निशुल्क उपचार: ख्वप अस्पताललाई स्थानीयले गरे ४ कराेडबढी सहयाेग

निशुल्क उपचार: ख्वप अस्पताललाई स्थानीयले गरे ४ कराेडबढी सहयाेग

उपत्यकाको पूरानो नेवारी साँस्कृतिक केन्द्रको रुपमा परिचित सहर भक्तपुर नगरपालिकामा छौं । यो नगर राजधानी काठमाण्डौबाट १५ कि.मी. पूर्वमाअवस्थित छ । भक्तपुरको पूर्वमा काभ्रे जिल्ला, उत्तर पूर्वमा काठमाण्डौ जिल्ला र दक्षिणमा ललितपुर जिल्ला पर्दछ । समद्री सतहबाट १ हजार ४ सय १ मीटर माथि अवस्थित यो नगर ६.८८ वर्ग कि.मी.मा फैलिएको छ । ९० प्रतिशतभन्दा बढी नेवार र अन्य समुदायको बसोबास छ । युनेस्कोद्धारा सन् १९७९ मा विश्व सम्पदा सूचीमा सूचीकृत यस शहरलाई जुजु धौ, भादगाउँले टोपी, हाकु पटासी, माटोको भाँडाकुडा र हस्तकलाका साथै नाँचगानको राजधानी आदीले समेत यसको परिचय र मौलिकता झल्काउँछ । आजको कैलाश फोकश यसैमा केन्द्रित छ: सम्पादक

जनस्तरबाट निर्मित ख्वप अस्पतालले दियो जनतालाई निशुल्क उपचार
भक्तपुर । कोभिड १९ ले विश्वलाई रूवाईरहेका बेला त्यसको प्रत्यक्ष मारमा नेपाल पनि परिरहेको छ । कोरोना कहरले नागरिकमा त्राहिमाम बनिरहेको अवस्थामा भाइरसको नयाँ भेरियन्ट संक्रमण तीब्र गतिमा फैलिरहेको छ । काेभिड संक्रमितको उपचारमा राज्यले नै नसक्ने भनेर हात उठाईरहेका बेला यता ख्वप अस्पतालले भने निशुल्क उपचार गरिरहेको छ ।

भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप अस्पतालले निःशुल्ल उपचार थालेपछि नगरबासीले पनि अस्पताललाई चाहिने आवश्यक अक्सिजन प्लान्ट, भेन्टिलेटर, आइसीयुलगायतका स्वास्थ्य उपकरणका लागि जनस्तरबाटै आर्थिक एवं भौतिक सहयोग गरेका छन् । स्वतस्फूर्त रूपमा स्थानीय, विभिन्न संघ सस्था, सहकारीहरू आफै जुटेर संकलन गरेको रकम यो समाचार तयार पार्दा सम्म १ करोड ३४ लाख ६९ हजार ६ सय २५ रुपैयाँ संकलन भएको छ । जनस्तरबाट एकै दिनमा लाखौं रूपयाँ उठ्ने गरेको नगरपालिकाले जनाएकाे छ ।

कोरोना कहरमा संक्रमित बचाउन अक्सिजनको अभाव हुन थाल्यो सहयोग गर्नु प¥यो भनेर भनपाले प्रदेश सरकार र केन्द्र सरकारसंग सहयोग माग्यो । तर सरकारले सहयोग गर्छाैं भन्ने मात्रै काम गरेकाे र अहिले सम्म सहयाेग नगरेकाे गुनासाे नगरले गरेकाे छ ।

सरकारले सहयोग नगरेपछि नगरपालिकाले विकासे बजेटबाट केही रकम काटेर भएपनि निशुल्क रुपमा नागरिकको उपचार गर्ने सोच बनाएको नगरपालिकाले जनायो । नगरपालिकाले नगरबासीलाई सन्देश पठायो विकासे बजेट काटेर जनताको उपचार गरौं कि के गरौं ? भनेर नगरबासीलाई नगरपालिकाले सोध्यो । सरकारको बजेट होइन हामी सहयोग गर्छौं भनेर नगरबासीले जवाफ दिए । अनि सहयोग संकलन अभियान आफै थाले ।

