भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

टोखाको चाकू बजारमा चहलपहल: यसवर्ष पाँच करोडभन्दा बढीको कारोबार

टोखाको चाकू बजारमा चहलपहल: यसवर्ष पाँच करोडभन्दा बढीको कारोबार

मुख्य बुँदा

टोखाबाट यस वर्ष पाँच करोडभन्दा बढीको चाकू कारोबार

माघे सङ्क्रान्तिको बेला चाकूको माग अत्यधिक

टोखामा १८ उद्योग सञ्चालनमा, १० ले चाकू उत्पादन

टोखाको चाकूले देशको करिब ६०% माग पूर्ति

जापान, अमेरिका, अष्ट्रेलियासम्म निर्यात

सादा चाकू प्रतिकिलो १४० र मसला चाकू १५० रुपैयाँ

उखुखेती घटे पनि परम्परागत उद्योग जीवित

नगरपालिकाले चाकू स्तम्भ निर्माणको तयारी

काठमाडौँ, १ माघ । टोखाबाट यस वर्ष पाँच करोड रुपैयाँभन्दा बढी मूल्यको चाकू बिक्री भएको छ। माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा टोखाका चाकू व्यवसायीहरूलाई चाकू बेच्न भ्याइनभ्याइ छ। परम्परागत रूपमा माघ १ गते चाकू खाने चलन रहेकाले यो समयमा माग अत्यधिक बढ्ने गर्दछ।

हाल टोखामा १८ वटा उद्योग सञ्चालनमा छन्। तीमध्ये १० उद्योगले चाकू उत्पादन गर्दै आएका छन् भने बाँकी ८ उद्योगले तिलको लड्डु, भूजाको लड्डुलगायत परिकार उत्पादन गरिरहेका छन्। टोखा नगरपालिका–२ र ३ क्षेत्रमा मुख्य रूपमा चाकू उत्पादन हुँदै आएको छ, जुन टोखाको पुरानो बजारसमेत हो। यही बजारकै नामबाट नगरपालिकाको नाम ‘टोखा’ राखिएको बताइन्छ।

टोखामा उत्पादन भएको चाकू काठमाडौँ उपत्यकाका असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुरका साथै उपत्यकाबाहिर नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायत सहरमा बिक्रीका लागि पुर्‍याइन्छ। टोखामा उत्पादित चाकूले नेपालको करिब ६० प्रतिशतभन्दा बढी माग पूर्ति गर्ने गरिएको छ।

टोखा परम्परागत चाकू संरक्षण समाजका संस्थापक अध्यक्ष कृष्णबहादुर श्रेष्ठका अनुसार टोखामा उत्पादित चाकू नेपालसँगै जापान, अमेरिका र अष्ट्रेलियालगायत देशहरूमा पनि पुग्ने गरेको छ। टोखामा वार्षिक रूपमा करिब पाँच लाख किलो चाकू र लड्डु उत्पादन हुँदै आएको छ। नेवारी भाषामा ‘टु’ को अर्थ उखु र ‘ख्यः’ को अर्थ फल्ने ठाउँ भएकाले टोखा उखुखेती हुने ठाउँका रूपमा चिनिन्थ्यो।

यहाँ सादा चाकू, मसला चाकू, स्पेशल चाकू, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भूजा लड्डु, बदाम लड्डुलगायत उत्पादन हुन्छन्। टोखा परम्परागत चाकू संरक्षण समाजका अध्यक्ष बुद्ध श्रेष्ठका अनुसार चाकू र उखुबाट बन्ने परिकार बिक्रीबाट टोखाका उद्योगहरूले वार्षिक रूपमा करोडौँ रुपैयाँ आम्दानी गर्दै आएका छन्। कृष्ण चाकू उद्योग, काशीलाल चाकू उद्योग र न्हुछे चाकू एण्ड तिरौला उद्योग यहाँका ठूला उद्योग हुन्।

चाकू बनाउन कपिलवस्तुको कृष्णनगरस्थित चन्द्रौटामा रहेको वन्त गुण उद्योगबाट सख्खर ल्याइने गरिएको छ। पहिल्यै समयमा टोखामा उखु खेती हुने भए पनि बढ्दो सहरीकरणसँगै यहाँको उखुखेती मासिँदै गएको छ।

यहाँ उत्पादित सादा चाकूको मूल्य प्रतिकिलो १४० रुपैयाँ, मसला चाकू १५० रुपैयाँ, सेतो तिलको लड्डु २३० रुपैयाँ र कालो तिलको लड्डु २५० रुपैयाँ निर्धारण गरिएको छ। टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाको ऐतिहासिक पहिचान जोगाउन चाकू स्तम्भ निर्माणका लागि नगरपालिकाले काम गरिरहेको जानकारी दिए।

नेवारी संस्कृतिमा माघ १ गते चाकू खानैपर्ने परम्परा छ। साथै काजक्रियाका बेला तथा चिसो मौसममा चाकू खाने चलन पनि रहेको छ। चाकूले शरीरलाई शक्ति दिने, रोगसँग लड्ने क्षमता बढाउने तथा जाडो महिनामा बालबालिकादेखि वृद्धसम्मका लागि लाभदायक हुने विश्वास गरिन्छ। माघे सङ्क्रान्तिमा चाकूसँगै सख्खर, तरुललगायत परिकार खाने परम्परा पनि रहिआएको छ।

 


Thali Mobile Pvt.Ltd.