भक्तपुर । नेपाली काँग्रेस भक्तपुर क्षेत्र नं २ प्रदेशसभा (ख)को प्रथम ऐतिहासिक प्रदेश सम्मेलनको तयरी पुरा भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी साउन २७ गते शनिबार हुने प्रथम ऐतिहासिक सम्मेलनको तरी पुरा भएको नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं २ प्रदेशसभा (ख)ले जनाएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं २ को प्रदेशसभा (ख)का सभापति ओम प्रकाश श्रेष्ठले सम्मेलनको बन्द सत्रमा भक्तपुर क्षेत्र नं २ को प्रदेशसभा (ख) अन्तर्गत मध्यपुर थिमि नगरपालिकाको ९ वटै वडाका क्षेत्रीय प्रतिनिधि, वडा समितिका पदाधिकारी, यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने पार्टी केन्द्रीय सदस्य, महासमिति एवम् महाधिवेशन प्रतिनिधिहरु, जिल्ला, क्षेत्र र नगरका पदाधिकारीहरु, पर्यवेक्षकहरु र पार्टीका शुभचिन्तकहरु समेत गरी करिव ५ सय जनाको सहभागिता रहने जानकारी दिए ।
उनले उद्घाटनको खुल्ला सत्र नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले उद्घाटन गर्ने र सहमहामन्त्री जीवन परियार, पार्टी बागमती प्रदेशका सभापति इन्द्र बानियाँ, जिल्ला सभापति एवम् सांसद दुर्लभ थापा, पार्टी केन्द्रीय सदस्यहरु समेतको सहभागिता रहेने बताए ।
बन्दसत्रमा सहमहामन्त्री जीवन परियारले “वर्तमान परिस्थिती र नेपाली कांग्रेस” विषयमा कार्यपत्र प्रस्तुत गर्ने,बन्दसत्रमा नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं २ को प्रदेशसभा (ख) का सभापति ओम प्रकाश श्रेष्ठले राजनीतिक प्रतिवेदन, सचिव बालकृष्ण श्रेष्ठले सांगठानिक प्रतिवेदन, सचिव प्रेम कुटुले आगामी वर्षको कार्ययोजना, कोषाध्यक्ष बिनु केसीले आर्थिक प्रतिवेदन पेश गर्ने सम्मेलनको कार्यतालिका रहेको सभापति श्रेष्ठले जानकारी दिए । सम्मेलनमा ५ लाख रुपैया खर्च हुने सम्मेलन आयोजक समितिले जनाएको छ ।
