भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति

भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति

काठमाडौं, २९ भदौ । भोटेकोशी र आसपासका क्षेत्रमा आएको बाढीबाट कृषि तथा पशुधन क्षेत्रमा ठूलो क्षति पुगेको प्रारम्भिक मूल्याङ्कनले देखाएको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको प्रारम्भिक मूल्याङ्कन प्रतिवेदनअनुसार बाढीका कारण विशेषगरी धान, तरकारी तथा पशुपक्षी क्षेत्रमा व्यापक क्षति भएको हो ।

प्राप्त विवरणअनुसार बाढी प्रभावित विभिन्न पालिकामा १ हजार ६६९ हेक्टर क्षेत्रफलको धानखेती नष्ट भएको छ । यसबाट करिब ५ हजार ८४३ टन धान उत्पादनमा क्षति पुगेको अनुमान गरिएको छ । त्यस्तै, १३७ हेक्टर क्षेत्रफलको तरकारी खेती प्रभावित भएको छ । बाढीका कारण करिब १ हजार ८४३ टन तरकारी नष्ट भएको प्रतिवेदनमा उल्लेख छ ।

भौगोलिक रूपमा नुवाकोटको विदुर, लिखु र बेलकोटगढी नगरपालिका तथा धादिङ, गोरखा र रसुवाका विभिन्न स्थानीय तह बाढीबाट बढी प्रभावित भएका छन् । नुवाकोटको विदुर नगरपालिकामा मात्रै ७०० हेक्टर धानखेती र ९८ हेक्टर तरकारी खेतीमा क्षति पुगेको छ ।

कृषिबाहेक पशुधनतर्फ पनि ठूलो क्षति भएको छ । प्रारम्भिक मूल्याङ्कनअनुसार पशुधनमा मात्रै १ अर्ब ११ करोड ३९ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । बाढीका कारण २ लाख ५२ हजारभन्दा बढी पशुपक्षी प्रभावित भएका छन् । त्यसमध्ये ४ हजार ५७२ भैँसी मर्दा ४५ करोड ७२ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

बाख्रा तथा च्याङ्ग्रातर्फ ३९ करोड १३ लाख रुपैयाँ र गाईगोरुतर्फ १७ करोड ९२ लाख रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।सङ्ख्याका आधारमा २ लाख १४ हजारभन्दा बढी कुखुरा प्रभावित भएका छन् । तर आर्थिक क्षतिको हिसाबले भैँसी, बाख्रा, च्याङ्ग्रा र गाईगोरुको हिस्सा मात्रै ९२ प्रतिशतभन्दा बढी रहेको जनाइएको छ ।

बाढीबाट कृषि तथा पशुधनमा भएको क्षतिले ग्रामीण क्षेत्रका किसानको आम्दानीमा प्रत्यक्ष असर पारेको छ । कृषि उत्पादन तथा पशुधन गुमाउँदा स्थानीय अर्थतन्त्रमा समेत गम्भीर प्रभाव परेको प्रारम्भिक मूल्याङ्कन प्रतिवेदनले देखाएको छ ।

 


Thali Mobile Pvt.Ltd.