भर्खरै : Sorry, your browser does not support inline SVG.

वायु प्रदूषणः काठमाडौँका अस्पतालमा बिरामीको भीड

वायु प्रदूषणः काठमाडौँका अस्पतालमा बिरामीको भीड

काठमाडौँ, २२ चैत । काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर खतरनाक तहमा पुगेसँगै यहाँका अस्पतालहरूमा बिरामीको चाप दिन प्रतिदिन बढ्दो छ। पछिल्लो केही सातायता डढेलो, सवारी साधनको धुवाँ, निर्माण कार्यबाट निस्कने धुलो र फोहरमैलाको असरले उपत्यकाको हावा अस्वस्थकर बन्दै गएको छ।

त्रिवि शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा. नीरज बमका अनुसार प्रदूषण बढेसँगै श्वासप्रश्वाससम्बन्धी समस्या लिएर आउने बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ। “हाम्रो ओपिडीमा छातीका बिरामीका लागि हप्तामा तीन दिन २५० टोकन वितरण हुन्छ, तर अहिले यो सङ्ख्या ३०० नाघेको छ। वार्ड र आकस्मिक कक्ष भरिएका छन्। हाल ८० जना बिरामी आइसियु र भेन्टिलेटरमा छन्,” डा. बमले बताए। उनका अनुसार सुख्खा खोकी, घाँटी चिलाउने, आँखा पोल्ने, टाउको दुख्ने र थकानजस्ता लक्षण लिएर बिरामीहरू आउने गरेका छन्।

डा. बमले भने, “यो प्रदूषित हावाले फोक्सोमा गम्भीर समस्या निम्त्याउँछ। पछिल्लो एक दशकमा बढेको प्रदूषणले नेपालीहरूको औसत आयु घट्ने जोखिम बढेको छ।” उनले थपे, “हाल युवायुवतीमा समेत निमोनियाको समस्या देखिएको छ। धूम्रपान नगर्नेमा पनि चुरोट खानेलाई जस्तै असर देखिन थालेको छ, जुन काठमाडौँको प्रदूषणको खतरनाक स्तरको सङ्केत हो।”

यता राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मार्चको अन्तिम सातादेखि अप्रिलको पहिलो सातासम्म काठमाडौँको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) निकै अस्वस्थ (२०१–३००) देखि खतरनाक (३०१ भन्दा माथि) तहमा पुगेको छ। एक्यूआई ०–५० लाई राम्रो, ५१–१०० लाई मध्यम, १५१–२०० लाई अस्वस्थ र ३०१ भन्दा माथिलाई खतरनाक मानिन्छ।

कचौरा आकारको काठमाडौँ उपत्यकामा हावा कम चल्दा र पानी नपर्दा प्रदूषण थुप्रिएर बस्ने गर्छ। विज्ञहरूका अनुसार नियमित वर्षा र हावाको बहाव नहुँदा धुवाँ र धुलोको कण उपत्यकामै जमेर वायु गुणस्तर खस्किएको हो।

अस्पतालहरूमा बिरामीको चाप बढेसँगै गम्भीर अवस्थाका बिरामीलाई मात्र भर्ना लिने र सामान्य लक्षण भएकालाई औषधि दिएर फलोअपमा बोलाउने रणनीति अस्पतालहरू अपनाएका छन्। “हामीसँग ठाउँ र स्रोत सीमित छ, त्यसैले प्राथमिकतामा गम्भीर बिरामीलाई राख्नुपरेको छ,” डा. बमले भने।

विज्ञहरूले वायु प्रदूषण घटाउन दीर्घकालीन उपायहरू जस्तै सवारी उत्सर्जन नियन्त्रण, हरियाली बढाउने र फोहर व्यवस्थापनमा जोड दिन सुझाव दिएका छन्। नागरिक स्तरमा पनि सचेतना र सहभागिता आवश्यक रहेको उनीहरूको भनाइ छ। काठमाडौँको यो प्रदूषण संकटले स्वास्थ्य क्षेत्रमा ठूलो चुनौती थपेको छ। तत्काल राहतका लागि मौसमको साथ र दीर्घकालीन समाधानका लागि नीतिगत पहल अपरिहार्य देखिएको छ।

 


Thali Mobile Pvt.Ltd.