भर्खरै : Sorry, your browser does not support inline SVG.

थप ७४० जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १५२५९

थप ७४० जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १५२५९

१९ असार २०७७ काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७४० जनामा कोरोना भाइरसको संक्रमण देखिएपछिनेपालमा संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ७४० जनामा कोरोना पोजेटिभ देखिएको हो ।

७४० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । नेपालमा पछिल्लो २४ घण्टामा थप ८२३ जना उपचारपछि घर फर्किए छन् । यो सहित डिस्चार्ज हुनेको संख्या ६१४३ पुगेको छ । कुल संक्रमितमध्ये ३२ जनाको मृत्यु भएको छ भने सबै जिल्लामा संक्रमण देखिएको छ ।

क्यान्सर र मधुमेहका बिरामीको कोरोना परीक्षण हुने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारदेखि कोरोना परीक्षणको दायरा बढाएको छ । मन्त्रालयले अब क्यान्सर र मधुमेहका बिरामीको पनि परीक्षण गर्ने भएको हो । इमरजेन्सी र आईसियुमा भर्ना हुने बिरामी पनि कोरोना परीक्षण गरिने मन्त्रालयले जनाएको छ । स्वास्थ्यकर्मीहरुको पनि कोरोना परीक्षण गर्ने मन्त्रालयले जनाएको छ। क्लिनीकल समन्वय समितिको छलफलबाट सरकारी, सामुदायिक र निजी अस्पतालमा बिरामीको उपचार गर्ने व्यवस्था मिलाइएको डा.जागेश्वर गौतमले बताए ।

चिकित्सकमाथि आक्रमण विरुद्ध आन्दोलन
झापाको बिर्तामोडमा गतसाता डाक्टरमाथि भएको आक्रमणको विरोधमा पोखराका युवा डाक्टरहरु आन्दोलनमा उत्रिएका छन् । गएको असार ११ गते झापाको बिर्तामोडस्थित मेडिका हस्पिटलमा कार्यरत मेडिकल अफिसर डाक्टर सुधाकर झामाथि भएको आक्रमणको विरोधमा पोखराका युवा डाक्टरहरुले बिहीबार जिल्ला प्रशासन कार्यलय कास्की अगाडि धर्ना दिएका हुन् ।

युवा चिकित्सक संघ गण्डकीले आयोजना गरेको शान्तिपूर्ण धर्नामा ७५ जना डाक्टरको सहभागिता रहेको संघका सचिव डाक्टर सञ्जीव बस्नेतले जानकारी दिए। कोरोना भाइरसको महामारीका बीच आफ्नो ज्यान जोखिममा राखेर फन्टलाइनमा काम गर्ने डाक्टरमाथिको हमला अमानवीय भएको भन्दै आफूहरु आन्दोलनमा उत्रिएको उनिहरुले बताएका छन् ।