भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

के स्वर्ण पदक पुरै सुनले बनेको हुन्छ ? यस्तो छ पदकसम्बन्धी मापदण्ड

के स्वर्ण पदक पुरै सुनले बनेको हुन्छ ? यस्तो छ पदकसम्बन्धी मापदण्ड

काठमाडौँ । विश्व खेलकुदको महाकुम्भ ओलम्पिकको आगामी संस्करण फ्रान्सको राजधानी सहर पेरिसमा आयोजना हुँदैछ । ओलम्पिक खेलकुद यो ३३औँ संस्करण हो । पेरिस ओलम्पिक सन् २०२४ को जुलाई २६ देखि अगस्त ११ तारिखसम्म चल्नेछ । यस पटक ओलम्पिकमा १० हजार ६ सयभन्दा बढी खेलाडीले सहभागी हुनेछन् । पेरिस ओलम्पिकमा विभिन्न ३२ खेलका तीन सय २९ स्पर्धा समावेश गरिएको छ । अर्थात्, पेरिस ओलम्पिकमा तीन सय २९ वटा स्वर्ण पदकका लागि खेलाडीबिच घम्साघम्सी हुनेछ ।

विश्वभरका खेलाडीहरूले ओलम्पिकमा सहभागिता मात्रलाई पनि निकै ठुलो उपलब्धिका रूपमा लिने गर्छन् । त्यसमाथि ओलम्पिकमा जितेको पदकको त झनै ठुलो महत्त्व हुने नै भयो । ओलम्पिकमा प्रदान गरिने पदकको बारेमा तपाईँलाई कत्तिको जानकारी छ ? के ओलम्पिकमा स्वर्ण पदक जित्ने खेलाडीलाई प्रदान गरिने पदक पुरै सुनले बनेको हुन्छ ? अनि रजत पदक पुरै चाँदीले बनेको हुन्छ त ? खासमा ओलम्पिकमा विजेता खेलाडीलाई प्रदान गरिने स्वर्ण पदक पुरै सुनले बनेको हुँदैन ।

ओलम्पिकमा प्रदान गरिने पदकको विषयमा पनि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आईओसी ले छुट्टै मापदण्ड र नियम बनाएको हुन्छ । ओलम्पिकमा प्रदान गरिने स्वर्ण पदक पुरै सुनले बनेको नभए पनि त्यो पदकमा सुनको मात्रा भने हुन्छ । खासमा, ओलम्पिक खेलकुदमा प्रदान गरिने स्वर्ण पदक तयार पार्दा ९२।५ प्रतिशत चाँदीको प्रयोग गरिएको हुन्छ । त्यसमा सुनको जलप चढाइएको हुन्छ । स्वर्ण पदकमा कम्तीमा ६ ग्राम सुनको प्रयोग भने गर्नैपर्ने हुन्छ ।

सन् १९१२ को ओलम्पिक स्विडेनको स्टकहोम सहरमा आयोजना गरिएको थियो । ओलम्पिकको त्यो पाँचौँ संस्करण थियो । सबैभन्दा पछिल्लो पटक त्यही ओलम्पिकमा स्वर्ण पदक जित्ने खेलाडीलाई पुरै सुनले बनेको पदक प्रदान गरिएको थियो । आईओसीको नियमअनुसार, ओलम्पिक विजेतालाई प्रदान गरिने पदकको व्यास कम्तीमा ६० मिलिमिटर र मोटाई तीन मिलिमिटर हुनु पर्छ ।

यसैगरी ओलम्पिकमा दोस्रो स्थान हासिल गर्ने खेलाडीलाई प्रदान गरिने रजत पदक भने पूर्ण रूपमा चाँदीबाट बनाइएको हुन्छ । तेस्रो स्थान हासिल गर्ने खेलाडीलाई प्रदान गरिने कांस्य पदक तामाबाट बनाइएको हुन्छ । कांस्य पदकमा केही मात्रामा जिंकको पनि प्रयोग गरिएको हुन्छ । स्वर्ण र रजतभन्दा कांस्य पदक केही हल्का हुन्छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.