काठमाडौं । चेन्नाई सुपर किंग्सका खेलाडी दीपक चाहार कोरोना संक्रमणमुक्त भएका छन् । इन्डियन प्रिमियर लिग (आइपिएल) टिम चेन्नाई सुपर किंग्सका खेलाडी दीपक चाहार बुधबार रिपोर्ट नेगेटिभ आएसँगै कोरोना मुक्त भएका हुन ।
कोरोना मुक्त भएसंगै दीपक टिममा फर्किने भएका छन् । चेन्नाईबाट हरभजन सिंह र सुरेश रैनाले भने आइपिएल खेल्ने छैनन् । व्यक्तिगत कारण देखाउँदै दुवै खेलाडी यो संस्करणको आइपिएलबाट बाहिरिएका छन् ।
आइपिएल आउँदो सेप्टेम्बर १९ तारिखदेखि नोभेम्बर १० सम्म युएईमा हुँदैछ । भारतमा कोरोनाको उच्च जोखिम भएपछि युएईमा आइपिएल हुन लागेको हो । केही दिनअघि मात्रै आइपिएलको खेल तालिका सार्वजनिक गरेको थियो । तालिका अनुसार चेन्नाई सुपर किंग्सले उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन्स मुम्बई इन्डियन्ससँग खेल्नेछ ।
एक साताअघि चेन्नाई सुपर किंग्सका १३ सदस्यमा कोरोना संक्रमण देखिएको थियो । जसमा स्टाफ र केही खेलाडीमा कोरोना देखिएको थियो । कोरोना भाइरस देखिएपछि दीपक आइसोलेसनमा बस्दै आएका थिए । उनी निको भएसँगै आसन्न आइपिएल खेल्न टिममा फर्किने क्लबले जनाइको छ ।

