काठमाडौं, २९ भदौ । इरानका परमाणु प्रमुख मोहम्मद इस्लामीलाई अस्ट्रियाको राजधानी भियनामा हुने अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीको वार्षिक सम्मेलनमा सहभागी हुनबाट रोक लगाइएको इरानी पक्षले जनाएको छ ।
इरानी राष्ट्रिय टेलिभिजनका अनुसार इस्लामी र उनको प्रतिनिधिमण्डल नियमित उडानमार्फत शनिबार भियनाका लागि प्रस्थान गरेका थिए । तर, अमेरिकी दबाबका कारण उनी अस्ट्रिया प्रवेश गर्न नपाई बाटोबाटै फर्किनुपरेको इरानको दाबी छ ।
अवरोधपछि इस्लामी तेहरान फर्किएको जनाइएको छ । उनी अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीको वार्षिक साधारण सम्मेलनमा सहभागी हुन भियना जान लागेका थिए । सम्मेलन शुक्रबारसम्म सञ्चालन हुने बताइएको छ ।
इस्लामीले गत वर्ष पनि उक्त सम्मेलनमा सहभागी भएर इरानका तर्फबाट अस्थायी प्रतिनिधिका रूपमा सम्बोधन गरेका थिए । इरान अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीको सदस्य राष्ट्र हो ।
घटनापछि इरानले अस्ट्रियाका कार्यवाहक राजदूतलाई बोलाएर यस विषयमा स्पष्टीकरण मागेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले इरानी प्रतिनिधिमण्डललाई भिसा जारी नगर्ने अस्ट्रिया सरकारको निर्णयलाई अनुचित भएको बताएका छन् ।
उनले अमेरिकी दबाबमा यस्तो निर्णय गरिएको इरानलाई स्पष्ट भएको दाबी गर्दै त्यसबाट अस्ट्रिया सरकार आफ्नो जिम्मेवारीबाट मुक्त हुन नसक्ने बताएका छन् । भियनास्थित एक कूटनीतिक स्रोतले पनि नाम नखुलाउने सर्तमा इस्लामीलाई अमेरिकाको दबाबका कारण अस्ट्रिया प्रवेश गर्न रोक लगाइएको पुष्टि गरेको दाबी गरिएको छ ।
इरानको परमाणु कार्यक्रमलाई लिएर तेहरान र पश्चिमी मुलुकबीच लामो समयदेखि तनाव रहँदै आएको छ । संयुक्त राज्य अमेरिका र इजरायलले इरानको परमाणु कार्यक्रमलाई आफ्नो सुरक्षाका लागि खतरा भएको दाबी गर्दै आएका छन् । पश्चिमी मुलुकले इरानले परमाणु हतियार विकास गर्न खोजेको आशङ्का गर्दै आए पनि इरानले भने आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि भएको दाबी गर्दै आएको छ ।
