काठमाडौँ । चौतर्फी आलोचना र दबाबपछि सरकारले कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयलाई निर्देशन दिएको भन्दै एक मन्त्रीले कैलाश खबरलाई बताए । परीक्षण र उपचार निःशुल्क गर्नेसम्बन्धी विस्तृत खाका तयार भएपछि सर्वसाधारणलाई जानकारी गराउने उनको भनाई छ । कोरोना भाइरसको परीक्षण र उपचार निःशुल्क गर्न सर्वोच्च अदालतले दिएको आदेशलाई सरकारले व्यवास्ता गर्दै नागरिकको निःशुल्क परीक्षण र उपचार गर्न नसकिने भन्दै आएको थियो ।
उल्टै सर्वोच्चको फैसलामाथि पुनरावलोकन गर्न निवेदन दिएको सरकारलाई सर्वोच्चले फैसला पुनरावलोकन नगर्ने निर्णय सुनाएपछि बाध्य भएर सरकार अदालतको आदेश कार्यान्वयन गर्न लागेको हो । स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई विपक्षी बनाई अवहेलना मुद्दासमेत दर्ता भएपछि संसद्को शिक्षा तथा स्वास्थ्य समितिले पनि संक्रमितको परीक्षण तथा उपचार निःशुल्क गर्न सरकारलाई निर्देशन दिएको थियो । चौतर्फी दबाब परेपछि अन्ततः सरकार परीक्षण र उपचारमा शुल्क नलिने निर्णयमा पुगेको हो ।
