दशौं लाख मासिन मृत्युको मुखमा

दशौं लाख मासिन मृत्युको मुखमा

काठमाडौं । अफगानिस्तानका दशौं लाख सर्वसाधारण मृत्युको मुखमा पुगेको संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ । अफगानिस्तानको आर्थिक संकटले दशौं लाखको ज्यान लिने अवस्था आउने राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले चेतावनी दिएका हुन ।

राष्ट्रसंघको ५ अर्ब डलरको मानवीय सहायता कोषमा सहयोग गर्न विश्व समुदायलाई अपिल गर्दै उनले अफगानिस्तानको रोक्का गरिएका खाताहरु फुकुवा गर्न विश्व बैंक, आइएमएफलगायतलाई आग्रह गरे । अत्यधिक चिसो र सम्पतिविहिन अवस्था अफगान जनताका लागि कहालिलाग्दो भएको पनि महासचिव गुटेरसको भनाइ छ ।

दाताको सहयोगमा टिक्दै आएको अफगानिस्तानको अर्थतन्त्र तालिवानले सत्ता कब्जा गरेपछि झन् अधोगतिमा रहेको छ । तालिवानको शासनलाई चुनौति दिन अमेरिकालगायत विश्व समुदायले अफगानिस्तानको सम्पति र खाता रोकेकाले अर्थतन्त्र चरम संकटमा फसेको बताइएको छ ।

अमेरिकाले मात्रै अफगानिस्तानको ७ अर्ब डलर रोकिदिएको छ । अस्पतालका चिकित्सक, सेना, पुलिस र सरकारी कर्मचारीले समेत तलब नपाईरहेको बुझिएको छ । राष्ट्रसंघका महासचिव गुटेरसले ८७ लाख अफगानीहरु अहिले पनि दुई छाक नपाउने अवस्थामा रहेको भन्दै त्यहाँको अर्थतन्त्रका लागि आवश्यक तरलता तत्काल उपलब्ध नगराउने हो भने अवस्था भयावह हुने चेतावनी दिए।

 


Thali Mobile Pvt.Ltd.