एजेन्डा र प्रतिबद्धताले आकर्षित गर्न नसकेपछि निर्वाचनमा मधेसका प्रभावशाली नेताहरू चिन्तित

एजेन्डा र प्रतिबद्धताले आकर्षित गर्न नसकेपछि निर्वाचनमा मधेसका प्रभावशाली नेताहरू चिन्तित

राजविराज । एजेन्डा र प्रतिबद्धताले आकर्षित गर्न नसकेपछि निर्वाचनमा मधेसका प्रभावशाली नेताहरू चिन्तित बनेका छन् । महिन्द्र राय यादव–राजेन्द्र महतो, अनिल झा–जुली महतो, अमरेश सिंह–नागेन्द्र कुमार–मधुमालाकुमारी यादव, लक्ष्मणलाल कर्ण–प्रदीप यादव–अजय द्विवेदीबीच यतिखेर कठोर संघर्ष चलेको छ । जनताको धेरै चासो सप्तरी–२ मा छ ।

यहाँ जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपाका जयप्रकाश ठाकुरसँग जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउत प्रतिस्पर्धामा उत्रिएका छन् । जसपा अध्यक्ष यादव दबाबमा छन् । निर्वाचन क्षेत्र नछाड्न कार्यकर्ताले आग्रह गरिरहेका छन् । यसबीचमा उनी एक दिन घोषणापत्र जारी गर्न काठमाडौं गए । अर्को एक दिन सिरहा ।

प्रतिनिधिसभाका ८१ र प्रदेशसभाका १४५ क्षेत्रमा उम्मेदवार उठाएको सो पार्टीले उनीहरूको अवस्था बुझ्न, हौसला दिन र प्रचार गरिदिनसमेत उपेन्द्र यादव गएनन् । २०६४ बाट राजनीतिक रूपमा उदाएका यादवको दलले चुनावअघि हुने मधेस आन्दोलनको रापतापबाट माहोल बनाउँदै आएको थियो ।

२०६३ र २०७२ मा दुवैपटक संविधान जलाएर आन्दोलन गरेपछि २०६४ र २०७४ मा उनको दलले प्रभावशाली जित हासिल गरेको थियो । तर, ठूलो मुद्दाबिना २०७० मा चुनावमा जाँदा परिणाम निराशाजनक भएपछि धाँधली भयो भनेर विरोध गर्नेमा माओवादीसँगै मधेसी दल पनि थिए । यसपालि पनि उभार ल्याउने कुनै एजेन्डा नभएकाले अरू मधेसी नेताजस्तै उपेन्द्र यादव पनि निरासामा छन् ।

 


Thali Mobile Pvt.Ltd.