भलमन्साका लागि ५ लाखको अक्षय कोष स्थापना

भलमन्साका लागि ५ लाखको अक्षय कोष स्थापना

कञ्चनपुर । कृष्णपुर नगरपालिकाले थारु समुदायको अगुवाइ गर्ने वडघर र भलमन्साको नगरस्तरीय समितिका लागि ५ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेको छ ।

वडघर भलमन्सा समितिलाई संस्थागत रूपमा कार्य अगाडि बढाउनका लागि सहयोग पुर्‍याउन अक्षय कोष स्थापना गरिएको हो ।

कोषको रकमको व्याजबाट वडघर भलमन्साले आयोजना गर्ने सामाजिक कार्यसँगै बैठक, छलफल, सांस्कृतिक समारोह, कलासंस्कृति जगेर्ना गर्ने कार्यमा सघाउ पुर्‍याउने नगर प्रमुख कर्णबहादुर हमालले बताए ।

उनले भने, ‘सामाजिक र सांस्कृतिक समारोह आयोजना गर्न आवश्यक रकमको चाँजोपाँजो मिलाउनका लागि सहयोगी संस्था गुहार्नुपर्ने अवस्था हटेको छ । यसै आर्थिक समस्यालाई मध्यजनगर गरी कोष स्थापना गरेका हौं, यसबाट वडघर भलमन्सा लाभान्वित हुने विश्वास लिएका छौं ।’

थारु समुदायमा वडघरले गाउँको सामाजिक रीतितिथि मिलाउने कार्यसँगै सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने, वैवाहिक, धार्मिक कार्यमा सघाउ पुर्‍याउने गर्दछन् ।

अंशबण्डा, जग्गाको साँध सिमानाको विवाद मिलाउने कार्यमा पनि वडघरले नै गर्दछन् । थारु समुदायमा वडघर र भलमन्साको स्थानलाई महत्त्वपूर्ण मानिन्छ ।

नगरपालिका क्षेत्रमा रहेका ७२ वडघर भलमन्सा समितिका कार्यलाई अगाडि बढाउनका लागि १० लाख रुपैयाँका कुर्सीसमेत वितरण गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.