भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

तमानखोला थुनेर बहुउद्देश्यीय परियोजना

तमानखोला थुनेर बहुउद्देश्यीय परियोजना

बागलुङ । बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाले तमानखोला थुनेर बहुउद्देश्यीय परियोजना सञ्चालन गर्ने भएको छ । तमानखोला –३ तमान गाउँलाई पर्यटकीय गन्तव्य बनाउन र विद्युत् उत्पादन गर्नका लागि जलाशययुक्त परियोजना अगाडि बढाइएको छ । सो गाउँको फेदमा ड्याम निर्माण गरी तमानखोलालाई थुनेर ‘मिनी जलाशययुक्त बहुउद्देश्य हाइड्रोपावर’ निमार्णका लागि गाउँपालिकाले अध्ययन थालेको छ ।

गाउँपालिकाको गौरवको परियोजनाका रुपमा रहेको यो योजना निर्माण सुरु गरेको तीन वर्षमा सक्ने योजना बनाएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिनुभयो । परियोजना सरकार, निजी क्षेत्र र गाउँपालिकाभरि नागरिकहरुको लगानीमा निर्माण हुने उहाँको भनाइ छ । परियोजना निर्माणमा पालिकाभरिका सबै नागरिकलाई साझेदार बनाइने छ ।

तमान गाउँ राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र सालझण्डी–ढोरपाटन सडकसँग नजिक पर्ने र सोलेडाँडा हुँदै म्याग्दी जोड्ने सरकारको रणनीतिक सडक योजना अन्तर्गतको क्षेत्रमा भएको हुँदा बिस्तारै तमानखोला क्षेत्र पर्यटकीय हब बन्ने गरी जलविहार, माछापालन, विद्युतीकरण लगायतका काम गर्नका लागि तमानखोला थुनेर उक्त परियोजना बनाउने उहाँको भनाइ छ ।

उहाँले सरकारको रणनीतिक सडकअन्तर्गत छोटो रुटमा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्र पर्ने हुँदा, बिस्तारै अहिलेको सडक पनि स्तरोन्नति हुने, जलाशययुक्त हाइड्रोपावर निर्माण हुने र सिङ्गो तमानले मुहार पर्ने बताउनुभयो । यो सडक हुँदै पछि हजारौँ धार्मिक पर्यटकहरु तमान गाउँबाटै यात्रा गर्ने हुँदा यहाँका नागरिकको जीवनस्तर र जीवन पद्धति बदलिने जनाइएको छ ।

यहाँको वातावरण, भौगोलिक हिसाबले धेरै सम्भावना बोकेको हुँदा गाउँपालिकाले यो योजनालाई महत्वका साथ लिएको अध्यक्ष बुढा मगर बताउनुहुन्छ । यहाँबाट ३५० किलोवाटको विद्युत्समेत उत्पादन हुने उहाँको भनाइ छ । उहाँले उत्तरगङ्गा हाइड्रोपावरको ‘नमूना हाइड्रो’का रुपमा यसलाई विकास गर्न थालेको बताउनुभयो ।

बुर्तिबाङ देशकै १० नमूना सहरमध्येको एक भएको र यहाँबाट तमान नजिक पर्ने हुँदा भविष्यमा बुर्तिबाङ र बागलुङका सबै ठाउँबाट हजारौँ आन्तरिक पर्यटकहरु यहाँ घुमघाम र मनोरञ्जनका लागि यहाँ आउने भएकाले बहुउद्देश्यीय परियोजना निर्माणमा लगानी गर्न थालेको बुढामगरको भनाइ छ ।

जलाशाययुक्त हाइड्रपावर निर्माणका लागि रु ४० करोड लागत लाग्ने र पर्यटनसहितको काम गर्न ५०÷६० करोड लाग्ने अनुमान छ । स्थानीय सरकार, निजी कम्पनी र गाउँपालिकाभरका नागरिकको सामूहिक लगानीमा बुहउद्देश्यीय जलविद्युत् परियोजना निर्माण हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.