भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

भोजपुरको मानेभञ्याङमा ‘तरकारी सिकाई केन्द्र’ स्थापना

भोजपुरको मानेभञ्याङमा ‘तरकारी सिकाई केन्द्र’ स्थापना

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका– ५ मानेभञ्याङमा तरकारी सिकाई केन्द्र स्थापना गरिएको छ । किसानलाई तरकारीलगायत विभिन्न कृषि उपजको आधुनिक खेती प्रणालीको विषयमा अभ्यासमूलक ज्ञान प्रदान गर्न यहाँ सिकाई केन्द्र स्थापना गरिएको हो ।गाउँपालिका र वडाको सक्रियतामा स्थापना गरिएको सिकाई केन्द्रमार्फत किसानलाई नविनतम् खेती प्रणालीको विषयमा जानकारी दिने कार्य भइरहेको वडाध्यक्ष जगत चौहानले बताए । सिकाई केन्द्रमा गोलभेडा, अकबरे खुुर्सानी, काउली बन्दा, धनियाँ, मेथी, बैगुनलगायत नगदेबालीको व्यावसायिक र आधुनिक खेती प्रणालीको बारेमा किसानलाई अभ्यासमूलक सीप प्रदान गर्ने काम गरिएको वडाध्यक्ष चौहानको भनाइ छ ।

“हामीले कृषि सिकाई केन्द्र स्थापना गरेर किसानलाई आवश्यक ज्ञान सीप प्रदान गरिरहेका छौँ”, वडाध्यक्ष चौहानले भने, “किसानमा खेती प्रणालीसम्बन्धी ज्ञान नहुँदा धेरै समस्या छ । कृषि प्राविधिकको प्रत्यक्ष निगरानीमा यहाँका काम हुने भएको किसानलाई नविनतम् खेती प्रणालीको विषयमा ज्ञान लिन सहज छ ।” यहाँ करिब साढे पाँच रोपनी क्षेत्रमा सिकाई केन्द्र स्थापना गरी विभिन्न जातका तरकारीको नमूनाखेती गरिएको छ ।तरकारीखेती गर्न इच्छुक किसानले यहाँ आएर ज्ञान, सीप लिँदै आएका छन् । सिकाई केन्द्र स्थापनाले व्यावसायिक र आधुनिक खेती गर्न धेरै ज्ञान प्राप्त गर्ने अवसर मिलेकोको स्थानीय किसान दलबहादुर खत्रीले बताए ।“यहाँका करिब साढे पाँच रोपनी क्षेत्रमा नमूना तरकारीखेती भइरहेको छ” किसान खत्रीले भने, “हामीले तरकारी बालीमा लाग्ने रोग, कीरासँगै आधुनिकखेती प्रणालीको बारेमा जानकारी नहुँदा समस्या थियो । अहिले सिकाई केन्द्रमा आएर आवश्यक जानकारी लिन पाएका छौँ ।”

मानेभञ्याङमा किसानलाई आधुनिक कृषि प्रणालीको विषयमा अभ्यासमूलक ज्ञान प्रदान गर्नको लागि २ लाखको लागतमा तरकारी सिकाई केन्द्र स्थापना गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख धीरज ठाकुरले बताए । सिकाई केन्द्रबाट आधुनिक खेती प्रणालीसँगै जैविक मल, विषाधिको प्रयोग तथा बनाउनेको लागिसमेत ज्ञान दिइएको उनको भनाइ छ ।“व्यावसायिक तरकारी खेतीबाट पनि किसानले राम्रो आम्दानी लिन सक्छन्”, शाखा प्रमुख ठाकुरले भने, “कतिपय किसानमा खेती प्रणालीको विषयमा सामान्य जानकारी नहुँदा समस्या छ । किसानलाई स्थलगत रुपमा नै प्राविधिक ज्ञान दिन सिकाइ केन्द्र स्थापना गरेका हौँ । यहाँबाट उनीहरूलाई खेती प्रणालीमा आवश्यक पर्ने ज्ञान, सीप प्रदान गर्दै आएका छौँ ।”

गाउँपालिकाले १० लाख बजेट विनियोजन गरेर यो वर्ष पाँच वटा वडामा तरकारी सिकाई केन्द्र स्थापना गरेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए । एक वडा एक सिकाई स्थापना गर्ने लक्ष्यले कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ छ । “कृषि क्षेत्रको विकासका लागि एक वडा एक सिकाई केन्द्र स्थापनाको कार्यक्रम सञ्चालन गरिरहेका छौँ”, अध्यक्ष राईले भने, “किसानलाई व्यावसायिक र आधुनिक खेती प्रणालीमा जोडन् यो कार्यक्रम सञ्चालन गरेका हौँ ।” रासस

 


Thali Mobile Pvt.Ltd.