काठमाडौं । देशको छवि बिगार्न केही व्यक्तिले सुनियोजित रुपमा साम्प्रदायिक द्वन्द्व भड्काएको बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले आरोप लगाएकी छिन् ।
दुर्गा पूजा मनाउने क्रममा सामाजिक सञ्जालमा फेक पोस्टका कारण बंगलादेशमा साम्प्रदायिक द्वन्द्व मच्चिएको थियो । उक्त द्वन्द्वका क्रममा मुस्लिम समूहले हिन्दूहरुको दर्जनौं घरमा आगजनी गरेका थियो । हिन्दू मन्दिरमा तोडफोडसमेत गरेको थियो ।
बंगलादेशलाई कसैले पनि पछाडि धकेल्न नसक्ने भन्दै हसिना वाजेदले बंगलादेशमा भएका घटनाहरु सुनियोजित भएको बताएकी हुन् । अस्थिरता निम्त्याउन चाहने तत्वले षडयन्त्र गरेको र अब त्यो कहिल्यै पुरा हुन नपाउने उनको जिकिर छ ।
जातीय र साम्प्रदायिक दंगा फैलाउन लामो समयदेखि एउटा समूह लागिरहेको दावी हसिनाको छ । हिंसा भड्काएको आरोपमा प्रहरीले शैकत मन्डललाई पक्राउ गरेको छ ।
