हुम्ला–बाजुरा सीमा घटनामा गृह मन्त्रालय सक्रिय, एसएसपी नेतृत्वमा छानबिन टोली गठन

हुम्ला–बाजुरा सीमा घटनामा गृह मन्त्रालय सक्रिय, एसएसपी नेतृत्वमा छानबिन टोली गठन

मुख्य बुँदा

हुम्ला–बाजुरा सीमा घटनाबारे छानबिन टोली गठन

एसएसपीको संयोजकत्वमा टोली घटनास्थल पठाइने

नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष टोली परिचालन

सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन

दीर्घकालीन समाधानका लागि समन्वय बैठक जारी

काठमाडौँ, १० जेठ । हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को संयोजकत्वमा छानबिन टोली गठन गरेको छ।

गृह मन्त्रालयका सचिवको संयोजकत्वमा रक्षा सचिवसहित सबै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थितिमा आइतबार बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो। मन्त्रालयले गठन गरिएको टोलीलाई तत्काल घटनास्थल पुगेर आवश्यक अनुसन्धान गरी शीघ्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ गृह मन्त्रालय सक्रिय बनेको तथा हुम्ला र बाजुरा दुवै जिल्लाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका विशेष सुरक्षा टोली घटनास्थलमा परिचालन गरिएको मन्त्रालयले जनाएको छ।

सीमा क्षेत्रमा नागरिकको सुरक्षा सुनिश्चित गर्न र शान्ति सुव्यवस्था कायम राख्न जिल्ला सुरक्षा समितिहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ। भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुरक्षा रणनीति कार्यान्वयन गर्नसमेत मन्त्रालयले सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

स्थिति नियन्त्रण तथा दीर्घकालीन शान्ति स्थापनाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका थप सुरक्षाकर्मी परिचालन गर्नसमेत गृह मन्त्रालयले निर्देशन दिएको जनाएको छ।

विवादको स्थायी समाधान तथा समन्वयका लागि मन्त्रालयले जनप्रतिनिधि र सरोकारवाला निकायहरूसँग निरन्तर समन्वयात्मक बैठक गर्दै आवश्यक पहल अगाडि बढाइरहेको जनाएको छ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले सीमा क्षेत्रका नागरिकलाई संयमता अपनाउन आग्रह गर्दै नागरिकको जीउधनको सुरक्षा र शान्ति कायम राख्न मन्त्रालय पूर्ण प्रतिबद्ध रहेको बताएका छन्।

 


Thali Mobile Pvt.Ltd.