विराटनगर । प्रदेश १ का २४ वटा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ । सुनसरी ३, ४ र उदयपुर १ मा मतगणना जारी छ । उदयपुर १ मा कांग्रेस उम्मेदवार डाक्टर नारायण खड्काको अग्रता छ भने सुनसरी ३ मा एमाले उम्मेदवार भगवती चौधरीको अग्रता छ । सुनसरी ४ मा कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदिश प्रसाद कुसियैत बीच कडा प्रतिस्पर्धा चलिरहेको छ ।
२०७४ सालमा माओवादी केन्द्रसँग तालमेल गरेको एमालेले प्रदेश १ मा १६ वटा क्षेत्र जितेको थियो । जसपा र राप्रपासँग तालमेल गरेको एमालेले यो पटक १२ वटा सिट जितेको छ । २०७४ सालमा ६ सिट जितेको माओवादी केन्द्र तीन सिटमा खुम्चिएको छ । पाँच वर्ष अघि पाँच वटा क्षेत्र जितेको नेपाली कांग्रेसले यो पटक ७ वटा क्षेत्रमा विजयी भएको छ । जसपा, राप्रपा र स्वतन्त्र उम्मेदवार एक(एक क्षेत्रमा विजयी भएका छन् ।
कसले कति जिते ?
ताप्लेजुङमा एमाले उम्मेदवार योगेश भट्टराई निर्वाचित भएका छन् । २०७४ सालमा पनि उनी नै विजयी भएका थिए । पाँचथरमा एमाले उम्मेदवार बसन्त नेम्वाङ विजयी भएका छन् । इलाम १ मा झलनाथ खनाललाई पराजित गर्दै एमालेका महेश बस्नेत निर्वाचित भए । इलाम २ मा एमालेका सुवास नेम्वाङ झिनो विजयी भए । २०७४ सालमा इलाम १ बाट खनाल विजयी भएका थिए ।
झापा १ मा कांग्रेस उम्मेदवार विश्वप्रकाश शर्मा विजयी भए । यसअघि माओवादी नेता राम कार्की विजयी भएका थिए । झापा २ बाट एमाले उम्मेदवार देवराज घिमिरे विजयी भए । झापा ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भए । यो पटक पनि सिटौलालाई नै हराए । झापा क्षेत्र नम्बर ४ मा एलपी सावा र झापा ५ मा केपी शर्मा ओली निर्वाचित भए ।
मोरङ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका डिगबहादुर लिम्बु, क्षेत्र नम्बर २ मा नेकपा एमालेका ऋषिकेश पोखरेल, क्षेत्र नम्बर ३ मा कांग्रेसका डाक्टर सुनिल शर्मा, क्षेत्र नम्बर ४ मा माओवादीका अमनलाल मोदी, क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल र क्षेत्र नम्बर ६ मा कांग्रेसका डाक्टर शेखर कोइराला निर्वाचित भए । संखुवासभामा कांग्रेस उम्मेदवार दीपक खड्का निर्वाचित भए ।
तेह्रथुमबाट कांग्रेस नेता सीता गुरुङ निर्वाचित भइन् । भोजपुरमा माओवादी केन्द्रका सुदन किराती दोहोरिएका छन् । धनकुटामा एमाले नेता राजेन्द्र राई दोहोरिएका छन् । सोलुखुम्बुमा नेकपा एमालेका मानबहादुर राई निर्वाचित भए । खोटाङमा नेकपा माओवादी केन्द्रका रामकुमार राई निर्वाचित भए ।
ओखलढुंगामा नेपाली कांग्रेसका रामहरि खतिवडा निर्वाचित भए । उदयपुर क्षेत्र नम्बर २ मा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भए । सुनसरी क्षेत्र नम्बर १ मा जसपा नेता अशोक राई विजयी भए । सुनसरी क्षेत्र नम्बर २ मा नेकपा एमालेका भीम आचार्य निर्वाचित भएका छन् । २०७४ सालमा सो क्षेत्रबाट कांग्रेस नेता सीताराम मेहता निर्वाचित भएका थिए ।
