भक्तपुर । जनैपूर्णिमाको अवसरमा विहीबार महादेव पोखरीमा मेला लागेको हो । भक्तपुरको चाँगुनारायण नगरपालिका ६ नगरकोटस्थित ऐतिहासिक एवं प्राचीन महादेव पोखरी र पुरातात्विक महत्वको रत्नचुडेश्वर महादेव मन्दिरमा भक्तजनको घुइचो लागेको थियो । प्रत्येक वर्ष रक्षा बन्धनको दिनमा यहाँ ठूलो मेला लाग्ने गर्दछ।
नगरकोट डाँडाको प्राचीन नाउँ रत्नचुड पर्वत भएकाले रत्नगिरि पहाड रुपमा पनि चिन्ने गरिएको छ । समुन्द्र मन्थन गर्दा कालकुट विष पिएका महादेव विषको डाहा समन गर्न यताउता भौतारिरहँदा रत्नचुड पर्वत पुगेको र रत्नचुड पर्वतमा पुगेपछि महादेवले विभिन्न जलका स्रोतको सृजना गरी उक्त कुण्ड निर्माण गरेको जनश्रुति रहेको चागुनारायण नगरपालिका वडा नं ६ का वडा अध्यक्ष धनबाहदुर लामाको भनाई छ ।
महादेव पोखरीमा प्रत्येक वर्षको जनै पूर्णिमामा यसै गरी विशेष मेला लाग्दै आएको र यहाँ रसुवा जिल्लास्थित गोसाईंकुण्ड पुग्न नसके नगरकोटको महादेव पोखरीमा आएर नुहाईधुहाई गर्दा गोसाईंकुण्ड पुगेको सरह मानिने धार्मिक मान्यता समेत रहेको काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं २ का वडा अध्यक्ष राजकुमार मल्लेले जानकारी दिए ।
यहाँ मेला भर्न काठमाडौ, भक्तपुर, साँखु र बनेपा, नुवाकोटलगायत देशका विभिन्न भागका भक्तजनहरुको उपस्थिति हुने गरेको छ । यहाँ रहेका भौतिक संरचना निर्माण गर्न गुरु योजना समेत बनी सकेको रत्नचुडेश्वर महादेवपोखारी संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष नविन गरुङले बताए । उनले महादेव पोखरीमा हुने जनै पूर्णिमा मेलालाई व्यवस्थित गर्न पनि समितिले महत्वपूर्ण भूमिका निर्वाह गरेको जानकारी दिए ।
महादेव पोखरी मेलामा मेला भर्न आएका भक्तजनहरुले धार्मिक पर्यटनलाई बढावा दिन यहाँको विकसमा स्थानीय तहहरुले ध्यान दिनुपर्ने बताए । विगतका वर्षहरु भन्दा यस वर्षको महादेव पोखरीको मेला व्यवस्थित देखिन्थ्यो ।
विभिन्न क्षेत्रका मानिसहरुले यहाँ स्वयमसेवा समेत गरिरहेका थिए । यातायातका साधनहरुलाई व्यवस्थित गर्न सुरक्षाकर्मीको उपस्थिति पनि बाक्लो रहेको थियो ।
