ताराखोला । कोरोना भाइरससंक्रमणका कारण ताराखोला गाउँपालिकाकी एक महिलाको मृत्यु भएको छ । गाउँपालिका–३ की ३० वर्षीया तेजमायाँ भण्डारी परियारको मृत्यु भएको हो ।
कार्यपालिका सदस्य समेत रहेकी भण्डारीको कोरोना संक्रमण पश्चात उपचारका क्रममा धौलागिरी अस्पताल बागलुङमा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।
रुघाखोकी र कोरोनाको लक्षण देखिएपछि भण्डारीलाई गएराति ८ बजे धौलागिरी अस्पतालमा भर्ना गरिएको थियो । उनको १९ गते कोरोना संक्रमण पुष्टि भएको र सोमबार राति अस्पतालको आइसियुमा भर्ना गरिएको अवस्थामा उपचारकै क्रममा ज्यान गएको घिमिरेले बताए ।
