पछिल्लो समय उपचार पद्दतीका रुपमा निकै प्रभावकारी मानिएको छ फिजियोथेरापी । फिजियोथेरापी के हो ? किन गरिन्छ फिजियोथेरापी ? यसको प्रभावकारी, उपयोगिता र यसका फाइदा अथवा बेफाइदा के हुन भन्ने विषयमा कैलाश खबरको ध्यान केन्द्रीत भएको छ । फिजियोथेरापीले रोग अवस्यै निको हुन्छ त ? यि र यस्तै विषयमा खोतल्ने प्रयास गरेका छौं ।
हुनत मेसिनको सहायताले वा शारीरिक कसरतबाट रोग निदान गर्ने तथा पीडा कम गर्न सघाउने उपचार विधि हो फिजियोथेरापी । एलोप्याथी अन्तर्गत पर्ने यो विधि धेरै किसिमका रोगको उपचारका लागि उपयुक्त रहेको वरिष्ठ फिजियोथेरापिष्ट डा. उषा गुरुङ बताउँछन् । फिजियोथेरापीले हिँड्न नसक्नेलाई हिंड्न सक्ने बनाउनुका साथै विभिन्न अपिडिक समस्याको सर्जरीपछि अंगहरूको सम्हालन क्षमता फर्काउनसमेत सहयोग पुयाने उनको भनाइ छ ।
औषधि विज्ञानको महत्वपूर्ण भाग फिजियोथेरापी पनि हो । भौतिक चिकित्सा विज्ञान पद्धतिद्वारा नै यसको उपचार गरिन्छ । फिजियोथेरापी कुनै जुुनसुकै उमेर समूहका व्यक्तिका लागि एकदमै महत्वपूर्ण उपचार पद्धति रहेको उनी बताउँछिन् । जसमा औषधिको प्रयोगभन्दा पनि शरीरका जोर्नीहरू, चिसो तातोको प्रयोग, मांसपेशीका तन्तुलाई चलाएर उपचार गरिन्छ ।
फिजियोथेरापीको मुख्य काम भनेको मानिसलाई सक्रिय र क्रियाशील बनाउनु हो । रोगीको अवस्थालाई पुरानै जीवनशैलीमा ल्याउन यसले निकै मद्दत गर्छ । कतिपय अवस्थामा एउटा रोगको कारणले शरीरका विभिन्न अंगमा असर पारिरहेको हुन्छ नै । जसका कारण मानिसको जीवनशैलीमा नकारात्मक असर पु¥याइरहेको हुन्छ भन्छिन् डा. उषा ।
औषधिको प्रयोगविना विभिन्न तरिकाबाट गरिने थेरापीले बिरामीलाई स्वस्थ बनाउन मद्दत गर्नेमा समेत यो विधिले सहायता प्रदान गर्नेमा उनको जोड छ । हाडजोर्नी तथा नसासम्बन्धी समस्या लिएर आउने बिरामीमा प्रायजसो हड्डी खिइएर नसा च्यापिएका, घाँटीको हड्डी खिइएका, हड्डी कमजोर भएका, क्याल्सियमको कमीले हड्डी बांगिने र कति त जन्मजात हड्डी बांगिएको पनि हुन्छन् भन्छिन् उनी । यस्तै, कम्मरमा हड्डी खिइने वा उमेरअनुसार हड्डी खिइएर नसा च्यापिने बढी हुन्छ भन्छिन् ।
मानिसको दैनिक जीवनमा अब डिजिटलाइज जीवन शैली भएकाले टेवल वर्क बढी हुने वा काम गर्ने तरिका नमिलेर तथा मांसपेशी कमजोर भएर समस्या देखिने गरेको उनको भनाइ छ । भारतको पंजावमा अध्यन गरी चीनमा समेत कार्यअनुभव बटुलि सकेकी डा. उषा गुरुङसंग बिगत लामो समयदेखीको अनुभव रहेको सुनाइन् । नेपालका धेरै अस्पतालहरुका काम गरिरहेकी र हाल आयु सुपरस्पेशियालिटी क्लिनिकमा कार्यरत उनै डा. उषा गुरुङसंग फिजियोथेरापीसंग सम्बन्धीत विविध पाटापक्ष केलाउने प्रयास गरेका छौंः प्रधान सम्पादक
पारिवारिक व्याकग्राउण्ड आर्मी भएको हुनाले बाबा आमाले आर्मी नै बनाउँन चाहेको तर पछि आफ्नै जिद्दिका कारण डाक्टर बनेकी उनै बरिष्ट फिजियोथेरेपिस्ट डाक्टर उषा गुरुङसंग सम्पादक रक्तिम दैलेखीले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
१) कैलाश खबरमा यहाँलाई स्वागत छ ।
मेरो कुरा राख्ने मौका दिनु भएकोमा हजुर र कैलाश खबरलाई धेरै धेरै धन्यवाद ।
२, फिजियोथेरापी के हो, सामान्यतया यसलाई एक्सरसाइज हो भन्ने बुझाइ आम मानिसको छ ?
