भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

हतियारमा धार लगाएर जीविकोपार्जन गर्छन् ७० वर्षीय मुखिया

हतियारमा धार लगाएर जीविकोपार्जन गर्छन् ७० वर्षीय मुखिया

कञ्चनपुर । कृष्णपुर नगरपालिका २ वनहराका ७० वर्षीय मुखिया राना एकाबिहानै साइकल चढेर बजार र गाउँ पुगेर फलामका औजारमा धार लगाउने कार्य गर्छन्। चालिस किलोमिटर साइकल चढेर दैनिकजसो गाउँ, शहरबजार पुगेर यो काम गर्नु उनको दिनचर्या नै हो।

यही कामबाट आफ्नो घरखर्च सहज रूपमा चल्दै आएको उनले बताए। साइकलको डण्डीमा जडान गरिएको धार लगाउने पत्थरमा चक्कु, खुकुरी, चुलेसी, कैँची, बञ्चरो, तरवारलाई घोटेर उनी धारिलो बनाउँछन्। तरकारी, मासु, काठ काट्ने फलामका औजारमा धार लगाएवापत रानाले दैनिक एक हजार जति आम्दानी हुने गरेको सुनाए।

‘बिहानको नास्ता गरेर घरबाट निस्किन्छु। साँझ अबेर मात्रै घर फर्कने गरेको छु। दिउँसोको खाना बजार क्षेत्रमै खाने गर्छु’, उनले भने। रानाले कहिलेकाही धनगढीदेखि महेन्द्रनगर बजारसम्म पुगेर यस्तो कार्य गर्ने गरेको बताए।

खाना खर्च कटाएर दैनिक ७०० जति बचत हुने गरेको उनी बताउँछन्। धार लगाउने कार्य रानाले २० वर्षकै उमेरदेखि गर्दै आएका हुन्। पहिले रानाले भारतमा यही काम गरेर घर खर्च चलाउने गरेको समेत बताए। स्वदेश फर्केर विवाह गरेपछि यसै कार्यलाई निरन्तरता दिएको र यसैबाट आउने आम्दानीबाट पाँच छोराछोरीको लालनपालन गरिरहेको रानाको भनाइ छ।

‘घरखर्च यसैबाट आएको कमाइले धानिँदै आएको छ। मुक्तकमैया पुनःस्थापना कार्यक्रमअन्तर्गत पाइएको घरबासको जग्गा मात्रै छ। अन्न, लुगाफाटो, औषधोपचार यसबाटै आएको कमाइले गरिरहेको छु’, उनले भने, ‘पछिल्लो समय त छोराले ज्यालामजदुरी गरेर सघाइरहेका छन्। हामी सबैको आम्दानी घर खर्चमै सकिन्छ।’

२०५८ सालमा श्रीमतीको देहावसान भएपछि आमाको भूमिकासहित आफैँले एकल अभिभावकत्व निर्वाह गर्नुपरेको रानाले बताए। ‘कमाइ गर्ने माध्यम थिएन, पर्याप्त अन्न फल्ने खेत पनि छैन, पहिलेदेखि नै सिकेको सिप भएकाले यसैलाई निरन्तरता दिँदै आएको छु’, उनी भन्छन्, ‘अहिले छोरा पनि कमाउने भएकाले केही सहज भएको छ। बुढेसकाल लागे पनि पहिलेदेखि नै काम गरिरहेकाले ग्राहकले पनि रुचाउने गरेका छन्। हतियारमा धार लगाएपछि पैसा दिन कसैले पनि कन्जुस्याइँ गर्दैनन्। बरु बुढेसकालमा पनि मेहनत गरेर खाने बड्डा भनेर थपेरै दिन्छन्।’

रानाले चक्कु, हसिया, चुलेसीलगायतमा धार लगाएवापत २०, खुकुरी र बञ्चरोको ५० र तरबारको १०० रुपैयाँ ज्याला लिने गरेका छन्। पहिले महिनाको ३० हजारसम्म पनि कमाइ हुने गरे पनि साइकल टाढासम्म चलाउन नसक्ने भएकाले १५ हजारदेखि २० हजारसम्म कमाई हुने गरेको उनले जानकारी दिए। ‘बसेरभन्दा गरेर खाँदाको आनन्द बेग्लै हुन्छ। छोरा बुहारीसँग हात फैलाएर माग्नु परेको छैन, बरु उनीहरूलाई सहयोग गर्छु’, रानाले भने। रासस

 


Thali Mobile Pvt.Ltd.