तस्वीर सामाजिक सञ्जालबाट
दैलेख, २९ चैत । पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका–१ स्थित सिराडी ग्वालिपिन्नबाट अपहरणमा परेकी तीन महिने शिशु श्रीया बुढा सकुशल फेला परेकी छन्। उनलाई एक महिला जंगलमा भाग्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।
शिशुलाई लिएर भाग्ने क्रममा चामुण्डाबिन्द्रासैनी नगरपालिका–२ को लामीडाँडा जंगलमा प्रहरीले अन्दाजी २० वर्षीया शर्मिला विष्टलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दुल्लुका प्रमुख श्याम अर्यालले जानकारी दिए। शर्मिला सोही क्षेत्रको सिरवल गाउँकी बासिन्दा हुन्।
प्रहरीका अनुसार शिशुको अवस्था सामान्य छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ। तर, पक्राउ परेकी महिलाले भने आफूले शिशु अपहरण नगरेको दाबी गरेकी छन्। उनका अनुसार तीन जना पुरुषले शिशुलाई लिएर आएर आफूलाई चामुण्डाको डाँडामा थमाएका थिए र त्यसपछि ती पुरुष फरार भएको बताइएको छ।
यस्तै, शिशु अपहरण भएको राति ९ बजेतिर बमबहादुर बुढाको घर पछाडिको खरमा आगलागी भएको थियो। आगलागीपछि श्रीया बुढाका अभिभावक आगो निभाउन बाहिर गएको बेला शिशु हराएको थियो।
बमबहादुरका दाजु दीपक बुढाका अनुसार खरमा आगो लगाएर परिवारलाई घरबाहिर ल्याएर कसैले शिशु अपहरण गरेको हुनसक्ने आशंका गरिएको छ। शंकास्पद घटनापछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
यस रहस्यमय घटनाले स्थानीयमा त्रास फैलाएको छ भने प्रहरीले थप अनुसन्धान जारी राखेको छ।

