दुर्घटनाग्रस्त अवस्थामा भेटियो मनाङ एअरको हेलिकप्टर, ६ जनाकै मृत्यु

दुर्घटनाग्रस्त अवस्थामा भेटियो मनाङ एअरको हेलिकप्टर, ६ जनाकै मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । सोलुखुम्बुबाट काठमाण्डौका लागि उडेको मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको लामोजुरा क्षेत्रमा दुर्घटना हुँदा ६ हेलिकप्टरमा सवार ६ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा क्पाप्टेन चेत गुरुङ र मेक्सिकन नागरिकहरु सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सीफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक रहेका छन् ।

हेलिकप्टरमा एक जना पाइलट र पाँच जना यात्रु रहेका थिए । पाइलट नेपाली नागरिक हुन् भने यात्रु सबै मेक्सिकोका नागरिक रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । यात्रुमध्ये तीन जना महिला र दुई जना पुरुष थिए । बिहान १० बजेर ५ मिनेटमा सोलुखुम्बुबाट उडेको हेलिकप्टर १० बजेर १३ मिनेटपछि सम्पर्कविहीन भएको भएको थियो ।

खोजी तथा उद्धारका लागि नेपाली सेना, प्रहरी र काठमाण्डौबाट एल्टिट्युड एअरको हेलिकप्टर परिचालन गरिएको थियो । तर काठमाण्डौबाट गएका दुई वटा हेलिकप्टरले दुर्घटनास्थलमा अवतरण गर्न नसकेपछि २० मिनेटको पैदल दुरीमा अवतरण गरेको र स्थानीयले हेलिकप्टर खसेर आगो लागेको देखेको जानकारी गराएका थिए ।

सोलुखुम्बुको सुर्केबाट काठमाडौका लागि उडेको मनाङ एयरको नाईन एनए एमभि कलसाईन हेलिकप्टर लिखुपिके गाउँपालिका ५ भकान्जे स्थित लामाजुराको च्यानडाँडामा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको थियो । मृत्यु भएका ६ जनाकै शव भेटिएको प्रहरीले जनाएको छ । मृतकहरु सबैको शव क्षतविक्षत अवस्थामा भेटिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.