देशका विभिन्न स्थानमा आगलागीबाट करोडौंको क्षति, १६ घरगोठ जलेर नष्ट, दुई जनाको मृत्यु

देशका विभिन्न स्थानमा आगलागीबाट करोडौंको क्षति, १६ घरगोठ जलेर नष्ट, दुई जनाको मृत्यु image

काठमाडौं । पछिल्लो समय आगलागीका घटनामा बृद्धि भएका छन् । देशका विभिन्न स्थानमा आगलागीका घटनाबृद्धि भएसंगै मानवीय र भौतिक क्षति बढी हुने गरेको छ ।

पाल्पामा आगलागीबाट १६ वटा घरगोठ जलेका छन् । पूर्वखोला गाउँपालिका – ६, हेक्लाङीको बाँसडाँडा, रेडी र खुमडाँडामा गरी १६ घरगोठ जलेर नष्ट भएको हो । बुधबार दिउँसो वनमा लागेको आगो बेलुकीपख गाउँमा पस्दा घरहरू जलेका हुन् । आगलागीबाट घरमा भएका अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, गरगहना, पैसा सबै जलेका छन् ।

त्यसैगरी धादिङको थाक्रे गाउँपालिका–५ गैरीखर्कस्थित घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ। आगलागीबाट स्थानीय ७४ वर्षका तेजबहादुर लामा र ७४ वर्षकै श्रीमती ठूली लामाको जलेर मृत्यु भएको हो ।

तीन छोरा र तीन छोरी रहेका तामाङ दम्पतीमात्रै घरमा बस्थे। लमजुङमा रहेका दुई छोरा र काठमाडौंमा रहेका अर्का छोरा घटनास्थल पुगेका छन्। उनीहरुको घरमा मकै पिस्ने विद्युतीय घट्ट रहेको र राति विद्युत् सर्ट भई आगलागी भएको अनुमान गरिएको छ। आगलागीबाट घर पूर्ण रूपमा जलेको छ।

पोखराको चाउथेस्थित एक बिजुली पसलको गोदाममा आगलागी भएको छ । बुधबार राति आगलागी हुँदा १ करोड हाराहारीको क्षति भएको छ । साङ्ग्रिला सप्लायर्स बिजुली पसलको गोदाममा आगलागी भएको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी, सशस्त्र प्रहरीसँगै स्थानीय र दमकलले आगो नियन्त्रणमा लिएका छन् । आधा घण्टामा आगो नियन्त्रणमा आए पनि क्षति भने बढी भएको सञ्चालक ध्रुव मरासिनीको दाबी छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda