एजेन्सी । उत्तर कोरियाका राष्ट्रिपति किम जोङ उनले एक टेलिभिजनमा ५० वर्षसम्म समाचार वाचन गरी सेवानिवृत्त भएकी समाचार वाचिकालाई दुई तले घर उपहार दिएका छन् ।
७९ वर्षीया री चुन–हीलाई घर दिएको भिडिओ उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन् । उक्त भिडिओमा उनले रीको हात समातेर उनलाई घरभित्र घुमाएको दृश्य अहिले भाइरल भइरहेको छ ।
उनले यही साता उत्तर कोरियाको राजधानी प्योङयाङमा खुलेको आवासीय क्षेत्रमा रहेको दुई तले घर रीलाई उपहार स्वरुप दिएका हुन । सरकारी टेलिभिजनमा देखिने रीले उत्तर कोरियाका पछिल्ला ५० वर्षका सबै महत्वपूर्ण समाचार वाचन गरेकी थिइन् ।
समाचार बाचनका क्रममा रीले जहिले पनि गुलाबी रङको परम्परागत कोरियन पहिरन लगाउने गर्थिन् । रीको समाचारबाचनले दक्षिण कोरियाली नागरिकसँगै सुरक्षा अधिकारीका कान पनि ठाडा हुने गरेका थिए ।
उपहार प्राप्त गरेपछि प्रतिक्रिया दिंदै रीले विश्वका जो सुकै समाचारवाचकहरू समाचार संकलनका क्रममा फिल्डमा नगएसम्म समाचार वाचकको रूपमा परिचित नहुने बताइन् । रीले समाचारवाचन र रिपोर्टिङ सँगसँगै गर्ने गर्थिन् ।
