कान्तिपुरका सहायक–सम्पादक बानियाँको शव हेटौंडा अस्पतालमा राखियो

कान्तिपुरका सहायक–सम्पादक बानियाँको शव हेटौंडा अस्पतालमा राखियो

२८ साउन २०७७ काठमाडौँ । कार्यालयसँग सम्पर्कविहीन भएका कान्तिपुर दैनिकका सहायक–सम्पादक बलराम बानियाँको निधन भएको छ ।

बानियाँको मृत शरीर मंगलबार बिहान ११ बजेतिर मकवानपुरको सिस्नेरीस्थित मान्डू जलविद्युत् परियोजना क्षेत्रमा फेला परेको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाकाले बताए । उनका अनुसार शव हेटौंडा अस्पतालमा राखिएको छ । बानियाँ सोमबार दिउँसोदेखि सम्पर्कविहीन भएको बुझिएको छ । पछिल्लोपटक राजधानीको बल्खुचोकमा सोमबार पौने चार बजे देखापरेको प्रहरीले बताएको छ ।

बल्खुमा प्रहरीको गस्ती टोलीले सोमबार दिउँसो देखेपछि उनलाई सोधपुछ गरेको थियो । त्यसपछि उनी घर जाने भन्दै बल्खु खोलाको पुलमुनि गएको देखिएको प्रहरीले जनाएको छ । बानियाँ पुलमुनि जाँदै गर्दा उनको जुत्ता हिलोमा अड्किएको र त्यसपछि खोलाको पानीमा लडेपछि स्थानीयले उद्धार गर्ने प्रयास गरेका थिए । तर पानीको अत्याधिक वहाबले गर्दा उद्धार गर्न नसकेको स्थानीयले बताएका छन् ।

त्यसबेला उनको पहिचान खुल्न सकेको थिएन । बानियाँले सोमबार दिउँसो करिब एक बजे कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लेख पठाएको जानकारी कार्यालयलाई गराएका थिए । त्यसपछि उनी सम्पर्कमा थिएनन् । एक दशकभन्दा अघिदेखि कान्तिपुरमा कार्यरत बानियाँका श्रीमती, एक छोरा र एक छोरी छन् । कोभिड–१९ को संक्रमणका कारण कान्तिपुरका अधिकांश सम्पादकीय कार्य घरबाट भइरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.