भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

जनशक्तिको अभावमा खेतीयोग्य जमिन बाँझिदै

जनशक्तिको अभावमा खेतीयोग्य जमिन बाँझिदै

गलेश्वर, । स्वदेशमा रोजगारको भरपर्दो माध्यम फेला पार्न नसकेर गाउँका युवा रोजगारीको खोजीमा खाडीमुलुक जाने क्रम नरोकिँदा म्याग्दीका ग्रामीण भेगमा रहेको खेतीयोग्य जमिन बाँझै भएको छ । स्थानीय तहको चुनावमा प्रायः सबै राजनीतिक दलका उम्मेदवारले विकास र रोजगारीलाई प्रमुख एजेण्डा बनाएका भए पनि जिल्लाका युवा भने पाए युरोप, अमेरिका नपाए खाडीमुलुकमा भए पनि जान बाध्य छन् । युवा विदेशिने र सहर पलायन हुने क्रम नरोकिँदा गाउँमा काम गर्ने जनशक्तिको अभाव भएर खेतीयोग्य जमिन बाँझै भएको हो ।

बाह्रै महिना खेतीपाती गरेर जीविकोपार्जन गर्ने ग्रामीण क्षेत्रका स्थानीयले अहिले भएका जग्गा जमिन बाँझै छाडेका छन् । युुवा विदेशिएसँगै गाउँमा वृद्धवृद्धा, महिला र बालबालिका मात्र हुँदा खेती लगाउने समयमा जनशक्ति अभाव हुने गरेको छ । दसैँ, तिहार, महामारी, प्राकृतिक विपत्ति र निर्वाचनका बेला गाउँ युवाले भरिभराउ हुने गरे पनि सहज अवस्थामा भने गाउँ युवाविहीन हुने गरेका बेनी नगरपालिका–२ का ८६ वर्षीय बेदप्रसाद उपाध्यायले बताए । गाउँमा खेती गर्ने जनशक्ति नहुँदा जिल्लाको बेनी नगरपालिका, मालिका, मङ्गला, रघुगङ्गा, धौलागिरि र अन्नपूर्ण गाउँपालिकामा सयौँ हेक्टर खेतीयोग्य जमिन बाँझै रहेको स्थानीय तहका कृषि प्राविधिकले बताएका छन् ।

सदरमुकाम बेनी बजारसँगै जोडिएको बेनी नगरपालिका २ बगरफाँटमा मात्रै २६ हेक्टरभन्दा बढी जमिन बाँझै रहेको स्थानीय चित्रबहादुर रिजालले बताए । रिजालले भन्नुभयो, “खेती गर्न जनशक्ति पाइँदैन, आफूले गर्न सकिएन, युवाशक्ति विदेश जान थाले, जग्गाजमिन बाँझै छाड्न बाँध्य छौँ ।” यहाँका बासिन्दाले आफ्नै जग्गा जमिन भएर पनि सदरमुकामदेखि खाद्यान्न सामग्री किनेर ल्याउने गर्दछन् । सुविधा खोज्दै केही सहरतिर पस्न थाले, केही विदेशिए, अब त गाउँ नै सुनसान हुन थालेको मालिका ३ का जगबहादुर बूढाले बताउनुभयो । अहिले यहाँ भएका युवा पनि खेतीपाती छाडेर व्यापार, व्यवसाय गर्न थालेका उनले बताए।

वर्षौंदेखिको भोगचलन गर्दै आएको खेतीयोग्य जमिन बाँझिदै गएको छ भने घर जीर्ण भई भत्कन थालेका छन् । अर्कोतिर भूकम्पले भत्काएको घरको पुनःनिर्माण नगरी सहर बजारमा डेरामा बस्न थालेका छन् । एकातिर कामदारको अभाव छ भने अर्कोतर्फ खेतीयोग्य जमिनलाई पल्टिङ गर्ने क्रम उत्तिकै बढेको छ । खेतीयोग्य जमिन बाँझो हुन थालेपछि खाद्यान्न अभाव देखिएको छ भने मूल्यवृद्धिको चपेटामा स्थानीय परेका छन् । स्थानीयस्तरमा उत्पादन हुने खाद्यान्न कम उत्पादन हुने भएकाले बाहिरबाट निर्यात गनुपर्ने भएकाले मूल्य वृद्धि हुने गरेको व्यापारीको भनाइ छ ।

“खेतबारीमा बनमारा र सिरु फुलेको छ, गाउँले बजारको आयातित चामल र खाद्यान्न किनेर खाने गरेका छन्”, मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए । कृषि प्राविधिक बानियाँका अनुसार हरेक वर्ष खेतीयोग्य जमिन बाँझिने क्रम १५ प्रतिशतले बढ्दै गएको छ । तरकारी उत्पादन हुने खबरा, बगरफाँट, सिम, थामडाँडा, बाबियाचौरलगायतका ठाउँमा पनि जमिन बाँझै छ । धान उत्पादन हुने सिंगा, बगरफाँट, डाँडाखेतलगायतका ठाउँमा बस्ती बसाल्ने तथा जग्गा प्लटिङ गर्ने गरेका छन् । यसले गर्दा सदरमुकाम तथा मुख्य बस्तीमा जग्गाको भाउ आकाशिएको छ ।

कृषि कार्यालय र स्थानीय तहहरुलले किसानलाई प्रोत्साहनका लागि खाद्यन्न, तरकारीबाली, माछा व्यवसाय, च्याउखेतीलगायतमा अनुदान दिने, बिमा गर्ने, प्रविधि प्रदान गर्ने गरेका भए पनि खेतीयोग्य जमिन अझै प्रयोगमा आउन सकेको छैन । पछिल्लो समय जिल्ला मालपोत कार्यालय म्याग्दीमा दैनिक सरदर ५० थानभन्दा बढी जग्गा किनबेच हुने गरेको मालपोत कार्यालय म्याग्दीका प्रमुख कृष्णबहादुर कार्कीले बताए।

 


Thali Mobile Pvt.Ltd.