भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

नवलपुरको दाउन्ने देवी मन्दिर बन्दै धार्मिक पर्यटनको आकर्षक केन्द्र

नवलपुरको दाउन्ने देवी मन्दिर बन्दै धार्मिक पर्यटनको आकर्षक केन्द्र

नवलपरासी, २६ फागुन । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बिनयी त्रिवेणी गाउँपालिका–२ मा अवस्थित दाउन्ने देवी मन्दिर पछिल्लो समय धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । पूर्व–पश्चिम राजमार्ग नजिकै दाउन्ने डाँडाको चुचुरोमा रहेको यस मन्दिरमा पछिल्लो समय दर्शनार्थीको संख्या बढ्दै गएको छ ।

समुद्री सतहबाट करिब तीन हजार ३०० फिट उचाइमा रहेको मन्दिर पुग्न दाउन्ने बजारबाट करिब आधा घण्टाको उकालो यात्रा गर्नुपर्छ । यहाँ पूजा–आराधना गर्दा मनोकामना पूरा हुने विश्वासका कारण देशका विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् । भारतीय सीमा नजिक भएकाले भारतबाट पनि दर्शनार्थी आउने गरेका छन् ।

स्थानीयका अनुसार पाल्पाका राजा मणिमुकुन्द सेनको पालादेखि यस क्षेत्रको धार्मिक महत्त्व रहँदै आएको जनश्रुति छ । यही कारणले दाउन्ने देवी मन्दिरलाई ऐतिहासिक धार्मिकस्थलका रूपमा पनि चिनिन्छ ।

विशेषगरी दशैं, चैते दशैं र सरस्वती पूजाका अवसरमा यहाँ ठूलो मेला लाग्ने गर्दछ । मन्दिरलाई शक्तिपीठका रूपमा पूजाआराधना गरिने भएकाले विवाह, व्रतबन्धलगायतका धार्मिक कार्यका लागि पनि मानिसहरू यहाँ आउने गर्छन् ।

मन्दिर आसपास क्षेत्रमा लक्ष्मीनारायण मन्दिर, शिवालय, गायत्री मन्दिर र गुम्बालगायत धार्मिक स्थलहरू पनि रहेका छन् । मन्दिर व्यवस्थापन समितिले गौशालासमेत सञ्चालन गर्दै आएको जनाएको छ । सार्वजनिक बिदाका दिन तथा दसैंको समयमा यहाँ भक्तजनको ठूलो भीड लाग्ने गरेको समितिले जानकारी दिएको छ ।

प्राकृतिक रूपमा सुन्दर स्थान भएकाले धार्मिक यात्रासँगै घुमफिरका लागि पनि मानिसहरू यहाँ आउने गरेका छन् । गण्डकी प्रदेश सरकारले सार्वजनिक गरेको प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरूमा दाउन्ने देवी मन्दिरलाई पनि समावेश गरिएको छ ।

हाल मन्दिर व्यवस्थापन समितिले ज्येष्ठ नागरिक र अशक्त व्यक्तिलाई सहज रूपमा मन्दिर पुग्न सक्ने व्यवस्था मिलाउन नयाँ मार्ग खोल्ने काम सुरु गरेको छ । यातायातका साधन मन्दिरसम्म पुग्ने गरी सडक स्तरोन्नति गर्न राज्यबाट सहयोग आवश्यक रहेको समितिले जनाएको छ ।

दाउन्ने डाँडाबाट सुन्दर प्राकृतिक दृश्यावलोकन गर्न सकिने भएकाले यो क्षेत्र धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको स्थानीयको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.