काठमाडौं । ५० सदस्यीय जम्बो टोलीको नेतृत्व गर्दै आज दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा भारतको भ्रमणमा जाँदै छन् । गठबन्धनबाट प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो ।
देउवा आज अपराह्न नेपाली टोलीको नेतृत्व गर्दै तीन दिने भ्रमणका लागि भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्ने सचिवालयले जनाएको छ । भ्रमण टोलीमा चार मन्त्रीसहित ५० सदस्य रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
टोलीमा परराष्ट्र, ऊर्जा, कृषि र स्वास्थ्यमन्त्री लगायतको सहभागिता रहने छ । भारतमा प्रधानमन्त्री देउवाले द्विपक्षीय हित, सहयोग अभिवृद्धि लगायतका विषयमा भारतीय पक्षसँग छलफल गर्ने बताइएको छ ।
भारतसँग रासायनिक मलको सहज आपूर्ति, बिजुली आयात–निर्यात, सीमा विवाद लगायतका विषयमा छलफल गर्ने तयारी छ । परराष्ट्र मन्त्रालयले भ्रमणको एजेण्डा सार्वजनिक गरेको छैन ।
सिमा विवादवारे पनि छलफलको एजेण्डा बनाउनु पर्ने विभिन्न राजनैतिक दलले सुझाव दिएको बुझिएको छ । १९ गते प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रधानमन्त्री देउवाले भेटवार्ता गर्ने तालिका सार्वजनिक भएको छ ।
सोही अवसरमा दुवै देशका प्रधानमन्त्रीले जनकपुर जयनगर रेल सेवाको संयुक्त उदघाटन गर्ने कार्यक्रम पनि छ ।
