किसानलाई समयमै मल उपलब्ध गराउन भनपा प्रतिनिधिकाे आग्रह

किसानलाई समयमै मल उपलब्ध गराउन  भनपा प्रतिनिधिकाे आग्रह

काठमाडौ । किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रतिनिधिले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालय काठमाडौंलाई आग्रह गरेका छन् ।

भनपा प्रमुख सुनिल प्रजापति, पार्टी जिल्ला अध्यक्ष न्हुछेभक्त फोजू, नगर कृषि समितिका संयोजक तथा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरा, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठको टोलीले शुक्रबार कर्पोरेसनको कार्यालयमै पुगेर यस्तो आग्रह गरेका हुन । रोपाइँको बेला किसानलाई समयमा मल उपलब्ध नगराएको, गहुँ छर्ने तथा आलु रोप्ने बेलामा पनि मलको हाहाकार भएकोले किसानका तर्फबाट दुवै संस्थाको ध्यानाकर्षण गराएको सांसद सुवालले बताए ।

गणतन्त्रमा समेत पञ्चायती शैली हुनु, सरकार र सम्बन्धित निकाय जिम्मेवार नहुनु, सरकारले समयमै मल खरिद नगर्नुले देशको कृषि उत्पादनमा खर्बौ रूपैया नोक्सान भएको भन्दै प्रतिनिधि मण्डलले ध्यानाकर्षण गराएको हो । भक्तपुरमा यस वर्ष गहुँ खेती बढ्ने र सोहीबमोजिम मल आपूर्ति बढाउनुपर्नेमा साँसद सुवाले जोड दिए । मलको ठेक्का प्राप्त गरी आपूर्ति नगरेकाहरूलाई पाँच करोड रूपैयाँ जरिवाना नपुग्ने भएकोले त्यसबाट भएको नोक्सानीको क्षतिपूर्ति भराउनुपर्ने भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले बताए ।

नेपाललाई आवश्यक रसायनिक मलमध्ये ३० प्रतिशत मल साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट आठ वर्षदेखि आपूर्ति भइरहेको उल्लेख गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लि.का प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले तीन महिनाअगाडिको निर्देशिकाअनुसार मंसिर महिनादेखि स्थानीय तहको उपमेयर वा उपाध्यक्षको संयोजकत्वमा गठित समितिबाट सिफारिस भएका सहकारीलाई मल बिक्रीको डिलर प्रमाणपत्र दिने र मल उपलब्ध गराउने बताइन् ।

ठेकेदारले मल नल्याउँदा मलको हाहाकार भएको र अबको एघार दिनभित्र पर्याप्त मल आपूर्ति हुने कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्धक सञ्चालक नेत्रबहादुर भण्डारीले बताए । उनले मल नल्याएका पाँच ठेकेदारलाई पाँच करोडका दरले जरिवाना गरेको बताए । कृषि विकास मन्त्रालयले जिल्लागत मलको कोटा तोकेको बताएपछि सांसद सुवालले कोटाअनुसार मल पठाएर बाँकी यही गोदाममा राख्नु उचित नभएको भन्दै कोटा सच्याइ बढाएर पठाउनुपर्ने बताए । साल्ट ट्रेडिङका वरिष्ठ अधिकारी पंकज जोशी र कृषि सामग्री कम्पनीका बिक्री प्रमुख राजेन्द्रबहादुर कार्कीले मल आपूर्ति गर्न तदारूकतासाथ लागिपर्नेमा जोड दिए ।

 


Thali Mobile Pvt.Ltd.