काठमाडौँ । सोमबार कान्तिपुरमा नागढुंगा सुरुङ मार्गको काम रोकिएकोदेखि नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षकमा म्याट रस नियुक्त भएकोसम्मका समाचार प्रकाशित भएका छन् । स्थानीय बासिन्दाले धादिङ र काठमाडौं दुवैतर्फ निर्माणमा अवरोध गरेपछि काम रोकिएको हो । धादिङको सिस्नेखोलातर्फ निर्माणाधीन रोड साइड सर्भिस स्टेसन नजिकै रहेका केही घर चर्किएको भन्दै स्थानीयले क्षतिपूर्तिको माग राखेर काममा अवरोध गरेका हुन् । काठमाडौंको चन्द्रागिरिस्थित टुटीपाखा र धादिङको धुनीबेँसी नगरपालिकास्थित सिस्ने खोला दुवैतिर काम रोकिएको छ ।
त्यस्तै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई वामपन्थी दलहरूलाई एकताबद्ध गर्न सुझाव दिएकी छिन् । सोमबार ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले यसअघि पनि कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन प्रधानमन्त्री ओलीले भूमिका खेलेको र आगामी दिनमा पनि त्यसमा लाग्न सुझाएकी हुन् ।
त्यसैगरी पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । शरीरमा असहज महसुस भएपछि आइतबार बेलुका उनलाई नर्भिक अन्तर्राष्ट्रिय अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा उनलाई हृदयघात भएको यकिन भएपछि हिजो बेलुकै एन्जियोप्लास्टीु गरिएको अस्पतालका एक चिकित्सकले बताए ।
त्यस्तै युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसले युक्रेनविरुद्ध हवाई आतंक जारी राखेको आरोप लगाएका छन् । युक्रेनले शान्ति चाहेको तर रुस युद्ध जारी गर्ने पक्षमा रहेको जेलेन्स्कीको भनाइ छ । ‘युक्रेन एक सामान्य र सुरक्षित जीवनका लागि लडिरहेको छ,’ जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी यो युद्ध समाप्त होस् भन्ने चाहन्छौं । तर रुसले हवाई आतंक जारी राखेको छ ।’ रुसले शान्ति नचाहेको र युक्रेनमाथि आक्रमण जारी राखेको जेलेन्स्कीको भनाइ छ ।
त्यस्तै नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी अस्ट्रेलियन प्रशिक्षक म्याट रसलाई दिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पत्रकार सम्मेलन गरी रसलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको जानकारी दिएको हो । एन्फाले आइतबारदेखि लागू हुनेगरी रसलाई एक वर्षका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।कान्तिपुर…
