एजेन्सी । इरानमा जारी अमेरिकी सैन्य अभियान अझै केही समय जारी रहने संकेत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका छन् । उनले युद्ध चाँडै समाप्त हुन सक्ने सम्भावना भए पनि यो हप्ता नै अभियान रोकिने अवस्था नरहेको बताएका हुन् ।
ट्रम्पका अनुसार इरानको सैन्य शक्ति धेरै हदसम्म कमजोर भइसकेको छ । उनले इरानसँग रहेको अधिकांश सैन्य क्षमता समाप्त भइसकेको र नेतृत्वसमेत कमजोर अवस्थामा पुगेको दाबी गरेका छन् । गत फेब्रुअरीको अन्त्यतिर अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि आक्रमण गरेपछि मध्यपूर्व क्षेत्रमा तनाव झन् बढेको छ । उक्त घटनापछि क्षेत्रीय सुरक्षाबारे अन्तर्राष्ट्रिय चासो पनि बढ्दै गएको छ ।
यसबीच ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमार्फत कुराकानी गरेको जानकारी दिएका छन् । कुराकानीका क्रममा मध्यपूर्वको अवस्थाबारे छलफल भएको र पुटिनले सहयोग गर्न इच्छा व्यक्त गरेको उनले बताएका छन् । ट्रम्पले पुटिनलाई रुस–युक्रेन युद्ध अन्त्य गराउन सहयोग गर्न आग्रहसमेत गरेका थिए । उनका अनुसार युक्रेन युद्ध लामो समयदेखि जारी रहेकाले यसको समाधान खोज्नु महत्त्वपूर्ण हुने बताएका छन् ।
यसैबीच अमेरिकी र इजरायली आक्रमणका क्रममा इरानका सर्वोच्च नेता अली खामेनी मारिएपछि उनको स्थानमा उनका छोरा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेता चयन गरिएको बताइएको छ ।
नयाँ नेतृत्वप्रति प्रतिक्रिया दिँदै ट्रम्पले मोज्तबा खामेनीलाई धेरै मानिसहरूले राम्रोसँग नचिनेको बताएका छन् । उनले उक्त निर्णयप्रति आफू सन्तुष्ट नरहेको पनि उल्लेख गरेका छन् ।