काठमाडौं । आउँदो ४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा ७९ वटा दलको निर्वाचन चिह्न कायम हुने भएको छ । आगामी प्रतिनिधि सभा निर्वाचनमा ७९ वटा राजनीतिक दलका निर्वाचन चिह्नमध्येबाट मतपत्रमा कायम रहनेगरी जम्मा सहभागी हुने दलको संख्या ८७ कायम भएको निर्वाचन आयोगले बताएको छ ।
तीबाहेक अन्य स्वतन्त्र उम्मेदवारका निर्वाचन चिह्न रहनेछन् । निर्वाचन प्रयोजनका लागि दलदर्ता गर्न तोकेको समयभित्र ८० वटा दल दर्ता निवेदन र एकल चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने प्रयोजनका लागि चारवटा निवेदन गरी कुल ८४ वटा निवेदन परेको आयोगले जनाएको छ ।
जुन जिल्लामा जुन दलका उम्मेदवार कायम रहन्छन् ती दलको मात्रै चिह्न मतपत्रमा समावेश हुनेसमेत जानकारी दिए । जुन जिल्लामा प्रत्यक्षतर्फ जुन दलका उम्मेदवार कायम रहन्छन्, ती दलका मात्रै चिह्न हुने, उम्मेदवार नहुने दलको चिह्न मतपत्रमा नरहँने आयोगका प्रवक्ता पौडेलले बताए ।
केही दलले निर्वाचनमा संयुक्त चिह्नसहित सहभागी हुनेगरी आयोगमा दल दर्ता गराएकाले निर्वाचनमा सहभागी हुने दलको संख्या बढी देखिएको तथा चिह्न कम हुने भएको आयोगले जनाएको हो ।
प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन ७५ दलले आआफ्नो निर्वाचन चिह्नबाट सहभागी हुने गरेर तथा १२ दलले संयुक्त निर्वाचन चिह्न लिएर निर्वाचनमा सहभागी हुनेगरी आयोगमा निवेदन दिएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।
ती १२ दलले ४ दलका संयुक्त चिह्नबाट निर्वाचनमा सहभागी हुन चाहेका छन् । यसरी आगामी प्रतिनिधि सभा निर्वाचनमा भाग लिने दलको संख्या ८७ र चिह्न ७९ कायम भएको हो ।
