भर्खरै : Sorry, your browser does not support inline SVG.

गाईजात्रा मनाइँदै

गाईजात्रा मनाइँदै

भक्तपुर । गाईजात्रा र जनैपूर्णिमा पर्व देशैभर मनाइँदैछ । तिथिको घटबढका कारण जनैपूर्णिमा र गाईजात्रा आज एकैदिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । पूर्णिमाको दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गइ स्नान गरेर गुरु पुरोहितबाट डोरो बाँध्ने गर्छन् । आजकै दिन तागाधारीले आफ्नो जनै फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ ।

रक्षाबन्धन बाँध्न एवम् नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरको अशोकविनायकलगायत बाग्मती नदीको किनार र देशभरका मठ मन्दिरमा भक्तजनको भिड लागेको छ । तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइँदैछ ।

आज क्वाँटी खाने चलन पनि छ । चना, केराउ, मस्याङ, बोडी, मास, भटमास, सिमी, बकुल्लालगायत गेडागुडी भिजाएर टुसा उम्रेपछि पकाएर खाइने क्वाँटीले शरीरमा शक्ति मिल्ने डाक्टरले बताउँदै आएका छन् । आजै प्रतिपदा तिथि लाग्ने भएकाले गाईजात्रा पर्व पनि मनाइने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक ज्योतिषी पण्डित सूर्यप्रसाद ढुङ्गेलले बताए।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजको दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।गाईजात्रा पर्व उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायत नेवार समुदायको विशेष उपस्थिति रहेको सहरमा धुमधामका साथ मनाइन्छ ।

 


Thali Mobile Pvt.Ltd.