अभियान थालेको हप्तादिन नपुग्दै जनस्तरबाट यति धेरै सहयोग रकम संकलन हुनुमा नगरपालिकाले गर्वको अनुभुति गरेको छ । कोभिड रोग संक्रमणको जोखिम न्यूनिकरण एवं संक्रमितहरुको उपचारका लागि नगरपालिकाले गरिरहेको कार्यप्रति जनताको उच्च मूल्यांकन गरेको र यो इतिहास बनेर भोलिको पुस्ताले स्मरण र अनुसरन गर्ने नगर प्रमुख सुनिल प्रजापतिले बताए ।

उनले भने, ख्वप अस्पताललाई जनताको अस्पताल बनाउने अभियान थाल्यौं, यो महामारीमा पनि जनताले नै अपनत्व लिएको यो एक उदाहरणको रुपमा पनि लिन सकिन्छ ।’ कोभिड–१९ को दोस्रो लहर समुदायमा संक्रमण झन झन फैलिदै गएको, अस्पतालमा सामान्य बेड, आइसीयू र भेन्टिलेटर पाउन मुश्किल हुन थालेको र उपचारको निम्ति आधारभूत आवश्यकताको रुपमा रहेको अक्सिजनसमेत अभाव भएर कैयौं विरामीहरु अकालमै मृत्युवरण गर्न वाध्य भएको अवस्थामा देशभर देखियो ।

यता यहि अवस्थाको बीचबाट गुज्रीएर भक्तपुर नगरपालिकाले अक्सिजन प्लान्ट जडान गर्ने तयारी थालेको छ । प्लान्ट जडान तथा आइसीयु र भेन्टिलेटरको निम्ति संघीय सरकार र प्रदेश सरकारसंग पटक पटक सहयोग माग गरेपनि अहिलेसम्म दुवै सरकारले सुनुवाई नगरेको प्रमुख प्रजापतिले बताए ।

उनले भने, ‘नगरपालिकाद्वारा संचालित जनस्वास्थ्य केन्द्रले विरामीको उपचारवापत वीमामार्फत आउनुपर्ने करिब साढे ५ करोड रुपैयाँ समेत संघीय सरकारले अहिलेसम्म निकासा दिएको छैन तर सकारबाट पैसा आएन भनेर विरामीको उपचार गर्न रोक्दैनौं ।’ उनले थपे, ‘स्थानीय जनतालाई नगरपालिकाको सबै आयव्यय पारदर्शी गरेपछि जनताको अस्पताल निर्माणमा जनता आफैं जागेको उदाहरण हो सहयोग संकलन अभियान, अब जनताले स्वेच्छाले दिएको पैसाबाट नै हामी अक्सिजन प्लान्ट, भेन्टिलेटर र आइसीयु स्थापना गर्छौं ।’

भक्तपुरका जनताले आफ्नो गाँस काटेर ख्वप अस्पतालका लागि हार्दिकता पूर्वक सहयोग गरेको नगर प्रमुखको भनाई छ । नगरपालिकाले सहयोगको आह्वान नगर्दै जनताले आर्थिक सहयोग गर्न थालेको बताउँदै प्रजापतिले ब्रम्हायणीस्थित आफ्नै भवनमा २५ शैयाको हाइ डिपेन्डेन्सी यूनिट (एचडीयू) र ५० शैयाको आइसोलेसनसहित ख्वप अस्पताल कोभिड यूनिट संचालन गरेको बताए ।

हालसम्म सो यूनिटबाट १५६ जना विरामीको उपचार पाइसकेको बताए । एकान्तवासमा बस्न नमिल्ने तथा अक्सिजन आवश्यकता हुने विरामीहरुको अहिले उपचार भइरहेको यस यूनिटमा २ जना एमबीबीएस डाक्टरसहित ६ जना स्टाफ नर्सले चौविसै घण्टा उपचार सेवा दिइरहेका छन् । एक जनरल फिजिसियनले दिनभरि र एक एनेस्थेसियोलोजिस्टले सेवा दिइरहेको यस अस्पतालमा सम्पूर्ण उपचार खर्च निःशुल्क भइरहेको नगर प्रमुख सुनिल प्रजापतिले कैलाश खबरलाई बताए ।

