काठमाडाैं । भारतबाट एलपी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपालमा मूल्य नघट्ने भएको छ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य नघट्ने जानकारी दिएको हो ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि उपभोक्ता र विद्यार्थीहरूको हितलाई ध्यानमा राख्दै मूल्य वृद्धि नगर्ने निर्णय गरेको निगमले जनाएको छ ।
निगमले विज्ञप्ति निकाल्दै मूल्य यथावत् राख्ने जानकारी दिएको हो । निगमले उपभोक्ताको हितलाई मध्यनजर गरी हाललाई पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने जनाएको छ । नेपाल आयल निगमले एलपी ग्यासको बिक्रीबाट हुने घाटा डिजेल÷पेट्रोल र हवाई इन्धनको बिक्रीबाट असुल गर्ने जनाएको छ ।
मार्च १ मा आएको पेट्रोलियम पदार्थको नयाँ मूल्य सूचीअनुसार नेपाल आयल निगमलाई एलपी ग्यासको बिक्रीबाट चरम घाटा हुने छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले निगमलाई पठाएको नयाँ मूल्य सूचीअनुसार निगमलाई १५ दिनमा ९२ करोड ८२ लाख रुपैयाँ घाटा हुन्छ । निगमलाई सबै प्रकारका पेट्रोलियम पदार्थको बिक्रीबाट करिब ४४ करोड ७ लाख रुपैयाँ नाफा हुने जनाएको छ ।
