पहिरोमा पुरिएर आमाछोरीको मृत्यु

पहिरोमा पुरिएर आमाछोरीको मृत्यु

रुकुम पश्चिम । आठबीसकोट नगरपालिका–१४ पिपलचौरमा आएको पहिरोमा परेर आमाछोरीको मृत्यु भएको छ । पिपलचौरमा रहेको सामुदायिक वनको भवन पहिरोले पुर्दा दुई आमाछोरीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा जाजरकोट जिल्लाको भेरि नगरपालिका १ मैदैकी ३० वर्षीया बालमती राना र उनकी दुई वर्षीया छोरी प्रतिक्षा राना रहेको प्रहरीले जनाएको छ ।

जेठी छोरी ६ वर्षीया तिर्सना राना भने जीवितै उद्धार गरिएको आठबीसकोट नगरपालिका १४ का वडा अध्यक्ष हुकुम पुनले बताए । आइतबार बिहान जाजरकोट नलगाड नगरपालिका १ स्थित माईतीघरबाट घर फर्कने क्रममा पानी पर्दा उनीहरू पिपलचौरमा रहेको छेपारे सामुदायिक वनको भवनमा ओत लागेका थिए ।

सोही समयमा भवन माथिबाट आएको पहिरोमा परेर उनीहरू पुरिएका हुन् । पहिरो पन्छाउने क्रममा सामुदायीक भवनको झ्यालमा चेपिएको अवस्थामा तिर्सनाको उद्धार गरिएको र दुई जनाको शव निकालिएको हो ।

घाइते तिर्सनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जाजरकोट प्रहरी प्रमुख डिएसपी सन्तोष निरौलाले बताए ।

 


Thali Mobile Pvt.Ltd.