भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा २०८० सालको गाईजात्रा पर्व (सापारु) प्रदक्षिणा मार्गमा मंगलबार बिहान विशेष सरसफाई गरिएको छ । यस वर्षको गुन्हिपुन्ही (जनैपूर्णिमा) र सापारु (गाईजात्रा) एकै दिन परेको कारण जनमानसमा अन्योल पैदा नहोस् भनी भक्तपुर नगरपालिका र सरोकारवालाहरूबीच भएको छलफलले २०८० भदौ १३ गते बुधबार गुन्हिपुन्ही (जनैपूर्णिमा) र मिति २०८० साउन १४ गते सापारु (गाईजात्रा) मनाउने निर्णय गरेको हो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीको नेतृत्वमा भक्तपुरको दत्तात्रयबाट सुरु भएको सरसफाई ¥याली गोल्मढी, सुकुलढोका, टौमढी, नासमना, वंशगोपाल, तेखापुखु, इटाछेँ, खौमा हुँदै दरबार क्षेत्र फसिदेग अगाडि पुगी सभामा परिणत भएको थियो ।
सरसफाई कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाको आयोजनामा भएको सचेतनामूलक सरसफाई कार्यक्रममा सहभागी सम्पूर्णमा धन्यवादज्ञापन गर्दै प्रदिक्षणा मार्गमा रहेका फोहोर व्यवस्थापन र जात्रा अवधिभर शान्तिपूर्ण वातावरण कायम गर्न सचेतना कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
सापारु नेवार समुदायको एक मौलिक पहिचान बोकेको जात्राको रुपमा प्रख्यात भएको बताउँदै उहाँले भक्तपुरको गाईजात्रा हेर्न काठमाडौं उपत्यका र उपत्यका आसपासका हजारौं जात्रालुहरु भक्तपुरमा जात्रा हेर्न आउने भएकोले यहाँको सरसफाई, पार्किङ व्यवस्थापन, स्वयम्सेवक परिचालनलगायतका विषयमा नगरपालिकाले विशेष पहल गर्दै आएको बताउनुभयो ।
भक्तपुर नपाले विद्यालय तथा कलेजहरुमा विद्यार्थीहरुलाई गाईजात्रा पर्वबारे जानकारी दिन स्थानीय पाठ्यक्रम लागू गर्दै आएको बताउँदै विद्यालयहरुले विद्यार्थीहरुलाई घिन्ताङघिसी तथा मौलिक नाचहरुको प्रशिक्षण समेत सञ्चालन गर्दैै आइरहेको बताउनुभयो ।
त्यस्तै उपप्रमुख रजनी जोशीले भक्तपुरको कला र संस्कृति संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले भक्तपुर नपाले विविध सांस्कृतिक गतिविधिहरु सञ्चालन गर्दै आइरहेको बताउँदै गाईजात्रा पर्व पनि भक्तपुरको महत्वपूर्ण संस्कृतिक पर्वको रुपमा रहेको हुँदा सभ्य ढंगले यो जात्रा मनाउन आग्रह गर्नुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले नपाको आयोजनामा भएको सरसफाइ कार्यक्रममा सहभागी सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी र विद्यालय शिक्षक–शिक्षिका तथा विद्यार्थीहरुमा धन्यवादज्ञापन गर्दै जात्रा भव्य रुपमा सम्पन्न गर्न सबैमा आनुरोध गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले भक्तपुर नपाले विगतमा झैं यस वर्षमा पनि सापारुको उपलक्ष्यमा परम्परागत र आधुनिक सांस्कृतिक विधाहरू तथा घिन्ताङघिसी प्रतियोगिता गर्न लागेको जानकारी गराउँदै गाईजात्रा प्रदक्षिणा मार्गमा अव्यवस्थित तार व्यवस्थापन भइरहेको अवगत गराउनुभयो । विभिन्न विद्यालयका विद्यार्थीहरूसहितको सहभागितामा भएको सरसफाइमा विद्यार्थीहरूले सन्देशमूलक नारा लेखिएका प्ले कार्डसहित नगर परिक्रमा गरेका थिए ।