यो फिजियो भनेको फिजिकल हो थेरापी भनेको ट्रेनिङ्ग हो । यो धेरै पुरानो पद्दति हो । व्यायमको माध्यमबाट मांशपेसिहरुलाई सक्रिय बनाएर जागरुक गर्ने उपचार विधिलाई नै हामीले भौतिक चिकित्सा वा फिजियोथेरेपी भन्छौ ।
मुख्यतः यसमा व्यायम, ईलेक्ट्रिकल थेरेपी र हाईड्रो थेरेपीको सहयोगले गरिन्छ । फिजियोथेरेपी पद्दतिमा नशा, हाडजोर्नी र मांसपेसिको उपचार गरिन्छ । सर्जिकल बाहेकका कुनै पनि किसिमको दुखाई फिजियोथेरेपिको उपचार पद्दतिबाट निमूर्ल पार्न सक्छौ । हातले मेनुप्लेट गछौं । जोर्नीको चलायमान गराउन यो गरिन्छ ।
२) यहाँले अध्यन कहाँ गर्नु भयो ?
मै २०१६ मा मास्टर्स सकाएको हो । म अमृतसरमा जन्मेर उतै पढें । हाडजोर्नीमा विशेषज्ञता हासिल गरे ।
३) चीनमा पनि पुग्नु भयो, त्यहाँ कस्तो अनुभव गर्न भयो ?
हे, चीनमा बस्दा धेरै व्यवहारिक पक्षका बारेमा जान्ने मौका पाए । लाइफस्टाइल एकदमै बिजी छ । टाइमको अति नै ख्याल गर्ने । हामी नेपालीमा भने भावनाको र टाइमको ख्याल गरिदैन । तर हामीले फर्किने बेलामा उनीहरुको जुन अट्याच्मेन्ट पाइयो त्यो क्षेण भने विर्सन सक्दैन । नेपाली इमान्दार, कडापरिश्रमी, कामप्रतिको वफादारीता छ भनेर भन्ने गर्छन् ।
४) फिजियोथेरापी कुन उमेर समूहका विरामीहरुका लागि हो ?
यसको उमेर समूह भन्ने छैन । खासमा फिजियोथेरापिमा बढी वृद्धसमूहका विरामिहरु नै आउने गर्दछन् । वृद्धावस्थामा स्टोप्रोसिस, जोर्निको दुखाई, नसा तथा बाथ सम्बन्धी रोग बढी हुनेभएकोले वृद्धवृद्धाहरु नै बढी आउँछन् । तर अहिले सबै उमेर समूहका व्यक्तिहरु आउँछन् ।
५) के कस्ता उपकरणहरुको प्रयोग गरिन्छ र यो पद्दतिमा कसरी उपचार गरिन्छ ?
फिजियोथेरापी उपचार पद्दति जटिल पनि छ र सरल पनि छ । यो दुवै छ । यसमा हामीले व्ययाम द्दारा (भौतिक) शारिरीक कार्यहरुबाट उपचार गर्छौं । अर्को ईलेक्ट्रिक थेरापिद्धारा गरिन्छ । यसको लागि विद्युतिय उपकरणहरूको प्रयोग हुन्छ । अर्को हाईड्रोथेरापी हो । हाईडोथेरापीमा पानी, बरफ प्रयोग हुन्छ । फिजिकल थेरापी, इलेक्ट्रिकल थेरापी र हाईड्रो थेरापीको मिश्रण नै फिजियोथेरापी हो भनेर बुझ्दा उपयुक्त हुन्छ ।
६) विद्युतिय उपकरणले बिरामिलाई असर हुन्छ होलानी ?
यसमा कुनै किसीमको औषधि वा रसायनको प्रयोग गरिदैन । त्यसैले पनि कुनै प्रभावको ठाउँने रहदैन । यो पूर्ण सुरक्षित हुन्छ । तर यदि फिजीयोथेरापिस्टले नै गलत तरिकाले ग¥यो भने त्यसमा असर पर्न सक्छ । यसमा फिजीयोथेरापिस्टहरु स्वास्थ्य प्रति पूर्ण बफादार भएकाले त्यस्तो गलत तरिकाले गरिन्छ भन्ने रहदैन ।
७) फिजियोथेरापी कस्तो पद्दती हो ?
थेरापीलाई पुरानै पद्दती मानिन्छ । डाटाबेस हेर्नेहो भने यसको सुरुवात १८२३ मा भएको हो । १८८७ मा स्विडेनमा स्थापना भयो । त्यसपछि १८९४ मा ब्रिटेनमा सेन्ट्रल सोसाईटि अफ फिजियोथेरापी भनेर स्थापना भयो यो सायद पहिलो सोसाईटी हो । १९१३ मा न्यूजिल्याण्डले थप विकास ग¥यो । १९१४ मा यू .एस. ए. को कोल्यान्डले ग¥यो । भारत र नेपालमा भने १९४० पछि सुरुवात भएको इतिहास छ । नेपालमा सवैभन्दा पहिला टिचिङ्गमा सुरु भएको हो भने नेपाल सरकारले २०५२ मा पहिलो पटक दरबन्दीको व्यवस्था गरेको थियो ।
८) औषधी र फिजियोथेरापी यसमा फरक केहि छ कि ?
