सुर्खेत । गफै गफमा समय खेर फाल्नु भन्दा काम गरेर देखाउन कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही अहिले धमाधम काम गराउन व्यस्त छन् । जनताका समस्याहरूबारे जानकारी लिएर धमाधम रिजल्ट देखिनेगरी काम गर्न मुख्यमन्त्री शाहीले निर्देशन समेत दिएका छन् । वीरेन्द्रनगर नगरपालिका–४, खोर्केमा रहेको प्रादेशिक शहीद पार्कमा सुरक्षा अवस्था बुझेर शाहीले निर्देशक दिएको केही समयमै अस्थायी प्रहरी विट स्थापना गरिएको छ ।
पार्क क्षेत्र एकान्तमा भएको र अराजक समुहले पार्कमा क्षती पुर्याउँदा असुरक्षा बढेको गुनासो सुनेपछि तत्काल प्रहरीलाई अस्थायी बिट स्थापना गर्न निर्देशन दिएका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट हबल्दार देवेन्द्र मल्लको कमाण्डमा पाँच जनाको प्रहरी टोली पार्कको सुरक्षामा खटिएको छ । भैरम सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अमरबहादुर कार्कीले पार्कमा असुरक्षा बढेको, दुर्व्यसनीहरूको अखडा बन्ने जोखिम भएकाले प्रहरीको अस्थायी विट स्थापनाको माग गरेको बतााए ।
पार्क प्रवेश गर्ने गेटको बाँकी सबै काम एक हप्ताभित्र सम्पन्न गर्न समेत शाहीले निर्देशन दिए । पार्कको थप विकासका लागि कामको प्राथमिकीकरण गरेर ल्याउन अनुरोध गरे । शहीदको सम्झनामा स्थापना गरिएको पार्कलाई सधैँ सफा बनाउन, अत्यावश्यक संरचनाहरू बनाउन प्राथमिकीकरण गरेर काम गर्न जोड दिदै मुख्यमन्त्री शाहीले पार्कमा प्रदेश सरकारको लगानी भएकाले त्यो लगानीबाट उच्च प्रतिफल आउनुपर्ने बताए ।
पार्कमा अहिले ३६० मिटर पर्खाल बनेको र अझै पर्खाल लगाउन बाँकी रहेको, वनस्पति उद्यान तथा बाल उद्यानको काम बजेट नहुँदा रोकिएको उल्लेख गदै पार्कको सम्पूर्ण काम सम्पन गर्न करिब १२ करोडको विस्तृत परियोजना प्रतिवेदन बनाइएको छ ।