उनले भने, ‘हामीले अस्पतालमा दैनिक उपचार गरिरहेका विरामीहरुको विस्तृत विवरण केन्द्र सरकारलाई पठाइरहेका छौं । सरकारले उपचार खर्च पठाउने कुरा गरेको छ तर कहिले पठाउने हो निश्चित छैन ।’ सरकारले खर्च नपठाउँदा पनि नगरपालिकाले आफ्नै विकास बजेट कटाएर भए पनि स्वास्थ्य उपचारलाई पहिलो प्राथमिकता राखेको उनको भनाईछ । ख्वप अस्पताल संचालनका लागि दैनिक रुपमा जनस्तरबाट आर्थिक सहयोग आइरहँनुलाई के भन्नु हुन्छ भन्ने प्रश्नमा प्रजापतिले नेपाल मजदुर किसान पार्टीको मार्गनिदेशन र यसका कार्यकर्ताहरुले जनताको निःस्वार्थ सेवा गरिरहेकोले जनताले मूल्यांकन गरेको बताए ।

जनताको काम इमान्दारितापूर्वक गर्नुले नै अहिले महामारीमा जनताले नै मुल्याङ्कन गरिरहेको बताए । आफ्नो छाक काटेर अस्पतालका निम्ति सहयोग गर्नुले नै जनप्रतिनिधिले सहि काम गरिरहेको नगरले ठानेको छ । सहयोगी विभिन्न संघ सस्था, सहकारी, विभिन्न व्यक्ति तथा संस्थाबाट प्राप्त सहयोग गर्ने सबैलाई धन्यवाद दिदै सहयो ग्रहण गरिरहेका दृश्य दैनिक जसो देखिएको छ । कोभिड संक्रमणको जोखिममा समेत अस्पतालको स्वास्थ्य सामग्री खरिदका लागि स्थानीय जनताले सहृदयतापूर्वक नगरपालिकालाई आर्थिक सहयोग प्रदान गरिरहेको देखिन्छ ।

भक्तपुरका जनप्रतिनिधि र भक्तपुरबासी जनताको एकतावद्ध भावनाबाट अन्य नगरपालिकाले र जनप्रतिनिधिले सिक्न जरुरी छ । नगरपालिकाले सहयोगको आह्वान नगर्दै अक्सिजन प्लान्ट, भेन्टिलेटर र आइसीयू स्थापनाको लागि जनस्तरबाट करोडौं सहयोग संकलन हुनु चानचुने कुरा पक्कै होइन । कम्युनिष्ट सरकार हो भनेर दावी गरिरहेकाहरुको लागि भक्तपुर मोडेल एक अनुकरणीय मोडल हुने पक्का छ ।

मेयर प्रजापतिसंग गरिएको कुराकानी सुन्न र हेर्न यहाँ क्लिक गर्नुहोस्…..

भक्तपुर नगरपालिकाले १०० शैया क्षमताको ख्वप अस्पताल संचालनका लागि भनपा ९ च्याम्हासिंहमा भवन निर्माण कार्यलाई तीब्रता दिएको छ । नगरपालिकाको आफ्नै लगानीमा निर्माण भइरहेको उक्त भवनमा सुविधासम्पन्न अस्पताल संचालनको तयारी भइरहेको छ भने यसमा जनताले सहयोग गरिरहेका छन् ।

उक्त भवनसंगै नगरपालिकाको जनस्वास्थ्य केन्द्र संचालनमा छ । विशेषज्ञहरुबाट नियमित ओपीडी सेवा, इमरजेन्सी सेवा, ल्याव सेवा, एक्स रे र अल्ट्रासाउण्ड, सेवा, फिजियोथेरापी सेवा, खोप सेवा र फार्मेसी सेवा संचालनमा छ ।

 

 


Thali Mobile Pvt.Ltd.