दैनिक ७०० जति बचत हुने गरेको उनी बताउँछन्। धार लगाउने कार्य रानाले २० वर्षकै उमेरदेखि गर्दै आएका हुन्। पहिले रानाले भारतमा यही काम गरेर घर खर्च चलाउने गरेको समेत बताए। स्वदेश फर्केर विवाह गरेपछि यसै कार्यलाई निरन्तरता दिएको र यसैबाट आउने आम्दानीबाट पाँच छोराछोरीको लालनपालन गरिरहेको रानाको भनाइ छ।
‘घरखर्च यसैबाट आएको कमाइले धानिँदै आएको छ। मुक्तकमैया पुनःस्थापना कार्यक्रमअन्तर्गत पाइएको घरबासको जग्गा मात्रै छ। अन्न, लुगाफाटो, औषधोपचार यसबाटै आएको कमाइले गरिरहेको छु’, उनले भने, ‘पछिल्लो समय त छोराले ज्यालामजदुरी गरेर सघाइरहेका छन्। हामी सबैको आम्दानी घर खर्चमै सकिन्छ।’
२०५८ सालमा श्रीमतीको देहावसान भएपछि आमाको भूमिकासहित आफैँले एकल अभिभावकत्व निर्वाह गर्नुपरेको रानाले बताए। ‘कमाइ गर्ने माध्यम थिएन, पर्याप्त अन्न फल्ने खेत पनि छैन, पहिलेदेखि नै सिकेको सिप भएकाले यसैलाई निरन्तरता दिँदै आएको छु’, उनी भन्छन्, ‘अहिले छोरा पनि कमाउने भएकाले केही सहज भएको छ। बुढेसकाल लागे पनि पहिलेदेखि नै काम गरिरहेकाले ग्राहकले पनि रुचाउने गरेका छन्। हतियारमा धार लगाएपछि पैसा दिन कसैले पनि कन्जुस्याइँ गर्दैनन्। बरु बुढेसकालमा पनि मेहनत गरेर खाने बड्डा भनेर थपेरै दिन्छन्।’
रानाले चक्कु, हसिया, चुलेसीलगायतमा धार लगाएवापत २०, खुकुरी र बञ्चरोको ५० र तरबारको १०० रुपैयाँ ज्याला लिने गरेका छन्। पहिले महिनाको ३० हजारसम्म पनि कमाइ हुने गरे पनि साइकल टाढासम्म चलाउन नसक्ने भएकाले १५ हजारदेखि २० हजारसम्म कमाई हुने गरेको उनले जानकारी दिए। ‘बसेरभन्दा गरेर खाँदाको आनन्द बेग्लै हुन्छ। छोरा बुहारीसँग हात फैलाएर माग्नु परेको छैन, बरु उनीहरूलाई सहयोग गर्छु’, रानाले भने। रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाका किसानले बाँझो जमिन उपयोग गरेर छ हजार केजी भन्दा बढी आलु उत्पादन गरेका छन् । आलुखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी...
कञ्चनपुर, २९ असार । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउपडी गोठमा सुतिरहेकी एक महिलाको सर्पदंशबाट ज्यान गएको छ। २८ वर्षीया कमला दमाईलाई गएराति करिब ८ बजेको समयमा करेत जातको विषालु...
काठमाडौँ, २९ असार । विभिन्न भागमा आज हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाण्डौ उपत्यकासहित देशका केही स्थानमा बिहानैदेखि घाम लागे पनि...
कपिलवस्तु, २९ असार । काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका छन्। दुर्घटनामा परेकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। जिल्ला ट्राफिक...