भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी |

म्याग्दीमा ऊनबाट बनेका कपडा लगाउनु पर्ने अभियान

म्याग्दीमा ऊनबाट बनेका कपडा लगाउनु पर्ने अभियान

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीका छन्त्याल समुदाय आफ्नो वेशभूषा, संस्कृति र परम्पराको संरक्षणमा जुटेका छन् । परम्परागत रुपमा भेडाको ऊनबाट बनाउने हाब्दुल, काम्लो, स्विटर, टोपीलगायतका मौलिक पोसाक लोपोन्मुख अवस्थामा पुगेपछि ती समुदाय संरक्षणमा लागेका हुन् ।

पुर्खाले भेडापालन गर्ने र भेडाको ऊनबाट कपडा बनाउने पेसा अँगालेकामा पछिल्लो समय ऊनबाट बनेका कपडा हराएर जान थालेपछि गाउँमा सबैले ऊनका कपडा लगाउने अभियान चलाएको स्थानीय यामबहादुर छन्त्यालले बताए । “परम्परागत भेडा बाख्रापालनलाई हामीले निरन्तरता दिँदै आएका छौँ, तर भेडाबाख्राको ऊनबाट बनाइने हाब्दुलो, काम्लोलगायत लोप हुन लागेका छन्, हामीले पुख्र्यौलीलाई नमासौँ भनेर अग्रसरता दिएका हौँ”, उनले भने ।

भेडाबाख्रा पाल्दै आएका छन्त्यालले गाउँमा अहिले ऊनबाट बनेका कपडा लगाउने लहर नै चलेको बताए । घरायसी काम, गोठ बस्दा र सार्वजनिक कार्यक्रममा ऊनबाट बुनेर बनाइएका हाम्दुलोको प्रयोग हुने थालेको छ । भेडाबाख्राको ऊन खेर जान नदिन र ऊनबाट कपडा बुन्ने पेसा हराएर जान नदिन युवाको अग्रसरतामा परम्परागत पोसाक बनाउने र लगाउन थालिएको छ ।

ठाडाखानीमा अहिले पनि भेडा बाख्रापालन हुँदै आएको छ । यहाँका स्थानीयले करिब एक हजार ५०० को हाराहारीमा भेडाबाख्रा पालेका छन् । भेडाबाख्राको ऊन काढेर उनलाई प्रशोधन गरेर धागो बनाएपछि तानमा बुनेर कपडा बनाउने गरिन्छ । ऊनबाट कपडा बनाउने पेसा सङ्कटमा पर्दै गएपछि यहाँका स्थानीयले अभियानकै रुपमा ऊनका कपडा लगाउन थालेका हुन् । ऊनबाट बनेका कपडा न्यानो हुने र धेरै वर्ष टिकाउ हुने भएकाले गोठमा बस्नेले अधिक मात्रामा प्रयोग गर्ने चलन रहेको छ ।

भेडाबाख्राको ऊनलाई प्रशोधन गरेर चर्खाबाट धागो बनाई, तानमा बुनेर हाब्दुल, काम्लो, टोपी, स्विटरलगायतका सामान बनाउने गरिन्छ । परम्परागत पोसाक सँगसँगै पुख्र्यौली पेसाको रुपमा रहेको खानी खन्ने र घरायसी काममा प्रयोग गरिने कोर्को, डोको थुन्सेलगायतका सामानलाई समेत जर्गेना गर्न थालिएको स्थानीय जीतबहादुर छन्त्यालले बताए। पुर्खाले सिर्जना गरेका पहिचानलाई जोगाएर नयाँ पुस्तामा हस्तान्तरण गर्नका लागि पनि स्थानीयले अग्रसरता देखाएको उनको भनाइ छ ।

ती समुदायको बाहुल्य बसोबास रहेको ठाडाखानीका बासिन्दाले वेशभूषा, पेसा र सीपसँगै भाषा, संस्कृतिलाई समेत जगेर्ना गरेका छन् । स्थानीयस्तरमा छन्त्याल खाम भाषालाई बोलीचालीको प्रचलनमा ल्याएका छन् भने पुख्र्यौली सोरठी, मादले मारुनीलगायतका नाचलाई समेत जीवन्त राखेका छन् । गाउँमा हुने सार्वजनिक कार्यक्रम र बाहिरबाट आउने अतिथिको स्वागतमा मौलिक पुख्र्यौली नाचले स्वागत गर्ने गरिएको रघुगङ्गा गाउँपालिका–६ का वडा सदस्य टेकजित छन्त्यालले बताए ।

“पुख्र्यौली र परम्परालाई मासिन नदिन हामीले अग्रसरता लिएका छौँ, युवापुस्ता समेत आफ्ना पुर्खाका कला, संस्कृति, परम्परा र पेसाको जगेर्ना गर्न लागिपरेका छन, यसले छन्त्याल समुदायको कला, संस्कृति र जनजीवनलाई नयाँ पुस्तामा सीप र संस्कार हस्तान्तरणमा सहयोग पुग्ने हामीले विश्वास लिएका छौँ”, वडासदस्य छन्त्यालले भने । वडा कार्यालयले समेत मौलिक वेशभूष, कला संस्कृति र परम्पराको जगेर्ना गर्न स्थानीय आमा समूहलाई पोसाक उपलब्ध गराएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.