होर्मुज जलडमरूमध्य खोल्न इरान–ओमान सहमति नजिक, तेहरानले राख्यो अमेरिकासामु कडा शर्त

होर्मुज जलडमरूमध्य खोल्न इरान–ओमान सहमति नजिक, तेहरानले राख्यो अमेरिकासामु कडा शर्त

एजेन्सी। विश्वको सबैभन्दा महत्वपूर्ण ऊर्जा तथा व्यापारिक जलमार्गमध्ये एक मानिने होर्मुज जलडमरूमध्य हुँदै पानीजहाज आवतजावत सहज बनाउने विषयमा इरान र ओमान सहमतिको नजिक पुगेका छन्। तर होर्मुज जलमार्ग पूर्ण रूपमा खोल्न ओमानसँगको सहमति मात्र पर्याप्त नहुने इरानले स्पष्ट पारेको छ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले इरान र ओमान होर्मुज हुँदै नयाँ पानीजहाज मार्ग सञ्चालन गर्ने विषयमा सहमतिनजिक पुगेको बताएका छन्। यद्यपि जलडमरूमध्य पुनः पूर्ण रूपमा खोल्न अमेरिकाले इरानलाई क्षतिपूर्ति दिनुपर्ने लगायतका अन्य शर्त पूरा हुनुपर्ने उनको भनाइ छ।

इरानको शीर्ष राष्ट्रिय सुरक्षा निकायका सचिव मोहम्मद बाकेर जोल्काद्रले अमेरिकाले इरानविरुद्धका धम्की अन्त्य गर्नुपर्ने तथा इरान र उसका लेबनानी, प्यालेस्टिनी, यमनी र इराकी सहयोगीमाथिको आक्रमण रोक्नुपर्ने माग गरेका छन्। त्यसैगरी इरानमाथि लगाइएका नाकाबन्दी तथा प्रतिबन्ध हटाउनुपर्ने र रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने मागसमेत तेहरानले अघि सारेको छ।

ओमानको विदेश मन्त्रालयले भने होर्मुज हुँदै पानीजहाज आवतजावतको व्यवस्थाबारे इरानसँग भइरहेको वार्ता ‘सकारात्मक र रचनात्मक’ रहेको जनाएको छ। वार्ताबाट भइरहेको प्रगतिमा असर पार्ने कुनै पनि गतिविधि नगर्न ओमानले सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

अराघचीका अनुसार यसअघि होर्मुजमा लागू रहेको जहाज आवतजावतसम्बन्धी विभाजन प्रणाली अब इरानलाई स्वीकार्य छैन। स्थायी मार्गसम्बन्धी प्राविधिक तथा कानूनी विषय टुंगो नलागेसम्म इरान र ओमानबीच अस्थायी मार्ग सञ्चालनबारे छलफल भइरहेको छ। इरानी राष्ट्रपति मसुद पेजेस्कियानले पनि अहिले सम्झौता गर्ने उपयुक्त समय भएको बताएका छन्। उनले इरान युद्धमा ‘विजयी र शक्तिशाली’ रहेको दाबी गरेका छन्।

होर्मुजमा फेरि पानीजहाजमाथि आक्रमण

यसैबीच संयुक्त अरब इमिरेट्स (यूएई)ले इरानले आफ्नो सरकारी तेल कम्पनीसँग सम्बन्धित एउटा पानीजहाजमाथि होर्मुज जलडमरूमध्यमा क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ। घटनामा मानवीय क्षति नभएको बताइएको छ। बेलायतको समुद्री व्यापार निगरानी निकाय यूकेएमटीओका अनुसार अर्को एउटा पानीजहाज पनि अज्ञात प्रक्षेपास्त्रको प्रहारपछि आगलागीमा परेको थियो।

आगो नियन्त्रणमा लिइएको र वातावरणीय क्षति नभएको जनाइएको छ। इरानले भने यी घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन।युद्ध सुरु हुनुअघि विश्वको कुल तेल तथा ग्यास ढुवानीको करिब पाँचौँ हिस्सा होर्मुज जलडमरूमध्य हुँदै हुने गरेको थियो। पछिल्ला महिनामा यस क्षेत्रमा बढेको तनावले विश्वव्यापी ऊर्जा आपूर्तिमा असर पार्नुका साथै तेलको मूल्य र मुद्रास्फीतिमा समेत दबाब बढाएको छ।

अमेरिकी अधिकारीहरूले इरान र ओमानबीच चाँडै सहमति भएर सामान्य तेल ढुवानी पुनः सुरु हुने अपेक्षा गरेका छन्। व्यापारिक जहाज आवतजावतमा अवरोध हटाउने सम्झौता कार्यान्वयनमा आए इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउने संकेतसमेत अमेरिकाले दिएको छ।

तर इरानको रिभोलुसनरी गार्ड्सले होर्मुज पुनः खोल्ने विषय इरान–ओमान वार्ताभन्दा पनि अमेरिकाले तेहरानका सबै शर्त स्वीकार गरे वा नगरेसँग सम्बन्धित रहेको जनाएको छ। रिभोलुसनरी गार्ड्सका प्रवक्ता हुसेन मोहेब्बीले अमेरिकाले इरानका शर्त स्वीकार गरेपछि मात्रै होर्मुज जलडमरूमध्य खोलिने बताएका छन्।

 


Thali Mobile Pvt.Ltd.