फिजियोथेरापीमा बिरामिको शरीर भित्रको मुख्य स्रोतलाई सक्रिय बनाएर उपचार गरिन्छ । यसमा कुनै पनि औषधिको प्रयोग हुँदैन । हात र विद्युतिय उपकरबाट बिरामीको उपचार गरिन्छ । तर विरामीले औषधि त खानु प¥यो नि । फिजियोथेरापी भनेको विरामीलाई शारीरिक अध्यास गराउने हो । विभिन्न मेसिनहरु आईसकेका पनि छन्, तर ति सबै उपयोग हुँदैनन् । फिजियोथेरापीस्टको हात नै काफी हुन्छ । कतिपय बिरामीको लागि हातले नै काम गर्नु पर्ने हुन्छ र त्यो एकदमै राम्रो पनि हुन्छ ।
९) विरामीहरुलाई पूर्वावस्थामा फर्किन कति समय लाग्छ ?
यतिनै समय बस्नु पर्छ भन्ने थेरापीमा हुँदैन । बिरामिको प्रकृति हेरर समय लाग्छ । कसैको ५ दिनमै ठिक हुन्छ भने कसैको ३ महिना पनि लाग्न सक्छ । यो कुरा बिरामीको प्रकृतिमा नै भर पर्छ ।
१०) आयु सुपरस्पेशिलिटी क्लिनिकमा फिजियोथेरापीको उपचार खर्च कतिको लाग्छ ?
क्वालिटी अफ सर्भिस दिन्छौं । नाफा भन्दा पनि बढी बिरामिको स्वास्थ्यलाई ध्यान दिन्छौं । यो संस्थाको स्थापना नाफा मुलक भन्दा पनि विरामीलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा कसरी दिन सकिन्छ भन्नेमा बढि चिन्तित छौं । त्यसैले यसको स्थापना गरेका हौं । विशेषज्ञ डाक्टरद्धारा सेवा दिने भएकाले देशभरिकै विरामीको अवस्थालाई मध्यनजर गरी सुलभ सर्भिसमा जोड दिएका छौं ।
११) अन्त्यमा विरामीलाई तपाईको सूझाव के हुन्छ ।
रोग लाग्ने बित्तिकै औषधि खाइहाल्नु हुदैन । पहिले चेक गराउनु प¥यो । सामान्य दुखाइ पनि के कारणले भयो ? भन्ने पत्ता लगाउनु पर्छ । तपाईलाई नशा सम्बधि रोगहरु छ भने फिजियोथेरापिस्ट समक्ष जरुर जानु होस् । किनभने फिजियो थेरापी एउटा यस्तो उपचार विधि हो, जस्ले प्यारालाईस भएकाहरुलाई पनि जिवन दिन सक्छि । यस्ता कयौं समस्याबाट गुरजिरहेका र जीवनबाट हार खाएकाहरुको नयाँ जिवन दिएको छ फिजियोथेरापीले । फिजियो थेरापी महंगो पनि छैन् । मोवाइल, ल्यापटप, कम्प्युटर चलाउँदा पनि बसाइलाई ध्यान दिन जरुरी छ । अहिलेको अधिकाँश समय काम गर्ने भनेको टेवल वर्क छ । कुर्सीमा बसेर दैनिक काम गर्ने हरुमा बढि समस्या देखिन्छ । त्यसैले बसाइलाई ख्याल गर्नु पर्छ । बच्चालाई बढि मोबाइल हेर्न दिनु भएन ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…
१२) फिजियोथेरापीको उपयोगी कस्तोमा हुन्छ ?
– ढाड, कम्मर, गर्दन दुख्दा
– हाडजोर्नी तथा नसासम्बन्धी समस्या
– प्यारालाइसिससम्बन्धी समस्या
– श्वासप्रश्वासको समस्या
– मांसपेशीसम्बन्धी समस्या
– आङ खसेको समस्या
– जन्मजात देखिएका समस्या
– प्रजनन तथा स्त्रीरोगसम्बन्धी समस्या
– कुनै दुर्घटना भई चोटपटक लाग्दा
– अपांगतासम्बन्धी समस्या
– उपचारपछि साइड इफेक्ट नहुने
– बिरामीको शारीरिक क्षमतामा वृद्धि हुने
– रोगसँग लड्न सक्ने क्षमता बढ्ने
– दुखाइ कम गरी सक्रिय जीवनशैलीमा फर्काउन सहयोग पुग्ने
अन्त्यमा, अति व्यस्तताकोबीच समय दिनु भयो कैलाश खबरको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद ।
मेरो कार्यको बारेमा बताउने र विरामी तथा नागरिकका गुनासाहरु मेटाउने अवसर दिनु भएकोमा तपाईं र कैलाश खबरप्रति निकै आभारी छु । जनसरोकारका विषयमा कैलाश खबरले निरन्तर आवाज उठाइरहोस भन्ने कामना पनि व्यक्त गर्दछु । धन्यवाद
